यादव खरेलको ‘नोस्टाल्जिया’ : कसरी जन्मिए यी कालजयी गीत ? – Nepal Press

यादव खरेलको ‘नोस्टाल्जिया’ : कसरी जन्मिए यी कालजयी गीत ?

रोयल्टीको आन्दोलन नयाँ पुस्ताले हाँक्नुपर्‍यो, राज्य संवेदनशील छैन : गीतकार यादव खरेल

काठमाडौं । सायद तपाईंले यो गीत सुन्नुभएको होला- ‘यस्तै रहेछ यहाँको चलन’

त्यस्तै यी गीतहरु त झन् सुन्नुभएकै होला- ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले’, ‘गैह्री खेतको शिरै हान्यो वर्षायामको दरौंदीले’

तपाईंले लोकगीत ‘बदाम सोलीमा’ र ‘रिडी, काली भेट हुने दोभानैमा’ पनि सुन्नुभएकै होला । ‘भैलेनी आए आँगन’मा त पक्कै नाच्नुभएकै होला । ननाचे पनि नाच्नेहरुलाई हेर्दै ताली त पड्काउनुभएकै होला । थोरै फिल्मी हुनुहुन्छ भने ‘तिमी आउँछौ भन्ने आशैआशमा’‘तिम्रो आँखाको सागरमा’ बोलका गीत पनि सुन्नुभएकै हुनसक्छ ।

तपाईंको नोस्टालजिया बनेर बसेका यी गीतका सर्जक हुन् यादव खरेल । तपाईंको बाल्यकाल र युवाकालको कुनै न कुनै पलमा यी गीत बजेका हुन सक्छन् वा तपाईं फिल्मको पारखी हुनुहुन्छ भने खरेलका ‘आदिकवि भानुभक्त’, ‘प्रेमपिण्ड’, ‘लोभीपापी’, ‘चेलीबेटी’ जस्ता फिल्म त पक्कै हेर्नुभएकै होला ।

३५० बढी गीत, आधा दर्जन फिल्म

अहिले त खरेल ८२ वर्षका भए । अचेल उनको देब्रे पाटोमा अलि समस्या देखिएको छ । फिजियोथेरापी गरिरहेका छन् । गर्धनको आफ्नै हड्डीले नशा च्यापेपछि हल्का समस्या आएको छ ।

‘यस्तो बिरामी पनि हुन्छ भनेर मलाई नै थाहा थिएन’, यादव सुनाउँछन् । यादवको आँखामा समस्या छैन । मेमोरीमा समस्या छैन । भेटघाट भइरहेका मान्छेलाई सजिलै चिन्छन् । उमेरका कारण धेरै पुराना कुरा चाहिँ अलि याद हुँदैन खरेललाई ।

उनका धेरै साथी बितिसके । मृत्युको खबर सुनेर खरेल नोस्टालजिक हुन्छन् । ६०-६५ वर्षअघिका ती सुनौला दिनहरु सम्झिन्छन् । ‘क्या दिन थिए’, खरेल विगततिर बरालिन्छन्, ‘सृजनात्मक मान्छेहरुको नै बढीजसो संगत थियो । बालकृष्ण सम जस्ता सर्जकहरुसँग संगत हुन्थ्यो ।’

खरेल बीबीसी नेपाली सेवाको पहिलो कर्मचारी हुन् । चलचित्र विकास बोर्डको पहिलो अध्यक्ष पनि । फिल्ममा डिप्लोमा गर्ने पहिलो नेपाली खरेलले आधा दर्जन बढी फिल्म बनाए । ३५० भन्दा बढी गीत लेखे । लघुकथा लेखे ।

अहिले कुमारीगालस्थित घरमा श्रीमती र छोरासँग बसिरहेका छन् ।

६२-६३ वर्षअघिको त्यो गीत…

माया फिर्ता लाँदैछु, आउँदिनँ म जाँदैछु

यो गीत हो, २०१८/१९ सालतिरको । यो प्रसंग हो, आजभन्दा ६२-६३ वर्षअघिको । त्यसवेला खरेल १९-२० वर्षका लक्का जवान थिए । विवाह गरेका थिएनन् ।

यो गीतमा पुराना स्रष्टा डिबी महेश ‘पाल्पाली’को स्वर छ । सँगै खरेलको अर्को गीत पनि पाल्पालीले गाएका छन्-

जल्यो जल्यो तन जल्यो
निर्मोहीको सम्झनामा आज मेरो मन जल्यो

यो गीत खरेलको पहिलो रेकर्डेड गीत हो । गीत पनि डिस्कमा रेकर्ड भएको थियो । ग्रामोफोन जस्तो डिस्क फनन घुमेपछि बज्थ्यो । गीत रेकर्डका लागि कोलकाता पुग्नुपर्थ्याे ।

त्यसवेला यस्तो वियोगान्त गीत लेख्नुको कारण खुलाउँछन् खरेल, ‘कतिपय कुरा अरुको देखेर, कतिपय कुरा पढेर, कतिपय कुरा कल्पना गरेर, कतिपय कुरा आफैं अनुभूत गरेर लेखिन्छ । यी गीत पनि मेरो अनुभूतिको सृजनात्मक अभिव्यक्ति थियो ।’

यसपछि खरेलको गीत लेखनले रफ्तार लियो । यति धेरै गीत लेखे कि कतिपय गीतको त उनी स्वयंले हिसाब नै राख्न सकेनन् । केही वर्ष पहिला दिवंगत गायक पन्नाकाजीको छोराले एक गीत ल्याएर भने, ‘मेरो बुवाले गाउनुभएको तपाईंको गीत ।’

सम्झनामा फत्तेमान र तारादेवी

यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले

फत्तेमान राजभण्डारीको स्वर, नातिकाजीको संगीत रहेको यो गीत खरेलले २०२५/२६ सालतिर लेखेका थिए । गीत पनि त्यतिवेलै रेकर्ड भएको थियो ।

त्यसवेला गीत रेकर्ड गर्नलाई रेडियो नेपालमा भ्वाइस टेस्ट पास गर्नुपर्थ्यो । त्यसवेलाको रेडियो नेपालको भवन अहिले त भत्किसक्यो । खरेल रेडियो नेपालमै काम गर्थे । बाल कार्यक्रम चलाउँथे । दिवंगत सर्जक श्यामदास वैष्णवसँगको सम्झना अहिले पनि ताजै छ । रेडियो नेपालमै थिए हरिप्रसाद रिमाल, जनार्दन समलगायत । खरेल सृजनशील मान्छेहरुको वरिपरि थिए ।

रेडियो नेपालमा गीत रेकर्ड गराउनलाई पालो कुर्नुपर्थ्यो । अनि गीत चाहिँ कोलकातामा गएर रेकर्ड गर्नुपर्थ्यो । खर्च रेडियो नेपालले नै व्यहोर्थ्यो ।

त्यसवेला खरेल धोबीधारा बस्थे । हिँड्दै रेडियो नेपाल जान्थे । अहिले जस्तो मानिसको भिड पनि थिएन । खरेलका अनुसार बाटाहरु प्रायः खाली हुन्थे ।

‘हिँड्दै अफिस जाँदा गीतको एक लाइन फुर्‍यो । अनि त्यसलाई बढाउँदै लगेँ । गीत तयार भयो’, खरेल कालजयी गीतको रचनागर्भ सम्झिन्छन्, ‘गीत बनेपछि रेडियो नेपालमा गएर नाीिकाजी दाइलाई देखाएँ । उहाँले कम्पोज गर्नुभयो । अनि पछि फत्तेमानले गाउने रहर गर्नुभयो ।’

फत्तेमान खरेलभन्दा दुई-तीन वर्षले मात्रै जेठा थिए । त्यसवेला तारादेवी, कोइलीदेवीलगायत कलाकारहरु चर्चामा थिए । गीत गाउनेहरु नै सीमित हुन्थे । महिलाहरु त झनै एकदमै कम संख्यामा हुन्थे । तिनै केही महिलामा आउँथे तारादेवी, कोइलीदेवी ।

तारादेवीले खरेलले लेखेको चर्चित गीत गाएकी थिइन्-

नौसय खोला तरेर जाने, बिर्सने भयौ कि मलाई
नफर्केसम्म पर्खेर बस्छु, सम्झनाको दियो जलाई

अनि देविका बन्दनाले गाइन्-

यस्तै रहेछ यहाँको चलन
हार्नेको आँसु जित्नेको हाँसो
मेरो छैन केही हजुरलाई गुनासो

गायिका देविका बन्दनाको हिट गीतमध्ये एक हो यो । शम्भुजित बाँसकोटाले कम्पोज गरेको यो गीत खरेलले ३२ वर्षअघि लेखेका हुन् । त्यसवेला देविका बन्दना युवा गायिका थिइन् । यो गीत तयार भएपछि शम्भुजितले खरेललाई भने, ‘यो गीत देविकालाई गाउन दिन पाए हुन्थ्यो ।’

खरेलले भने, ‘आवाज ठीक छ भने, गीतलाई पक्रन सक्छ भने देऊ न ।’

देविकाको स्वरमा गीत रेकर्ड भएपछि खरेललाई लाग्यो, ‘स्वर त ठीक रै’छ ।’ देविकाले गीतमा पनि फिल दिएर गाएकी थिइन् । आशा भोस्ले, सुनिता पौडवाल, अल्का याग्निकहरुसँग सहकार्य गरिसकेका खरेललाई देविकाको स्वर पनि कम लागेन ।

दिवंगत गायक योगेश वैद्यले एकदमै फिलमा गाउँथे । गाउन थालेपछि आँखा चिम्म गरेर, गीतमा डुबेर गाउँथे । फत्तेमानले पनि त्यसरी नै गाउँथे । खरेललाई यी गायकले गाउने तरिका गजब लाग्थ्यो । उनलाई देविकाको गायन पनि उस्तै गजब लाग्यो ।

०००

लताले नभ्याएपछि आशा भोस्लेले गाइन्, ‘गैह्री खेतको शिरै हान्यो’

३२-३३ वर्षअघिको कुरा हो । खरेल एक जना चिनेको दाइको घरमा पाहुना बनेर बसे, दरौंदी खोला किनारमा । खोला उर्लिएर आइरहेको थियो । किनारलाई खोलाले ताछिरहेको थियो । खरेललाई झल्याँस्स क्लिक भयो, ‘हत्तेरिका, मान्छेको मन पनि खोलाले काटे जसरी नै काटिन्छ नि !’

अनि लेखे-

गैरी खेतको शिरै हान्यो वर्षायामको दरौंदीले
नौनी जस्तो मेरो मन चिरा पार्‍यो उसको रुपको करौंतीले

‘सृजना कहाँबाट स्फुरन हुन्छ, थाहै हुन्न । कहाँबाट आउँछ, थाहै हुन्न’, खरेल सुनाउँछन्, ‘अनि मैले यो गीत प्रेमपिण्ड फिल्ममा राखेँ । किनभने फिल्ममा वियोग पनि छ नि त !’

त्यसवेला नेपालमा वाद्यवादकहरु कम संख्यामा थिए । फिल्मको गीत भनेपछि वाद्यवादकहरु धेरै नै चाहिन्थ्यो । अनि शम्भुजितलाई साथ लिएर गीत रेकर्ड गराउन बम्बै गए खरेल ।

खरेल र शम्भुजित लता मंगेशकरको स्वरमा गीत रेकर्ड गराउन चाहन्थे, तर लताको समय मिलेन । अनि दोस्रो छनोटमा परिन् आशा भोस्ले ।

‘हामीले फोन गरेर अनुरोध गर्‍यौं, उहाँले मान्नुभयो’, खरेल सम्झिन्छन्, ‘उहाँले तीन वा चार हजार भारुमात्रै लिनुभयो । हामीले त्यति पैसा दिँदा उहाँले बार्गेनिङ पनि गर्नुभएन । उहाँले नेपाली फिल्म भनेर कम पैसा लिनुभएको थियो ।’

त्यही वर्ष आशा र उदितनारायणको स्वरमा अर्को गीत रेकर्ड भयो खरेलको-

तिमी आउँछौ भन्ने आशैआशमा बाटोभरि आँखा बिछ्याइरहन्छु
तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु

०००

‘रिडी, काली भेट हुने दोभानैमा’ र ‘बदाम सोलीमा’

खरेलले लोक भाकामा पनि गीत लेखे । खरेलको दाबी छ, ‘लोकगीतमा कसैको कपीराइट हुँदैन । लोकगीत त समाजको गीत हो । मैले लोक संस्कृतिलाई लिएर पनि गीत लेख्नुपर्छ भनेर लेखेको हो ।’

लोकगीतमै खरेल अभ्यस्त हुनुको कारण उनको हुर्काइ पनि हो । उनको घर काभ्रेको पाँचखाल हो । त्यहाँ अहिले पनि वेलावेलामा खरेल गएर बस्छन् । खरेलका बुवाको खेती सप्तरीमा पनि थियो । त्यहाँ पनि उनी जान्थे । मधेशलाई नजिकबाट बुझे । काठमाडौंमा हुर्किए, काठमाडौं पनि बुझे ।

खरेल सुनाउँछन्, ‘यही कारण नै मैले लोक भाकामाथि काम गर्न सकेँ ।’

खरेलको अर्को गीत छ-

कसो कसो आँखा जुध्यो मनै घुम्यो फनन
मेरो माया कति लाग्छ नढाँटेर भन न

बदाम सोलीमा
आएको ए हजुर रमझम टोलीमा

खै त रोयल्टी ?

खरेलका लागि गीत लेख्नु भनेको आकाशमा बिजुली चम्कनु जस्तै हो । केही चिजले छोएपछि त्यही चिजलाई पक्रिएर गीत तयार गर्छन् । गीत लेखनबारे खरेलको सीधा तर्क छ, ‘राम्रो गीत लेख्न जीवन, जगत र प्रकृतिलाई अनुभव गर्न सक्नुपर्‍यो । कल्पना शक्ति हुनुपर्‍यो । अरुको नक्कल गर्नुभएन । अनि अभिव्यक्ति चाहिँ सृजनात्मक हुनुपर्‍यो ।’

खरेललाई गीत लेख्ने टेक्निक थाहा छ, तर उक्त गीतको रोयल्टी कसरी लिने, थाहा छैन । लामो समयदेखि स्रष्टाले रोयल्टी पाउनुपर्छ भनेर सङ्घर्ष गरिरहेका छन् । रोयल्टीकै लडाइँ लड्दालड्दै गायक प्रेमध्वज प्रधान बिते ।

‘यो उमेरमा हामीले त कति गर्नु र ! उमेर पनि धेरै भइसक्यो । हामीले रोयल्टीका लागि सङ्घर्ष गर्न स्रष्टाहरुलाई संगठित गर्‍यौं, सारा चिज गर्‍यौं । अहिलेको नयाँ पुस्ताले त्यसलाई हाँक्नुपर्‍यो । त्यो आन्दोलनमा मेरो साथ र समर्थन छ’, खरेल भन्छन्, ‘कतिपय स्रष्टा यही गीत-संगीतमा निर्भर छन्, उनीहरुको दाल-चामलको सवाल छ । रेडियो नेपालका गीतहरु कुनै निजी कम्पनीले लगेर बिक्री गरिरहेको छ । राज्य संवेदनशील छैन । यस्तो कुरामा त राज्यले समन्वय गरिदिनुपर्‍यो नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर