बन्दका कारण पूर्वी पहाडको जनजीवन कष्टकार, वार्ता र संवादबाट समाधान खोज्न यातायात व्यवसायीको माग – Nepal Press

बन्दका कारण पूर्वी पहाडको जनजीवन कष्टकार, वार्ता र संवादबाट समाधान खोज्न यातायात व्यवसायीको माग

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण सुरु भएको विरोधमा सुरु भएको आन्दोलनले पूर्वी पहाडी जिल्लाको जन जीवन कष्टकर भएको छ । पाथीभरा क्षेत्रमा केबलकार निर्माण गरिनु हुँदैन भन्दै नो केबलकार भन्दै सुरु भएको आन्दोलनका कारण माघ १५ गते देखि सवारीका साधन चल्न सकेका छैनन् ।

मेची राजमार्ग र तमोर कोरिडोर बन्दका कारण ताप्लेजुङ, पाँचथर र इलाममा सवारीका साधन चल्न सकेका छैनन् । बन्दका कारण दैनिक उपभोग्य सामाग्री जिल्लामा भित्रिन सकेका छैनन् भने जिल्लामा उत्पादन भएका कृषि उत्पादनमा समेत ढुवानी हुन सकेको छैन ।

यसैबिच केबलकार निर्माणको विरोध गर्दा प्रहरीले दमन गरेको भन्दै नो केबलकार समूहको समर्थनमा मुक्कुमलुङ्ग संरक्षण अन्तर दलीय सङ्घर्ष समितिले अरुण पूर्वका नौ जिल्ला समेत बन्दको आव्हान गरेको छ । मञ्च सम्बद्ध संघिया लोकतान्त्रिक राष्ट्रिय मञ्च, पहिचानवादी मोर्चा, राष्ट्रिय मुक्त पाटी लगायतका विभिन्न राजनीतिक माघ २० र २१ गते अरुण पूर्वका नौ जिल्ला बन्दको आव्हान गरेका हुन् ।

किराँतीहरूको आस्थाको केन्द्र पाथिभार मुक्कुमलुङ्गमा सास्कृतीक अतिक्रमण सुरु भएको भन्दै ती राजनीतिक दलले बन्दको आव्हान गरेका छन् ।

पाथीभरा क्षेत्र किराँतीहरूको आस्थाको केन्द्र भएको भन्दै त्यस क्षेत्रमा केबलकार बनाउन हुँदैन भनेर लामो समयदेखि विरोध हुँदै आएको छ । विरोधका बावजुत पनि निर्माण कम्पनीले केबलकार निर्माणको काम थालेपछि नो केबलकार समूह निर्माणमा अवरोध गर्न पुगेको थियो ।

केबलकार निर्माणमा अवरोध गर्न पुगेको समूह र प्रहरी बिच झडप हुँदा प्रहरीको गोली लागि ४ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।

निर्माण कार्यक्रम अवरोध गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको आन्दोलनरत पक्षले जनाएको छ । पाथीभरालाई किराँतीहरूले मुक्कुमलुंगमा भन्ने गर्छन् । मुक्कुमलुंग उनीहरूको मुन्धुमी आस्थाको केन्द्रको रूपमा मान्ने गरेका छन् ।

बन्दको विकल्प खोज्न यातायात व्यवसायीको माग

लगातारको बन्दका कारण यातायात व्यवसायी र मजदुरहरू मारमा परेको भन्दै बन्दको विकल्प खोज्न यातायात व्यवसायीहरूले माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै वार्ता संवादबाट निकास निकाल्न आन्दोलनरत पक्ष र सरकारसँग माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश अखिल नेपाल यातायात मजुर सङ्घ, कोशी प्रदेश नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोशी प्रदेशले, नेपाल यातायात मजदुर सङ्घ,कोशी प्रदेशले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीहरू र सवारीमा कार्यरत मजदुर तथा यसमा आश्रित परिवारको अवस्था दयनीय बन्दै गएको बताएका छन् ।

विज्ञप्तिमा निरन्तरको बन्दले व्यवसायीहरूले मासिक रूपमा व्यहोर्नु पर्ने आर्थिक दायित्वको भार थेग्न नसक्ने अवस्था सिर्जना हुँदै गएकाले बन्द आह्वानकर्ताले बन्दको विकल्प खोज्न माग गरिएका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *