ट्रम्पले दोहोर्याए ब्रिक्स राष्ट्रहरुलाई शत प्रतिशत कर लगाउने धम्की


वासिङ्टन । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा शत प्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्याएका छन् ।
यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा शत प्रतिशत कर लगाउने धम्की दिएका थिए ।
‘ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ’, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे, ‘हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौं कि उनीहरूले न नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन् न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन् । अन्यथा उनीहरूले शत प्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ ।’
ब्रिक्स भन्सार महसुलबारे ट्रम्पको टिप्पणी पदासीन भएलगत्तै तोकिएको फेब्रुअरी १ को समय सीमाभन्दा केही दिनअघि आएको छ । जसअनुसार छिमेकी क्यानाडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे तिनीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने बताएका छन् ।
ट्रम्पले छुट्टै ब्रिक्स समूहको सदस्य चीनमाथि व्यापार असन्तुलन र अमेरिकी फेन्टानल आपूर्तिमा कथित भूमिकाका कारण फेब्रुअरी १ देखि नै वस्तुहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् । -रासस/एएफपी