प्रचण्डको प्राधिकारमा ‘टिम जनार्दन’को धक्का, अध्यक्षमा चुनौती दिने पक्का ! – Nepal Press

प्रचण्डको प्राधिकारमा ‘टिम जनार्दन’को धक्का, अध्यक्षमा चुनौती दिने पक्का !

पिरामिड शैलीमा विस्तार हुँदै जनार्दनको सञ्जाल,तर सञ्जालकै नेता भन्छन्–हाम्रो पहिलो नेता प्रचण्ड त्यसपछिमात्र प्रभाकर

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा उर्फ प्रभाकरले शुक्रवार संसद भवनको बाहिर पत्रकारसँग अर्थपूर्ण वाक्य प्रयोग गर्दै भनेका छन्–अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादी पार्टीभित्र विधिपद्धति स्थापित गर्ने र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु भयो ।

माओवादीभित्र सबै कमिटी तथा पदमा निर्वाचनको माग राखेर पार्टीमा अध्यक्ष प्रचण्डसँग फरक मत समेत दर्ज गरेका प्रभावशाली नेता जनार्दनको यहि वाक्यले धेरै कुराको संकेत गर्छ । जनार्दन विशेष महाधिवेशनको माग गर्ने नेतामा समेत पर्छन्,जसले अबको नेतृत्वमा प्रचण्डलाई चुनौति दिने लगभग निश्चित छ ।

अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि भएको निर्वाचन उनका लागि शक्ति प्रदर्शन थियो । शर्मा पक्षका नेताहरुले क्रान्तिकारीको अध्यक्षदेखि तलैसम्म आफ्नो प्यानल घोषितरुपमै खडा गरेका थिए । झिनो मतले अध्यक्षमा हेमन्त राई हारे पनि उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्षसहित बहुमत पदमा जनार्दनको प्यानल बिजयी भएको छ ।

अध्यक्ष बाहेक ५ जना उपाध्यक्ष र महासचिवसहित २२ जना पदाधिकारी शर्मा निकटको विजयी भए। अध्यक्षका उम्मेदवार राई भने ७२ मतान्तरले हारे। निर्वाचित भएका विजयप्रकाश सापकोटालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक समर्थन रहेको चर्चा छ। उनलाई शक्ति बस्नेतले प्रचण्डसम्म पुर्याएका थिए । अन्तिममा प्रचण्ड उनको पक्षमा उभिएपछि सुदिन पौडेल बोकेर हिँडेका वर्षमान पुन रिसाएका थिए ।

त्यसो त शर्माले यसअघि नै पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले नेतृत्व छाड्नुपर्नेसहितको प्रस्ताव दर्ता गरेका थिए। त्यसले माओवादी वृत्तमा ठूलो तरंग ल्याएको भएपनि तत्कालाई त्यो साम्य भएजस्तो देखिएको छ। किनकी गत केन्द्रीय समिति बैठकमा फरक मत ल्याउन लागेका शर्मालाई रोकियो ।

आगामी महाधिवेशनमा प्रचण्डलाई चुनौती दिनेगरी अघि बढेको शर्माले विद्यार्थीको निर्वाचनामा शक्ति परिक्षण गरेको उनी निकट नेताहरु बताउँछन्।

ती नेताले थपे,– ‘अहिले हेमन्त राईलाई नेतृत्वमा ल्याएर विद्यार्थी राजनीतिलाई नयाँ शिराबाट उठाउन उहाँले खोज्नुभएको थियो। योग्य मान्छे हुनुहुन्थ्यो। उहाँबाट प्रस्तुत भएको टिमले बहुमत जित्यो। उहाँलाई हराउने काम, एक भोट चाहिँ प्रचण्डको लागि भन्दै दुरुपयोग गरेर हराइयो। त्यो प्रवृत्तिले अध्यक्ष र हेडक्वाटरको नामको दुरुपयोग गयो।’

शर्मानिकटका नेता सुदन किरातीले अध्यक्ष प्रचण्डको नाम दुरुपयोग गरेर अध्यक्षमाथि अन्याय गरिएको टिप्पणी समेत गरेका छन् ।

शर्मा पक्षले आफू निकट उम्मेदवार राईको हारलाई प्राविधिक रुपमा मात्रै भएको विश्लेषण गरेको छ। आफू निकटको बहुमत पदाधिकारीले जितेपछि शर्माले विद्यार्थी संगठनको ३२ वर्षे उमेरहद लागू गरेर प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष भएको बताए।

याे पनि पढ्नुस्:

जनार्दनको फरक मत- प्रचण्डका भाइ र बुहारीलाई जिम्मेवारी दिएर अरुलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो (पूर्णपाठ)

‘खुमलटारबाटै जनार्दन एमाले जाँदैछ, पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइयो’ (पूर्णपाठ)

जनार्दनको रणनीति

यसअघि नै बैठकमा लिखित दस्तावेज पेस गरेर प्रचण्डलाई चुनौती दिएका शर्माले आगामी महाधिवेशनबाट नेतृत्वमा प्रचण्डसँग प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएका छन्। माओवादीले ६ महिना पार्टी संगठन केन्द्रित अभियान चलाएर त्यसपछि महाधिवेशनमा केन्द्रित हुने निर्णय गरिसकेको छ।

त्यसैले पार्टीभित्रका नेताहरुलाई विश्वासमा लिएर नेतृत्वमा प्रचण्डसँगै प्रतिस्पर्धा गर्ने रणनीतिका साथ शर्मा अघि बढेका हुन्। पदाधिकारीमा उनी एक्लै भए पनि जति तल गयो,उति नै उनले आफ्ना समर्थक नेता कार्यकर्ता तयार पार्न थालेका छन् ।

एक प्रकारले भन्ने हो भने पिरामिट शैलीको टिम जनार्दनले खडा गर्दैछन् । विद्यार्थी संगठन,वाइसिएललगायतका जनसंगठनदेखि जिल्ला नेतृत्वमा समेत निर्वाचनबाटै आफ्ना पक्षधरलाई जिताउने प्रक्रियामा उनी अघि बढेका छन् ।

शर्मालाई अहिले कोशी प्रदेशबाट सांसद सुदन किराती, अमनलाल मोदी, पूर्वमन्त्री शिबकुमार मण्डल, प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङलगायतले साथ दिएका छन्।

शर्माको पक्षमा मधेशमा अहिलेसम्म केन्द्रीयस्तरका नेता खुलेका छैनन्। महाधिवेशनसम्म पुग्दा तलैसम्म आफ्नो गुट फैलाउने शर्माको योजना छ। बागमतीमा प्रदेशसभा सांसद तथा केन्द्रीय सदस्य युवराज चौलागाईं, ओम शर्मा, नेताहरु दीननाथ गौतम, अनिल शर्मा, दिपक देवकोटालगायतले साथ दिएका छन्।

गण्डकीमा गोरखाका चुडामणि खड्काले साथ दिएका छन्। खड्का पहिले प्रचण्ड सचिवालयमा काम गरेका व्यक्ति हुन्। त्यस्तै कास्कीका पूर्व सांसद दिपक कोइराला पनि जनार्दन पक्षधर हुन् । तर खड्का र कोइराला दुवैले प्रचण्डलाई हेडक्वार्टर मानेर त्यसपछिको नेतामात्र जनार्दनलाई मान्ने बताउने गरेका छन् ।

कर्णालीमा सांसद महेन्द्र शाही, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, प्रदेश अध्यक्ष विमला केसी, प्रदेश सभा सदस्य भीम प्रकाश शर्मा, गोपाल शर्मालगायत अधिकांश नेता जनार्दन पक्ष मानिन्छन् । सुदुरपश्चिममा खगराज भट्टले साथ दिएका छन्।

