पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति सुरु – Nepal Press

पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति सुरु गरेको छ । पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरुलाई सोही प्रणालीमार्फत विद्युत आपूर्ति सुरु गरिएको छ ।

पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब ३०० ग्राहकलाई विद्युत आपूर्ति दिइएको हो ।

मुग्लिङ-पोखरा सडक विस्तार आयोजनासँगको समन्वयमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोलहरु हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरुपता हटी उक्त क्षेत्र सुन्दर देखिएको छ ।

सुरुमा कुँडहर सबस्टेसनसम्मको वितरण प्रणालीमात्र भूमिगत गर्ने व्यवस्था भए तापनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुले गुजुल्टिएको तारले कुरुप बनेको शहर देख्ननपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्वारसम्म विस्तार गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमशः विद्युत आपूर्ति दिन र ओभरहेड संरचनाहरु हटाउन निर्देशन दिए ।

कार्यकारी निर्देशक घिसिङले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, एयरपोर्टलगायतमा क्षेत्रमा भइरहेको कामको अनुगमन गरेका थिए । महानगरपालिका, सडक कार्यालयलगायतका निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सम्पन्न गरी भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति दिन प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख र आयोजनालाई कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए ।

पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य शहर तथा सडकहरुमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरुमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले बताए ।

लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अब त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति दिइने उनले बताए ।

विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । हावाहुरी, पानी, चट्याङ इत्यादिको कारणले विद्युत प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणाली बढी भरपर्दो, गुणस्तरीय र सुरक्षित मानिन्छ ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो । आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट लिमिटेड भारतसँग १ करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पोखरा क्षेत्रको काम आगामी साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर