प्रमुख प्रतिपक्षीकाे प्रश्न- समितिमा छलफलमा रहेको विधेयकलाई अध्यादेशका रुपमा ल्याउन मिल्छ ? (भिडिओ)
सरकारले अध्यादेश ल्याएर संसदलाई नै कमजोर बनाउन खोजेको माओवादीको आरोप


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संविधानमा अध्यादेश ल्याउने व्यवस्था छ भन्दैमा संसदको नियमावलीलाई उपेक्षा गर्न नमिल्ने बताएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनलाई माओवादी संसदीय दलको तर्फबाट सम्बोधन गर्दै प्रमुख सचेतक हितराज पाण्डले यस्तो बताएका हुन् ।
उनले सम्बोधन गर्दै भने, ‘संविधानको व्यवस्था अनुसार अध्यादेश ल्याउन पाइन्छ । तत्काल कुनै कुराको आवश्यक परेमा ल्याउन पाइन्छ । संविधानमा उल्लेख भएको छ भन्दैमा संसदको नियमावलीलाई उपेक्षा गर्न पाइदैन । संसदीय समितिमा छलफलमा रहिरहेको विधेयकलाई फिर्ता नै नलिएर, प्रक्रिया नै पुरा नगरेर छिटो काम गर्नका लागि अध्यादेश ल्याएको भन्छ मिल्छ ? बरु समितिमा छलफल गरेको भए झन छिटो विधेयक पारित हुने थियो । फिर्ता नै नलिएर अध्यादेश ल्याउनु गलत हो ।’
प्रमुख सचेतक पाण्डेले १५ दिन अघि ल्याएको अध्यादेशले अहिलेसम्म कति काम गर्यो भन्दै प्रश्न गरे । उनले भने, ‘पुष १४ गते, २९ गते र माघ २ गते गरेर ६ वटा अध्यादेश आएका छन् । आज माघ १८ गते संसदको अधिवेशन बोलाएर बैठक चलिरहेको छ । १५ दिनमा अध्यादेश ल्याएर सरकारले कति काम गर्यो ?’
प्रमुख सचेतक पाण्डेले संसदीय समितिका बैठक समेत सत्तारुढ दलका सांसदकै कारणले बस्न नसकिरहेका र यता सरकारले अध्यादेश ल्याएर संसदलाई नै कमजोर बनाउन खोजेको आरोप लगाए । उनले भने, ‘समितिका बैठक सत्तापक्षका सांसदको अनुपस्थितका कारणले अघि बढ्दैनन् । यता सरकारले अध्यादेश ल्याउने काम गरिरहेको छ । यसले संसदलाई नै कमजोर बनाउन खोजिएको छ ।’