मुद्दा फिर्तापछि मात्रै ‘एक्टर’ चलाउने हल सञ्चालकको अड्डी, भोलिको शो के हुन्छ ?
क्युएफएक्सले हटायो बुकिङ खुलिसकेको बिहानी शो


काठमाडौं । अदालतको आदेशले रोकिएको चलचित्र ‘एक्टरः टेक वन’ भोलि बिहान रिलिज हुने विषयमा अन्योल देखिएको छ । हल सञ्चालकहरूले मुद्दा फिर्ताको प्रक्रिया पूरा भएपछि मात्रै फिल्म चलाउने अड्डी लिएका छन् ।
हिजो रिलिज हुनुपर्ने यो चलचित्र अदालतको आदेशले रोकिएको थियो। कपिराइटको मुद्दा परेपछि जिल्ला अदालत काठमाडौंले २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन आदेश दिएको छ ।
अदालतको पत्र सम्बन्धित निकायहरूमा नपुगिसकेको भए पनि हल सञ्चालकले मिडियामा आएका समाचारका आधारमा सो चलचित्रको प्रदर्शन रोकेका छन् ।
यसैबीच आज कपिराइट मुद्दा हाल्ने ‘एक्टर’ निर्माता र ’एक्टर टेक वान’ का निर्माताबीच सहमति जुटेको छ । ‘एक्टर’का निर्माताले कविराइट दाबी छाडेर अदालतमा हालेको मुद्दा फिर्ता लिन सहमति जनाएका छन् ।
आज सार्वजनिक बिदा भएकाले मुद्दा फिर्ताको प्रक्रिया भोलि अदालत खुलेपछि मात्रै हुने छ । प्रक्रियागत रुपले मुद्दा फिर्ता नलिएसम्म चलचित्र प्रदर्शन नगर्ने हल सञ्चालकले अडान लिएका हुन् ।
हल सञ्चालकहरूको साझा संगठन चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले आफूहरुले कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै चलचित्र प्रदर्शन गर्ने बताए ।
उनले नेपाल प्रेसलाई भने, ‘हामीले प्रक्रिया पूरा गरेर चलचित्र चलाउने हो । अदालतबाट मुद्दा फिर्ता लिएपछि मात्रै चलचित्र हलहरुमा लाग्नेछ ।’
‘एक्टर’ र ‘एक्टर टेक वन’का निर्माताबीच सहमति भएपछि आज प्रेसमिटको समेत आयोजना गरिएको थियो । प्रेसमिटमा भोलि बिहानैबाट चलचित्र रिलिज हुने बताइयो । तर कुनै पनि हलहरूले ‘एक्टर टेक वान’लाई बिहानको शो दिएका छैनन् । बिहानी शो खुलाएको क्युएफएक्सले पनि पछि हटाएको छ ।
क्युएफएक्स लाबिम मलले बिहान नौ बजेको शोको बुकिङ खुल्ला गरेकोमा बेलुकी हटायो ।
यसबारे महर्जनलाई बुझ्दा उनले भने, ‘यदि कुनै हलमा बिहानको शो छ भने हटाउन लगाउँछौं । सरकारी प्रक्रिया पूरा गरेर मुद्दा फिर्ता लिइसकेपछि मात्रै हलहरुमा शो उपलब्ध हुनेछ ।’
हलहरूमा दिउँसोको शोको बुकिङ भने खुल्ला रहेको छ ।
एक्टर टेक वानका निर्माता थमनकुमार भण्डारीले हलहरूले भोलि बिहानको शो रोक्न नमिल्ने बताए ।
उनले भने, ‘हामीबीच सहमति भइसकेपछि मुद्दाको औचित्य नै समाप्त भइसकेको छ । हलहरूलाई कुनै निकायबाट पत्र गएको पनि छैन । कुनै हालतमा शो रोक्न मिल्दैन ।’
‘एक्टर टेक वन’ले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरेको भन्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाई सम्राट थापाले रिलिज रोक्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । उक्त रिट उपर अदालतले अल्पकालीन आदेश दिँदै २२ गतेसम्मलाई प्रदर्शन रोक्नु भनेको थियो ।
‘एक्टरः टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीलगायत कलाकारको अभिनय छ । रायमाझीको यो डेक्यु चलचित्र हो ।