कमजोर विकास बैंकहरुमा झुम्मिँदै लगानीकर्ता, शेयरमूल्य उच्च  – Nepal Press

कमजोर विकास बैंकहरुमा झुम्मिँदै लगानीकर्ता, शेयरमूल्य उच्च 

काठमाडौं । नेपाली शेयर लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था नहेरी अन्धाधुन्ध लगानी गरिरहेको पाइएको छ । यो साताको कारोबार हेर्दा कमजोर विकास बैंकको शेयर किन्न लगानीकर्ताहरूलाई भ्याइनभ्याइ देखिएको हो ।

यो साता तीन दिन शेयर कारोबार भयो । यस साताको कारोबारको अन्तिम दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अंकले बढ्यो । जसका लागि विकास बैंकहरुले मद्दत पुर्‍याए । यस दिन विकास बैंकको सूचक सर्वाधिक ४.७ प्रतिशतले बढ्यो ।

मंगलबारको शेयर कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ४ सय ८० रुपैयाँ पुग्यो । यो मूल्य विकास बैंकहरुमध्येकै सबैभन्दा बढी हो ।

शेयरमूल्य उच्च भएको यस बैंकको वित्तीय अवस्था भने उत्साहजनक छैन । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा यस बैंकले एक करोड ७ लाख रुपैयाँ मात्रै नाफा कमाउन सक्यो । बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । आर्थिक वर्ष २०८०/८१ मा पनि यस बैंकले शेयरधनीहरुलाई लाभांश वितरण समेत गरेन । यस बैंक चालू आवमा पनि लाभांश वितरण गर्न सक्ने स्थितीमा छैन । तर, शेयरमूल्यमा भने उछाल आइरहेको छ ।

यस बैंकको खराब कर्जा पनि साढे ७ प्रतिशत नाघेको छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७२ पैसा रहेको छ ।

स्मरण रहोस्, कर्पोरेट डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले २०७१ साल पुस ४ गते समस्याग्रस्त घोषणा गरेको थियो । बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएर सुधारका कदम चालेपछि त्यसको तीन वर्षपछि (२०७४ फागुन ६) मा यस बैंक समस्यामुक्त भएको थियो ।

सिन्धु विकास बैंकमा पनि लगानीकर्ता झुम्मिएका छन् । मंगलबारको शेयर कारोबारमा सिन्धु विकास बैंकको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २४६ रुपैयाँ ८० पैसा पुग्यो । यस बैंकको वित्तीय अवस्था भने राम्रो छैन । खराब वित्तीय अवस्थाका कारण यस बैंकलाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही समेत गरेको थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता एक हजार ३९२ रुपैयाँ ४० पैसा पुगेको छ । यस अवधिमा ९ करोड घाटा व्यहोरेको एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता ६ सय माथी रहेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि प्रतिकित्ता एक हजार दुई सय रुपैयाँ भन्दा बढी रहेको छ । जबकी यस बैंकले चालू आवको ६ महिनामा ५२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यस बैंकको खराब कर्जा ४३ प्रतिशत माथी छ ।

नारायणी डेभलपमेन्ट बैंक पनि यसअघि समस्याग्रस्त घोषणा भएको थियो । जथाभाबी गरिएको लगानी डुबेपछि बैंकलाई राष्ट्र बैंकले २०७० चैतमा समस्याग्रस्त घोषणा गरेको थियो । सात वर्षपछि २०७७ साउनमा मात्र समस्याग्रस्तको सूचीबाट यो बैंक हटेको थियो । समस्याग्रस्त सूचीबाट हटेपनि यो बैंक पटक पटक कारबाहीमा पर्दै आएको छ ।

यो बैंक गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम त्रैमासमा शीघ्र सुधारात्मक कारबाहीमा परेको थियो । यस बैंकको खराब कर्जा बढेर २० प्रतिशतमाथि पुगेको भने पुँजीकोष घटेर ६ प्रतिशतको हाराहारीमा आएको थियो ।

यी बाहेक अन्य विकास बैंकको शेयरमूल्य पनि उच्च रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य एक हजार ८५० रुपैयाँ पुगेको छ । मितेरीको ७ सय माथी हुँदा एक्सेलको शेयरमूल्य ६ सय माथी छ । अन्य पाँच विकास बैंकको शेयरमूल्य ४ सय माथी छ ।

बैंकको अवस्था कस्तो छ भनेर देखाउने महत्त्वपूर्ण सूचक मध्येको एक हो, खराब कर्जा अनुपात । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको खराब कर्जा अनुपात ५ प्रतिशत माथि नहुनुपर्ने प्रावधान छ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत भन्दा बढी भएमा सो संस्थाको  वित्तीय अवस्था कमजोर भएको बुझ्न सकिन्छ ।

विकास बैंकहरुको खराब कर्जा चुलिँदै गएको छ । विकास बैंकहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार विकास बैंकहरुको खराब कर्जा अनुपात करिब ५ प्रतिशतदेखि ४३ प्रतिशतसम्म पुगेको छ ।

शेयर लगानीकर्ताहरू मजबुद विकास बैंकहरुभन्दा कमजोरमा आकर्षित भइरहेका छन् । कमजोर वित्तीय अवस्था रहेका विकास बैंकहरुमा जसरी लगानीकर्ता आकर्षित भएका छन् त्यसैगरि मजबुद विकास बैंकमा भने छैनन् । वित्तीय अवस्थामा राम्रै भएका विकास बैंकलाई छोडेर उनीहरू कमजोर विकास बैंकमा लगानी गरिरहेका छन् । लगानीकर्ताहरूले यसरी गरेको जोखिमयुक्त लगानी भविष्यमा फस्ने उच्च सम्भावना देखिन्छ ।

नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे कमजोर कम्पनीमा लगानी गर्नु भनेको आफूले आफैलाई फसाउनु रहेको बताउँछन् । उनी भन्छन्, ‘कमजोर कम्पनीमा लगानी गर्नु भनेको आफूले आफैलाई फसाउनु हो । यसरी गरिएको लगानीमा धेरै लगानीकर्ताहरू फस्ने सम्भावना हुन्छ । कर्णाली डेभलपमेन्ट बैंकमा पनि धेरै डुबिरहेका छन् ।’

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख रहेको भनेर जानकारी गराएपछि पनि धेरै लगानीकर्ताहरूले यसको शेयर किनेका थिए । पछि राष्ट्र बैंकले यस बैंकलाई समस्याग्रस्त घोषणा गरेको त्यसको व्यवस्थापन नियन्त्रणमा लिएको छ । हाल यस बैंकको शेयर कारोबार रोक्का छ । यस बैंकका सर्वसाधारण लगानीकर्ताहरूको करिब दुई अर्ब रुपैयाँ बराबरको शेयर बन्धक छ ।

कर्णालीमा अर्बौँ रुपैयाँ फसेको देख्दादेख्दै फेरि त्यस्तै कम्पनीहरूमा लगानीकर्ताहरू रोजिरहेका छन् । अध्यक्ष रजौरेका अनुसार सामाजिक सञ्जाल मार्फत नयाँ नयाँ लगानीकर्ताहरू आइरहेका छन् । सामाजिक सञ्जाललाई हेरेर उनीहरू लङ टर्मभन्दा पनि ट्रेडरका रूपमा भित्रिरहेका छन् ।

‘क्लब हाउस, सामाजिक सञ्जालमा ग्रुप बनाएर कमजोर कम्पनीहरूलाई आकर्षित गर्ने गराइएको छ । जसमा उनीहरूको रोजाइमा राम्रो भन्दा पनि लो क्यापका कम्पनीहरू पर्दछन्’, उनले भने ।

यसबारे आफूहरूले नेपाल धितोपत्र बोर्डमा समेत ध्यानाकर्षण गराएका जानकारी दिए । तर कारबाही भने गरिएको छ । यसबारे सेबोनले तत्कालै कदम चाल्नु पर्ने उनको माग रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर