राष्ट्रिय सेवा दलको महानिर्देशकमा अवकाश प्राप्त उपरथी याम ढकाल नियुक्त – Nepal Press

राष्ट्रिय सेवा दलको महानिर्देशकमा अवकाश प्राप्त उपरथी याम ढकाल नियुक्त

काठमाडौं । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाश प्राप्त उपरथी याम प्रसाद ढकाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले ढकाललाई एनसीसीको महानिर्देशक नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका ढकाल केही महिनाअघि अवकाश भएका थिए ।

“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो“ भन्ने आदर्श वाक्यलाई आत्मसात् गरी श्री राष्ट्रिय सेवा दलको जन्म वि.सं. २०२२ कार्तिक ७ गते भएको थियो ।

अनुशासन, नेतृत्व क्षमताको विकास, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना, साथ विपद व्यवस्थापन तथा उद्धार कार्यमा स्वयम् सेवक युवा तयार पार्ने लक्ष्य यसले बोेकेको छ ।

यसको सन्चालन नेपाली सेनाबाट हुँदै आएको छ । प्रधानमन्त्री एनसिसीको प्रमुख संरक्षक, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापति सहसंरक्षकको भूमिकामा रहने व्यवस्था छ ।

नेपाल सरकारले राष्ट्रिय सेवा दलमार्फत दक्ष युवा टोली निर्माण गर्दै देशका विभिन्न भागबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवालाई एकताबद्ध बनाउँदै अनुभव आदान प्रदान गर्ने, अनुशासित, इमानदार र जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्दै आएको छ ।

एनसिसी देशको राष्ट्रिय कार्यक्रम भए पनि नेपाली सेनाको उच्चस्तरको व्यवस्थापनमा पूर्ण रूपमा कार्यान्वयन तथा सञ्चालन हुने गरेको छ ।  कार्यक्रम अनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिम हुन्छन् ।

यी तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् भने सिनियर डिभिजनले दस जोड दुईका विद्यार्थीलाई अवसर प्रदान गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर