रुपन्देहीका पत्रकारलाई महासंघले नै सुत्केरी भत्ता दिने
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/rupandehi-journalist.jpg)
रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार महिलाहरुलाई १० हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।महासंघको लुम्बिनीमा बुधबार सम्पन्न २ दिने कार्ययोजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रुपैयाँ आर्थिक रकम भत्ता स्वरुप उपलब्ध गराउने घोषणा गरेको हो।
महासंघले उपलब्ध गराउने उक्त रकमध्ये ५ हजार रुपैया आमा तथा शिशुको पोषण र स्वास्थ्यमा खर्च गर्न पाइने छ भने ५ हजार रुपैया नवजात शिशुको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए।
नवजात शिशुका नाममा जम्मा गरिने रकम पुरुष पत्रकारका जन्मेका शिशुका नाममा समेत खाता खोली उपलब्ध गराइने उनले बताए।
माघ १५ र १६ गते दुई दिनसम्म आयोजित कार्ययोजना निर्माण बैठकले पत्रकारहरुको क्षमता बिकास, आर्थिक सशक्तिकरण तथा सञ्चारगृहहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेको छ। महासंघले अँग्रेजी वर्ष २०२५ लाई आधार मनेर १ तत्कालिन र दिर्घकालिन योजनाहरु अघि सारेको छ।
महासंघको कल्याणकारी कोषवृद्धि गरेर ४० लाख रुपैयाँ बढी पुर्याउने, लेखनवृत्ति सञ्चालनका लागि ३० लाख बढीको कोष स्थापना गर्ने, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यगरी क्षमता बिकासका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने, सामाजिक संघसंस्थाहरुसँग सम्बन्ध बिस्तारका लागि खेलकूद तथा अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित बनाउने लगायतका एजेण्डाहरु पारित गरिएको सचिव सीपी खनालले जानकारी दिए।
महासंघले ३ वर्षको अवधिमा कम्तिमा ३० लाख रुपैयाँको लेखनवृत्ति कोष स्थापना गरी पत्रकारको क्षमता बिकासमा लाग्ने योजना प्रस्तुत गरिएको कोषाध्यक्ष नरेश केसीले बताए।
यसैगरी पछिल्लो समय सामाजिक सञ्चालमा देखिएका विकृति, सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचरण तथा कानूनी प्रावधानहरुको बारेमा समेत गम्भिर रुपमा छलफल गरिएको छ ।
बैठकले पछिल्लो समय विभिन्न व्यक्तिहरुले सवारीका साधनहरुमा ‘प्रेस’ लेखेर हिड्ने, यसको दुरुपयोग गर्ने लगायतका गतिवधि बढेको बताउँदै उनले यस्ता गतिविधि रोक्न महासंघ कुनै पनि सदस्यले सवारीमा प्रेस नलेख्न र लेखिएको भए मेटाउनका लागि आह्वान गरिएको अध्यक्ष पाण्डेले बताए ।
सञ्चारकर्मीको नाममा असम्बन्धित व्यक्तिहरुले समेत गतिविधि गर्ने र त्यसका कारण बास्तविक सञ्चारकर्मीको मर्यादामा आँच आउने गरेको बताउँदै उनले यस्ता गतिविधि रोक्नाका लागि सबैको साझा पहल आवश्यक रहेको उल्लेख गरे ।
त्यसैगरी महासंघले पत्रकार महासंघमा रुपन्देहीमा सदस्यता कायम रहि अन्य जिल्लामा कार्यरत रहेका पत्रकार महासंघका सदस्यहरुलाई जुन जिल्लामा कार्यरत छ सोही जिल्लामा सदस्यता स्थानान्तरण गर्न आग्रह गर्ने, सञ्चारमाध्यममा काम गर्दा नियुक्ती पत्र लिएर मात्र काम गर्न आग्रह गर्ने लगायतका निर्णय गरेको छ।