प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन र तदनुकूलको कानून निर्माण सरकारकाे प्राथमिकता


प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताएका छन् ।
आज सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले पहिचान गरिएका विषयहरुमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरु र सरोकारवालाहरुसँग छलफल गरिने बताए ।
‘हामी स्पष्ट छौं, पार्टीहरुका आआफ्नै धारणा र पोजिसन हुनसक्छन् । मिलेका कुरामा साझा धारणा बनाइनेछ, नमिलेका कुरामा बहस र छलफल गरिनेछ’, उनले भने, ‘संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस/छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ र त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ ।’
सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माणलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
‘यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकार पक्षीय दलहरुसँगको छलफल गरिनेछ’, उनले भने ।