कीर्तिमानी रियल म्याड्रिडलाई नकआउट चरणमा पुग्न प्ले-अफको सहारा – Nepal Press

कीर्तिमानी रियल म्याड्रिडलाई नकआउट चरणमा पुग्न प्ले-अफको सहारा

काठमाडौं । च्यम्पियन्स लिग फुटबलको कीर्तिमानी विजेता तथा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले जारी सिजन नयाँ ढाँचाको च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्दै नकआउट चरणमा पुग्न प्ले–अफको सहारा लिनुपर्ने भएको छ ।

नयाँ ढाँचा अनुसार अन्तिम १६ मा सोझै पुग्नको लागि ३६ टिम रहेको लिगको तालिकामा कम्तीमा ८ औँ स्थानमा रहनुपर्ने थियो तर डिफेन्डिङ च्याम्पियन ११ औँ स्थानमा रहँदै लिगको पहिलो चरण समापन गरेपछि अब दोस्रो चरणको लागि प्ले–अफको सहारा लिनुपर्ने भएको छ । लिगमा ९ देखि २४ नम्बरसम्मको टिमले प्ले अफ खेल्नेछन् र विजयी टिम अन्तिम १६ मा पुग्नेछ ।

यो सिजन स्पेनिस लालिगाको लिग लिडर रहे पनि स्पेनिस क्लब म्याड्रिडले च्याम्पियन्स लिगमा भने निराशाजनक प्रदर्शनलाई जारी राखेको थियो । लिग चरणको ८ खेलमा उसले ५ जित र ३ हारको सामना गरेपछि सोझै नकआउट चरणमा पुग्ने सम्भावनालाई समाप्त पारेको थियो ।

१५ पटक च्याम्पियन भएको रियलले अब आफ्नो खेललाई ला–लिगामा जस्तै लयमा नल्याउने हो भने प्लेअफबाटै बाहिरिने सम्भावना रहेको अन्तर्राष्ट्रिय खेल पत्रकारहरूले विश्लेषण गरेका छन् । यो पटक स्पेनिस ला लिगाबाट बार्सिलोना र एट्लेटिको म्याड्रिडले मात्र अन्तिम सोझै अन्तिम १६ मा प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *