अखिल क्रान्तिकारीमा जनार्दन शर्मा गुट बलियो
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/akhil.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको निर्वाचनमा पदाधिकारीमा अध्यक्ष बाहेक बहुमत पदाधिकारी उपमहासचिव जनार्दन शर्मा निकटका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्ष बाहेक ५ जना उपाध्यक्ष र महासचिव सहित २२ जना पदाधिकारी शर्मा निकटको प्यानलका उम्मेदवार निर्वाचित भएका हुन् । यद्यपि बहुमत पदाधिकारी निर्वाचित भए पनि शर्मा निकटका अध्यक्षका उम्मेदवार हेमन्त राई भने ७२ मतान्तरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक समर्थन रहेका विजयप्रकाश सापकोटासँग पराजित भएका छन् ।
अध्यक्षमा निर्वाचित सापकोटा उमेर हद लगाउने कि नलगाउने भन्नेमा भएको निर्वाचनमा उमेर हद लगाउन नहुने पक्षमा खुलेरै लागेका थिए । त्यसैले यस अघि पञ्चा सिंह नेतृत्वका १८ जना उपाध्यक्षमध्ये अधिकांशको खुलेरै साथ समर्थन रहेको थियो भने कतिपय उपाध्यक्षले खुलेर साथ समर्थन नजनाए पनि आन्तरिक रूपमा सापकोटालाई जिताउन सघाएका थिए ।
सापकोटा पछिल्लो समय पार्टीको गुटगत राजनीतिमा खासै सक्रिय थिएनन् । यद्यपि तत्कालीन अध्यक्ष पञ्चा सिंह भन्दा भन्दा अघि निर्वाचन प्रक्रियाबाट निर्वाचित अध्यक्ष रञ्जित तामाङ नेतृत्वको प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तामाङ पार्टी उपमहासचिव वर्षमान पुन निकट मानिए पनि यस पटकको निर्वाचनमा भने पुनको उम्मेदवारको रूपमा सुदिन पौडेल अध्यक्षको उम्मेदवार थिए । पौडेललाई लामो समयदेखि पुनले बोक्दै आएकाले सापकोटा पछिल्लो समय पुन नजिक गनिँदैन थिए । अध्यक्षमा निर्वाचित सापकोटा केन्द्रीय सदस्य हुनु अघि उनी अखिल (क्रान्तिकारी) पर्वतको अध्यक्ष थिए । सापकोटा पर्वतको अध्यक्ष हुँदा पौडेल म्याग्दीको अध्यक्ष थिए । यद्यपि जिल्ला अध्यक्षमा सापकोटा सिनियर अध्यक्षमा गनिन्थे भने गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा पौडेल जुनियर अध्यक्षमा मानिन्थे ।
९ जना उपाध्यक्षमा शर्मा निकटका ४ जना निर्वाचित
खुला तथा समावेशी सहित उपाध्यक्षमा ९ जना निर्वाचित भएकोमा जनार्दन निकट ४ जना निर्वाचित भएका छन् । जसमा छात्रातर्फ ममता अधिकारी, आदिवासी जनजातितर्फ सन्दीप पुन, मधेशीतर्फ अभिमन्यु यादव र खस आर्यतर्फ उमेश कँडेल निर्वाचित भएका छन् । यस्तै खुलातर्फ निर्वाचित मदन ढकाल पार्टी महासचिव देव गुरुङ निकट मानिन्छन् । खुलातर्फ निर्वाचित अटल आचार्य पनि पार्टी महासचिव गुरुङ निकट नै मानिन्छन् । तर उनी सहिद परिवारका सन्तति पनि हुन् । खुलातर्फ निर्वाचित बिराज थापा भने पार्टी सचिव राम कार्की नजिक मानिन्छन् । यदि केहि समय उनी नारायणकाजी श्रेष्ठ नजिक रहेका तत्कालीन उपाध्यक्ष पवन कार्कीको टिमसँग नजिक थिए ।
यस्तै दलिततर्फ निर्वाचित कृष्णबहादुर सुनारलाई हेडक्वार्टरको साथ रहेको थियो । उनी पार्टी अध्यक्ष प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालका नजिक मानिन्छन् । खुलातर्फ दिपा जैसी भने कुनै नेताको गुटमा नपरेर स्वतन्त्र उम्मेदवारी दिएर पनि निर्वाचित भएकी छन् । खुलातर्फ महिलाले उम्मेदवारी दिन नै आट नगर्ने गरेको अवस्थामा पनि पराजित हुने गरेकोमा जैशीले भने खुलामै उम्मेदवारी दिएर निर्वाचित भएर आफूलाई अब्बल देखाएकी छन् ।
महासचिव र ७ जना उपमहासचिव जनार्दन निकट निर्वाचित
संगठनमा अध्यक्षपछिको अर्को कार्यकारी पद महासचिव पनि जनार्दन निकट रोशन थापामगर सर्वाधिक मतसहित विजयी भएका छन् । यस्तै ९ जना उपमहासचिवमा २ जना बाहेक ७ जना जनार्दन निकटका उम्मेदवार निर्वाचित भएका छन् । जनार्दन निकट मानिएका मधेश प्रदेशबाट गजेन्द्र यादव, बागमती प्रदेशबाट निर्मला गौतम, गण्डकी प्रदेशबाट भगवान बास्तोला, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी, सुदूरपश्चिम प्रदेशबाट रामचन्द्र भट्ट र विश्वविद्यालय प्रदेशबाट जटिल कार्की निर्वाचित भएका छन् । कार्की सहित परिवारका सन्तति पनि हुन् । त्यो बाहेक उपत्यका विशेष प्रदेशबाट भने निरोज श्रेष्ठ निर्वाचित भएका छन् । उनी पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट रहेको उपदेश यादव नेतृत्वको प्यानलका उम्मेदवार हुन् । कोशी प्रदेशबाट निर्वाचित विपिन पोखरेल भने हेडक्वार्टर नजिक मानिन्छन् ।
१२ सचिवमा ९ सचिव र कोषाध्यक्ष पनि जनार्दन निकट निर्वाचित
खुलातर्फ र विभिन्न समावेशी समूहतर्फ गरेर १२ जना सचिव निर्वाचित हुँदा जनार्दन निकट प्यानलबाट ८ जना निर्वाचित भएका छन् । जनार्दन निकट मानिएका खुलातर्फ वीरेन्द्र जिसी, प्रेम जैशी, सम्झना राई निर्वाचित भएका छन् भने छात्रातर्फ तिर्सना आलेमगर, सम्कृति पुन, मधेशीतर्फ अमर मण्डल, खस आर्यतर्फ जितेन्द्र भण्डारी र सहिद परिवारतर्फ युन्छो हाङ्ग मावो निर्वाचित भएका छन् । बाँकी ४ सचिव मध्ये निर्वाचित शिशिर बस्याल हेडक्वार्टप्रति नै बढी जिम्मेवार भएका कारण कुनै प्यानलमा गनिँदैनन् ।
दलिततर्फ निर्वाचित आशा उपरकोटी पनि हेडक्वार्टर निकट नै मानिन्छन् । यद्यपि तत्कालीन उपाध्यक्ष पवन कार्कीले समानान्तर गतिविधि सञ्चालन गर्दा उनी कार्कीको समानान्तर टिममा रहेर काम गरेकी थिइन् । आदिवासी जनजातितर्फ निर्वाचित आर्टिष्ट मोक्तान कुनै नेता निकट गनिँदैनन् । मुस्लिमतर्फ निर्विरोध निर्वाचित मिरोज अहम्मद पनि जनार्दन निकट नै मानिन्छन् । यस्तै कोषाध्यक्षमा पनि जनार्दन निकट रहेकी फुलमाया रानामगर (खुशी) निर्वाचित भएकी छन् ।
केन्द्रीय पदाधिकारी सरहकै हैसियत मानिने अनुशासन आयोगको अध्यक्षमा इन्दिरा पुरी र लेखा आयोगको अध्यक्षमा सुष्मा रेग्मी निर्वाचित भएका छन् । पुरी जनार्दन निकट मानिन्छन् भने रेग्मी हेडक्वार्टर निकट मान्छिन् । यद्यपि रेग्मी यस अघि भने तत्कालीन उपाध्यक्ष पवन कार्कीको समानान्तर टिमसँग थिइन् ।
सर्वाधिक मत उपाध्यक्ष अधिकारी, उपमहासचिव पोखरेल र सचिव उपरकोटीलाई
केन्द्रीय समितिको पदाधिकारीका लागि भएको निर्वाचनमा सर्वाधिक मत भने आयोग बाहेकका पदाधिकारीमा छात्रातर्फका उपाध्यक्ष ममता अधिकारीले प्राप्त गरेकी छन् । उनले पदाधिकारीमा सबैभन्दा बढी ८८२ मत प्राप्त गरेकी छन् । अधिकारी तत्कालीन अध्यक्ष पञ्चा सिंह अध्यक्ष हुँदा केन्द्रीय सदस्यमा छिरेकी हुन् । त्यस अघि उनी कालिकोट जिल्ला सहसचिवको जिम्मेवारीमा थिइन् । अधिकारी यस अघि सम्पन्न स्ववीयु निर्वाचनमा मध्यपश्चिम विश्वविद्यालयमा अखिल ९क्रान्तिकारी०को तर्फबाट स्ववीयु सभापतिको उम्मेदवार थिइन् । यद्यपि त्यहाँ निर्वाचन हुन सकेन ।
यस्तै दोस्रोमा सर्वाधिक मत उपमहासचिवमा विपिन पोखरेलले ८३६ मत प्राप्त गरेका छन् भने तेस्रो सर्वाधिक मत सचिव आशा उपरकोटीले ७७६ मत प्राप्त गरेकी छन् । उनी नेपाल ल क्याम्पसको स्ववीयु सदस्य समेत रहेकी छन् । सचिव उपरकोटी यस अघिको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन् ।
प्रचण्डले अब पुन र बस्नेतलाई जनार्दन विरूद्व प्रयोग गर्छ । दुई पक्षलाई जुधाएर आफू ४० वर्षदेखि अध्यक्ष बनेको छ । तर अब जनार्दनले धम्का दिएर बूढो ढाल्नुपर्छ ।