बार काउन्सिल निर्वाचनमा बन्यो ५ दलनिकट वकिलको वृहत् गठबन्धन, रास्वपालाई पनि मिलाइँदै


काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय निर्वाचनको पूर्वसन्ध्यामा वृहत् प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन बनेको छ ।
उक्त गठबन्धनमा नेकपा एमालेनिकट वकिलहरूको संगठन पिपिएलए, माओवादीनिकट आरपीएलएलगायत ५ दल निकट वकिलहरुबीच सहमति भएको हो ।
एक सातापछि हुने बार काउन्सिल निर्वाचनमा एमाले र माओवादीका उम्मेदवारलाई जिताउने र त्यसपछि फागुन २३ मा हुने नेपाल बारको निर्वाचनमा साझा उम्मेदवार बनाएर जाने सहमतिमा हस्ताक्षर भएको छ ।
बिहीबार भएको सहमतिमा एमालेनिकट पिपिएलएका अध्यक्ष भोजराज आचार्य,माओवादीनिकट आरपिएलएका अध्यक्ष रमण कुमार श्रेष्ठ,विप्लव नेकपानिकट पिएलएका अध्यक्ष कपिलचन्द्र पोखरेल,मोहन वैद्यनिकट एनपिएलएका अध्यक्ष देवकुमार मोक्तान र जसपानिकट एफएलएका अध्यक्ष दीपक राईले हस्ताक्षर गरेका छन् ।
यो पनि पढ्नुहोस्- बार काउन्सिलमा एमाले-माओवादी गठबन्धन, नेपाल बारको निर्वाचनका लागि ‘मत सर्वेक्षण’
बार काउन्सिलको आगामी माघ २६ गते हुने निर्वाचनमा सातै प्रदेशमा एमाले माओवादी गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ । सातमध्ये ५ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीनिकट उम्मेदवार रहेका छन् ।
सोही सम्झौतामा आगामी नेपाल बार एशोसिएसनको निर्वाचनमा साझा हित दृष्टिकोण र प्रतिबद्धता निर्माण गरी एकताबद्धरुपमा अघि बढ्ने सहमति भएको उल्लेख छ ।
यो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट संगठनलाई पनि समावेश गर्ने तयारी भइरहेको छ । संगठनका अध्यक्ष यज्ञमणि न्यौपानेले आफूहरू छलफलमा रहेको बताए । सो संगठनले बार काउन्सिलको निर्वाचनमा बागमतीमा एमालेनिकट पिपिएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई मत दिने सम्भावना छ ।
नेकपा एसनिकट एसपीएलएले भने बार काउन्सिल निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको छ । नेपालमा बारमा पनि कांग्रेससँग मिलेर चुनाव लड्ने तयारी रहेको सो संगठनले जनाएको छ ।
नेपाल बारमा वामपन्थी तथा देशभक्त र स्वतन्त्रहरुको गठबन्धनबाट एमालेनिकट पिपिएलएमा आबद्ध वरिष्ठ अधिवक्ता तथा पूर्व उपाध्यक्ष टिकाराम भट्टराई उम्मेदवार बन्ने सम्भावना छ । उता माओवादीनिकट आरपीएलएले पनि रमण श्रेष्ठलाई अध्यक्षमा समर्थन जुटाउन खोजिरहेको छ । तर बारको अध्यक्ष एमालेनिकट पिपिएलएले नै पाउने लगभग निश्चित रहेको बताइन्छ ।