वाइसिएल अध्यक्ष सुवोध शेर्पाली पनि शर्माकै पक्षमा छन्। यद्यपी, यसअघि शर्माले नै अखिल क्रान्तिकारीको अध्यक्ष बनाएकी पञ्जा सिंहले भने साथ छाडेको बताइन्छन्। उनी अर्का उपमहासचिव शक्ति बस्नेतले अखिलको यही निर्वाचनबाट स्थापित गरेको गुटमा उभिएको चर्चा छ।

आगामी निर्वाचनमा नजिते पनि प्रचण्डसँग प्रतिस्पर्धा गरेर वैकल्पिक नेतृत्वमा आफूलाई स्थापित गर्ने योजना शर्माको भए पनि उनलाई समर्थन गरेका अधिकांश नेताहरु प्रचण्डलाई नै छाता मान्छन् । प्रचण्डपछिको नेतामात्र जनार्दनलाई मान्ने खाले धेरै रहेकाले पनि उनले अबको मूभ कसरी अघि बढाउँछन् भन्ने प्रश्न पेचिलो छ ।

जनार्दननिकट नेताले भने–, उहाँले आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ। अहिले नजिते पनि प्रचण्डपछि वैकल्पिक नेतृत्वमा आफूलाई उहाँले स्थापित गराउँनुहुन्छ। उहाँले जिल्लामा आफ्नो गुट तलैसम्म लैजाने योजना बनाइराख्नुभएको छ।

उनले आफू मात्रै होइन, उपाध्यक्ष कृष्णबहादुर महरा गुटसँग पनि संवाद अघि बढाएका छन्। सुन प्रकरणमा प्रचण्ड प्रधानमन्त्री हुँदै पक्राउ परेका महार पार्टीभित्र कमजोर बनाउँन शर्मालाई सघाउन तयार देखिन्छन्। उनीसँग रेखा शर्मा, हिमाल शर्मालगायत नेताहरु छन्।

आगामी महाधिवेशनसम्म पुग्दा शर्माले आवश्यकता अनुसार पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग कुरा गर्ने तयारी गरेका छन्। त्यसबाहेक माओवादीमा अर्का उपमहासचिव बर्षमान पुनको पनि तल्लो तहसम्मै गुट छ। पुनले भने आफ्नो गुटलाई प्रचण्डकै परिपूरक बनाएर प्रचण्ड गुटकै नेता बन्ने रणनीति बनाएका छन् ।

शर्मा र पुनको गुटलाई साइजमा राख्नको लागि प्रचण्डले कहिले नेकपा महासचिव विप्लव त कहिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा ल्याउँन खोजेको चर्चा पनि चल्ने गर्छ । पछिल्लोपटक शक्ति बस्नेतको गुट समेत प्रचण्डकै साधन स्रोतबाट खडा भएको माओवादी नेताहरु बताउँछन् ।

‘नेता प्रचण्ड नै हो, विधिको कुरा उठाएका हौं’

 

 

यद्यपी पछिल्लो सयम शर्मासँग नजिकिएका सांसद सुदन सुदन किरातीले आफूहरुले पार्टी विधिअनुसार चलाउनुपर्छ भन्ने कुरालाई उठाएको बताए।

जनार्दनसँगको सम्बन्धबारे उनले भने,– त्यस्तो होइन। हाम्रो प्रमुख नेता भनेको प्रचण्ड नै हो। उहाँले नै यो आन्दोलनलाई यहाँसम्म ल्याउनुभएको हो। अझै पनि उहाँकै आवश्यकता छ। विचार र संघर्ष केही छैन। पार्टीमा हामीले विधिको कुरा उठाएका हौं।

उनले पार्टीमा भएको निर्णय कार्यान्वयन गर्ने बिषय आफूहरुले उठाएको भएपनि अरु कुनै समस्या नभएको बताए।

जनार्दन शर्माले आगामी महाधिवेशनमा प्रचण्डसँग प्रतिस्पर्धा गर्ने तयारी गर्र्दै हुनुहुन्छ हो? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘ त्यसबारे मलाई थाहा छैन। उहाँले भन्नुभएको छ, विधि स्थापना गरेर अब हाम्रो नेतृत्व उहाँ नै हो। उहाँको विरुद्ध पार्टीबाट कोही उठ्न। उठेपनि जित्दैन।’

उनले अहिले माओवादीमा प्रचण्डको विकल्प नभएको दाबी गरे।

किरातीले थपे, ‘अहिले अरुलाई जिताउन पनि हुँदैन। किनभने आवश्यकता प्रचण्डकै छ। त्यो कुरा होइन। धमिलो पानीमा माछा मार्ने प्रवृत्ति धेरै छ पार्टीभित्र पनि। त्यसलाई अन्त्य गर्नुपर्छ यसमा पार्टी नेतृत्वले पनि समयमै बुझ्न सक्नुपर्छ।’

‘पार्टीभित्रको समस्या अखिलको चुनावमा देखियो’

केन्द्रीय सदस्य रञ्जित तामाङले विद्यार्थीको निर्वाचनमा पार्टीभित्रको समस्या जस्ताको तस्तै कपिपेस्ट भएको बताए।

उनले भने, ‘त्यो राम्रो भएन। विद्यार्थीको आवश्यकता अनुसारको नेतृत्व तयार गर्नुपर्थ्यो। बाहिर विद्यार्थीको चुनाव तर अन्तर्यमा चाहिँ पार्टीभित्रका नेताहरुको मनोविज्ञान प्रस्फुट गर्ने आधार बनेको छ। त्यो राम्रो भएन। स्वतन्त्र र निष्पक्ष ढंगले हुने सकेन।’

उनले अखिलको निर्वाचनमा नेतानै पिच्छे प्यानल बनेको घुमाउँरो शैलीमा स्वीकारे।

उनले थपे, ‘सामान्यता पार्टीका मनोविज्ञानको प्रतिबिम्व भएपछि प्यानल बनिहाल्छ, बन्यो नै। त्यो बन्न हुँदैनथ्यो। अमुक नेताहरु केन्द्रित टिम आयो भन्ने कुराले नै अब स्ववियु निर्वाचनमा एकताबद्ध भएर जानुपर्ने, पार्टी पुनर्निर्माणको भूमिका निर्वाह गर्र्नुपर्नेमा चाहिँ कसरी गर्छन् भन्ने प्रश्न उठेको छ।’

उनले अखिलले नयाँ नेतृत्व पाएपछि अध्यक्षसँग दुरि नापेर भएको प्रचारप्रति असन्तुष्टि जनाए।

जनार्दन शर्मानिकटको बहुमत आएकोबारे तामाङले भने, ‘बाहिर देखिएको छ सतहमा, अरु पनि होलान्। अहिले विद्यार्थीको निर्वाचनपछि पार्टी हेडक्वाटर, खासमा पार्टी अध्यक्षसँग नजिक र टाढा भनेर दुरी मापन भइरहेको छ, त्यो सही होइन। अध्यक्षको नाम जोडेर जुन प्रचार भएको छ त्यो पनि राम्रो होइन। त्यसले पनि पार्टी संगठन बनाउँदैन।’

उनले अखिल क्रान्तिकारीले पार्टीको संगठन निर्माणमा सहयोग पुर्याउँनुपर्ने भएपनि यो निर्वाचनमा देखिएको परिस्थितिले थप असहज बनेको स्वीकारे।

उनले भने, ‘बाहिर उहाँ (प्रचण्ड)को टिम भनेर प्रचार गरियो। तर, उहाँले जो आएपनि मान्छु प्रष्ट भन्नुभएको थियो। त्यसमा केही मान्छेल अध्यक्षको नाम बेचे। यसलाई मापन गरेर प्रचण्डमाथि जनार्दन हावी भयो भन्न मिल्दैन।’

उनले उपमहासचिव शर्मा पनि तत्काल प्रचण्डको विकल्प खोज्ने पक्षमा नरहेको उनको बुझाइ छ।

तामाङले थपे,– ‘केन्द्रीय कमिटीको बैठकमा हामीले जनार्दन कमरेडको पनि कुरा सुनेकै हौं। त्यहाँ पनि प्रचण्डको विकल्प खोज्ने कुनै कुरा भएको छैन। तर, विद्यार्थी चुनावमा अध्यक्ष होस् वा अरुको नाममा जे कुराको चर्चा भयो त्यसले पार्टी समीकरण, र पार्टीभित्रको एउटा मजबूद नेतृत्व चयनमा असर गर्दैन।’

पार्टीभित्र नेताहरुमा भएको विभिन्न मनेविज्ञानहरु महाधिवेशन नै यसरी बाहिर आउनु राम्रो नभएको बताए।

‘पार्टीभित्र अब गुटबन्दी नै नभनौं तर, विभिन्न मनेविज्ञानहरु छन्, भन्ने त पहिलैदेखि नै थियो नै। त्यसमा हामीले महाधिवेशनबाट हल गर्ने भनेका थियौं’ उनले थपे, ‘पार्टी महाधिवेशनबाट हल गर्ने भनिएको कुरा अहिले व्यक्त गर्न हुँदैनथ्यो। एकताबद्ध पार्टी बनाएर ६ महिना संगठन निर्माणमा लागेर हामी महाधिवेशनमा केन्द्रित हुनुपर्थ्यो।’

‘कसैले मेरो समुहबाट जितेको भन्ने हुर्मत लिनुपर्दैन’

अखिल क्रान्तिकारीका ईन्चार्जको हिमाल शर्माले भने सम्मेलनले केहि समय लिएता पनि विद्यार्थीहरुलाई लोकतान्त्रिक अभ्यासको भरपुर सदुपयोग गर्ने मौका प्रदान गरेको दाबी गरे।

उनले भने, ‘योग्य र क्षमतावान साथीहरु लोकप्रिय मतका साथ निर्वाचित हुनु भएको छ। कसैले मैले वा समुहले गर्दा जितेको हो भनेर हुर्मत लिनु बेकार हो। त्यसो गर्दा आफ्नो योग्यता र क्षमताले जितेकाहरुलाई अन्याय हुन्छ। सबै जना अखिल क्रान्तिकारीका नेता हुनुहुन्छ।’

प्रतिस्प्रधामा आएकाहरु पनि अव्वल रहेको भन्दै उचित जिम्मेवारी दिने पनि बताए।


प्रतिक्रिया

3 thoughts on “प्रचण्डको प्राधिकारमा ‘टिम जनार्दन’को धक्का, अध्यक्षमा चुनौती दिने पक्का !

  1. लाज छैन, शर्मा थर नाम पछाडी झुण्ड्याएर मार्क्सबाद बोकेर हिड्न? कमसेकम बाहुन-क्षत्री हरूले यो मार्क्सबाद बोकेर हिड्नु हुदैन । बाहुन-क्षत्री लाइ धर्म रक्षाको जिम्मेवारी दिइएको छ, कर्तव्य हो। मार्क्सबाद ले हाम्रो परम्परालाइ घृणा गर्छ, नराम्रो दृष्टीकोण राख्छ। त्यसैले मार्क्सबाद लाइ यो देश बाट नै खेद्न पर्छ । मार्क्सबादीहरू तिम्रो आयातित सिदान्त युरोपबाट आएको हो उतै जाउ। हाम्रो मौलिक परम्परा यही हिमालय क्षेत्र मा बिकसीत भएको हो , त्यही भएर मार्क्सबाद जस्तो फाल्तु चिज हामीलाइ चाहिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर