पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण – Nepal Press

पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

काठमाडौं । आगामी शनिवार हुने पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिता २०८१ को ट्रफी अनावरण गरिएको छ ।

नेकपा (एमाले) रिब्दिकोट पाल्पा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजना हुन लागेको पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको बिहीबार काठमाडौँमा एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले ट्रफी अनावरण गरेका थिए ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य गैरेले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकाससँगै समाजमा उत्साह र जागरण ल्याउने बताए । उनले खेलको मर्यादालाई आत्मसात् गरेर कार्यक्रमलाई सफल बनाउनेमा आफू आशावादी रहेको बताए ।

“खेलकुदले व्यक्तिको शारीरिक मात्रै नभएर मानसिक विकाससँगै समाजमा उत्साह र जागरण ल्याउँछ ।” प्रतिनिधि सभा सदस्य गैरेले भने, “खेलको मर्यादालाई आत्मसात् गरेर कार्यक्रमलाई सफल बनाउनुहुन्छ भन्नेमा म आशावादी छु ।”

सो अवसरमा नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चका इन्चार्ज रामहरि शाही समुन्द्रीले ट्रफी देख्दा तामा, पित्तल लगायतका पदार्थहरूले बनेको भए पनि यो सम्मानको एउटा बिम्ब रहेको बताए ।

मञ्चको आयोजनामा आगामी शनिवार अर्थात् माघ १९ ललितपुरको हात्तिवन स्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगितामा ८ टोली सहभागी हुने एमाले रिब्दिकोट पाल्पा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष कमल प्रसाद पाण्डेले जानकारी गराए ।

उनका अनुसार विजेता टोलीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले नगद ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

खेलमा ‘म्यान अफ द म्याच’ हुनेलाई एक दिनको चन्द्रागिरि हिल्सको टिकटसँगै प्याकेजको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *