तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण


दमौली । ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।
आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका-१ का ९८ र व्यास नगरपालिका-५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम रु तीन लाख र न्यूनतम रु १० हजार प्रदान गरिएको उहाँले बताए ।
आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ । आयोजनाप्रमुख भण्डारीले भने, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी छ ।”