राष्ट्रिय सभामा दर्ता सामाजिक सञ्जालसम्बन्धी विधेयकमा माओवादी केन्द्रको आपत्ति, परिमार्जन गर्नुपर्ने भनाइ


काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक’ प्रति आपत्ति जनाएको छ ।
माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी र विधेयकमार्फत सरकार निरंकुशतातर्फ अग्रसर भएको भन्दै माओवादीले विरोध गरेको हो ।
विधेयकमा विषयमा पर्याप्ता छलफल, राय सल्लाहपछि मात्रै निष्कर्षमा पुग्नुपर्ने माओवादीले जनाएको छ ।
‘सरोकारवालाहरू सँग कुनै राय, सल्लाह तथा छलफल नगरिकन स्वेच्छचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसद भित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ । वर्तमान सरकारले आफूविरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रुपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रष्ट्याएको’, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, विधयेकमा परिमार्जन गर्नुपर्ने पनि माओवादीले जनाएको छ ।
‘संसदमा पेश गरिएको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक’ लाई सम्बन्धित पक्षसँगको छलफल पश्चात नेपालको संविधान अनुकुल हुने गरी परिमार्जन सहित अघि बढाउनु पर्ने कुरामा हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
जन्म नै मान्छे मार्ने, अर्काको लुटनेबाट भएकाहरूलाई सभ्य समाज बनाउने, अनुशासित बनाउने कुरा कहाँ मन पर्छ र ? अरूलाई मनपरि गाली गर्ने, झुट कुरा गर्ने कुरा विधेयक आएपछि अब बन्द हुने भो भनेर माओवादी तिलमिलाएछ ।