५८ करोडको लागतमा निर्माण हुँदै आदर्श बृहत् खानेपानी योजना – Nepal Press

५८ करोडको लागतमा निर्माण हुँदै आदर्श बृहत् खानेपानी योजना

डोटी । खानेपानीको चरम अभाव झेल्दै आएको आदर्श गाउँपालिकामा अव लिफ्टमार्फत खानेपानी आउने भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले आदर्श गाउँपालिकामा ५८ करोड आठ लाखको लगानीमा “आदर्श–साईलीगाड बृहत् लिफ्ट खानेपानी योजना” निर्माण गर्दै छ । गत असोज १६ पहिलो चरणको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना, धनगढीका सूचना अधिकारी भरत चन्दले जानकारी दिए । चन्दले दिएको सूचना अनुसार गत वर्ष माघदेखि चैत्रसम्म आयोजनाको डिपिआर भएको थियो ।

आयोजना निर्माणका लागि सुप्रिम–जयमाता जेभीले पहिलो चरणको ठेक्का पाएको छ । पहिलो चरणको ठेकका अन्तरगत इन्टेक, पानी प्रशोधन युनिट, ४ चरणको लिफ्टिङ युनिट १० वटा वितरण टङ्की निर्माण हुने सूचना अधिकारी चन्दले बताए । १८ करोड ८४ लाखमा सम्झौता भएको पहिलो चरणको ठेक्काको म्याद २०८३ साल असोज ३० गतेसम्म रहेको छ । पहिलो चरणको सम्झौताको कुल रकम १८ करोड ८४ लाख रहेको चन्दले जानकारी दिए ।

पहिलो चरणको ठेक्का सम्झौता अनुसारको काममा हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको चन्दले सूचना दिएका छन् । दोस्रो चरणको ठेक्काका लागि स्रोत सहमतिको चरणमा रहेको सूचना अधिकारी चन्दले बताए ।

साइँली गाडबाट मौवासम्म करिब ८ किलोमिटरको उचाइमा जिआइ पाइपको माध्यमबाट पानी ल्याइनेछ । बिजुलीको प्रयोग गरी पानी तान्ने योजना रहेको छ । प्रति सेकेन्ड १९.५९ लिटर पानी तान्ने कार्य हुने गरी योजनाको इष्टिमेट गरिएको छ ।

आयोजनाले आदर्श गाउँपालिका–१, २, ३, ४, ५ र ७ वडाका तीन हजार एक सय सात घरधुरीलाई खानेपानीको आपूर्ति गर्नेछ । २०८३ असोज ३० गतेभित्रै खानेपानी आपूर्ति गर्ने लक्ष राखिएको सूचना अधिकारी चन्द बताउँछन् ।

खानेपानी आयोजना समयमै सम्पन्न हुने गरी काम भइरहेको बताउँछन् आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्का । उनले भने ‘हालसम्म भएको प्रगति अनुसार आयोजना समयमै सम्पन्न हुने देखिएको छ, यसलाई छिटो र गुणस्तरीय बनाउनका लागि हामी लागि परेका छौँ ।’ उनले आफूले निर्वाचनकै समयमा खानेपानीको समस्या समाधान गर्ने लक्ष लिएको र सोही अनुसार निर्वाचित भए देखिनै उक्त प्रक्रियामा लागेको समेत बताए । उनले गाउँपालिकाभित्र स्वच्छ खानेपानीको आपूर्ति गर्नु पालिकाको लक्ष रहेको समेत बताए ।

वर्षौंदेखि चुनावी एजेन्डा बनेको थियो पश्चिम चौकीको खानेपानी आयोजना

वर्षौंदेखि चुनावी एजेन्डा मात्रै बन्दै आएको यस क्षेत्रको खानेपानीको समस्या अव समाधान हुन्छ कि भन्ने आस पलाएको छ स्थानीयबासीहरुमा । खानेपानीको विषयमा २०५१ सालको निर्वाचन देखिनै चर्चा हुन थालेको थियो । सायल गाउँपालिकाको सिरानीमा रहेको भल्छडा क्षेत्रबाट खानेपानी ल्याउने गरी सुरुका दिनहरूमा तत्कालीन सांसद भक्तबहादुर बलायरले यो विषय उठाएका थिए । २०४६ सालको राजनीतिक परिवर्तन पछि २०४८ सालमा भएको निर्वाचनबाट निर्वाचित बलायरले पश्चिम चौकी खानेपानी, सातनाली मेल्लेक सडक लगायतका सपना देखाउँदै २०५१ र २०५६ को चुनाव पनि जितेका थिए । तर उनले यस योजनाको विषयमा कुनै पहल गरेनन् ।

२०५६ सालको निर्वाचनदेखि हर्कबहादुर सिंहले पनि यो एजेन्डा बोके । उनी २०६४ सालमा निर्वाचित भएपछि यो योजनाको विषयमा चर्चा भयो । योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने तहमा पुगेको थियो । तर सायलका स्थानीयबासीहरुले पानी लैजान नदिने भनेपछि यो योजना ओझेलमा प¥यो । त्यति वेला भेल्छडाबाट पानी ल्याउने र डोटी जिल्ला सदरमुकाम सिलगढीमा समेत आपूर्ति गर्ने योजना थियो ।

भेल्छडाको पानी नपाइने भएपछि वैकल्पिक स्रोतको रूपमा साइँली गाडलाई लिइएको छ । यो योजना निर्माण भएपछि खानेपानीको हाहाकार झेल्दै आएका स्थानीयबासीहरुले राहत पाउनेछन् ।

यसअघि गाउँपालिकाले वडा नं. २ मा डिप बोरिङ्ग गरी मौवा बजार क्षेत्रका लागि खानेपानीको आपूर्ति गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *