सभामुखसमक्ष रविको तर्क : प्रतिनिधिसभा नियमावलीअनुसार मलाई निलम्बनमा राखिरहन मिल्दैन – Nepal Press

सभामुखसमक्ष रविको तर्क : प्रतिनिधिसभा नियमावलीअनुसार मलाई निलम्बनमा राखिरहन मिल्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई सांसदबाट गरिएको निलम्बन संसद नियमावली विपरीत रहेको जिरह गरेका छन् । अदालतबाट धरौटीमा छुटेपश्चात् आफ्नो सांसद पद बहाल रहनुपर्ने उनको माग छ ।

आफ्नो निलम्बन फुकुवाको लागि लामिछानेले आज सभामुखलाई निवेदन दिएका थिए । प्रतिनिधिसभा नियमावलीको दफा २८ को उपदफा ३ मा अनुसार थुनामा रहेको अवधिभर मात्रै निलम्बन हुनुपर्ने उनको तर्क छ ।

निवेदनमा भनिएको छ, ‘नियमावलीको दफा २८ को उपदफा (३) मा प्रस्ट रूपमा– प्रचलित कानून बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर… भन्ने उल्लेख छ । म निवेदक थुनामा नरहेको अवस्थामा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ बमोजिमको प्रावधानले सदनको कार्य सञ्चालन एवं काम–कारबाही नियमित गर्न कुनै किसिमले बाधा–अवरोध गर्न एवं लागु हुन नसक्ने हुँदा सो प्रतिनिधि सभा नियमावली २०७९ को दफा २२८ को उपदफा (३) बमोजिम थुनामा नरहेको म निवेदक सार्वभौम नागरिकको प्रतिनिधिलाई संविधान र कानून बमोजिम संसदमा उपस्थित हुन र सदनको काम–कारबाहीमा भाग लिन कुनै अवरोध हुन नसक्ने प्रष्ट छ ।’

लामिछानेले माघ १८ गते शुक्रवार संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको भनी मिति २०८१ माघ ८ गते सूचना प्रकाशित भएकोले सो सूचना बमोजिम बस्ने संघीय संसदको सदनलाई प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम आफ्नो निलम्बन फुकुवाको जानकारी दिन सभामुख समक्ष माग गरेका छन् ।

नेपालको संविधानको धारा २ बमोजिम नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता प्रयोग गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट आफूलाई निर्वाचित गरी पठाउने जनताको प्रतिनिधिका रूपमा संघीय संसदको बैठकमा सहभागी हुन पाउनुपर्ने उनको भनाइ छ ।

‘नेपालको संविधानको धारा १०३ समेतले प्रत्याभूत गरेको विशेषाधिकार प्रयोग गरी सार्वभौम जनताको प्रतिनिधित्व गर्ने संघीय संसदमा संविधान र प्रतिनिधि सभा नियमावली २०७९, एवं संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बमोजिम प्रतिनिधि सभा सदस्यको जिम्मेवारी वहन गर्न मार्ग प्रशस्त गरी पाउन सादर निवेदन गर्दछु,’ लामिछानेले निवेदनमा लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर