लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्छ: भिसी बराल


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले लेखापरीक्षण क्षेत्रमा देखिएका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट स्वयम् सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज यहाँ आयोजना गरेको सातौँ दीक्षान्त समारोहमा उनले पेसागत धर्म पालना तथा लेखा व्यवसायका सम्बन्धमा सामाजिक मान्यता र विश्वास अभिवृद्धि गर्न चार्टर्ड एकाउन्टेन्ट लाग्नुपर्ने बताए ।
‘विकासका लागि सुशासन महत्वपूर्ण छ, दीक्षित विद्यार्थीले पेसाप्रति निष्ठावान् रही मुलुकको विकासमा सघाउन प्रतिबद्धता गर्नुपर्छ’, उपकुलपति बरालले भने, ‘सीमित स्रोतसाधनको सही उपयोग र परिचालन गर्न लेखा परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ ।’
संस्थाका अध्यक्ष प्रवीनकुमार झाले इमान्दार र आचारसंहिताको पूर्णपालना गरेर काम गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरे । सो अवसरमा उपकुलपति बरालले दीक्षित चार्टर्ड एकाउन्टेन्टलाई शपथ ग्रहण गराएका थिए ।