प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन र नियन्त्रण गर्ने समाजिक सञ्जाल विधेयक अस्वीकार्य: पत्रकार महासंघ
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/03/patrakar-mahasang.jpg)
काठमाडौं । नेपाल पत्रकार महासंघले संघीय संसदमा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा आपत्ति जनाएको छ । महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अगुवा नागरिक संस्था, महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।’
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान सच्याएरमात्रै विधेयक अघि बढाउन सरकार र संघीय संसदलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान सच्याएरमात्र विधेयक अगाडि बढाउन महासंघ नेपाल सरकार र संघीय संसदसँग आग्रह गर्दछ ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानून स्वीकार्य नहुनेतर्फ पनि महासंघले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।