अछाम घटनाकाे एक साता : पक्राउ परेकाबाटै दुई किशाेरीकाे हत्या भएको प्रारम्भिक ठहर
शनिवार दोषी सार्वजनिक गर्ने प्रहरीको तयारी

कैलाली । अघिल्लो शुक्रवार बेपत्ता भएका अछामका दुई किशोरीको हत्या गरिएको प्रहरी प्रारम्भिक ठहर गरेको छ ।
जिल्लाको ढकारी गाउँपालिका–१ स्थित सुनघर सामुदायिक वनमा शुक्रवार हराएर शनिवार साँझ मृत भेटिएका ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको हत्या गरिएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको थियो । बाख्रा हेर्न गएका किशोरीहरू मृत अवस्थामा फेला परेका थिए ।
घटनलाई गम्भीर रुपमा लिँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी गणेश चन्द आफैं घटनास्थलमा खटिएका थिए । उनीसहित केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, प्रदेश प्रहरी कार्यालय धनगढी, महेन्द्रनगर र अछाम प्रहरीसमेतको संयुक्त रुपमा फरक फरक ढङ्गबाट घटनाको अनुसन्धान गरिएको थियो ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई व्यक्तिबाटै घटना भएको हुनसक्ने बताइएको छ । ठोस निष्कर्ष भने प्रहरीले सार्वजनिक गरेको छैन । तर, घटना सुल्झिसकेको दाबी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी ईश्वरी प्रसाद भण्डारीले घटना विवरणबारे जानकारी दिन भोलि पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
‘घटनाका धेरै विषयवस्तु करिब निष्कर्षमा पुगिसकेका छौँ, भोलि बिहान सबै जानकारी दिनेगरि पत्रकार सम्मेलनको आयोजना गरेका छौँ सबै तथ्य त्यहीँ सार्वजनिक हुन्छ’, प्रहरी प्रमुख भण्डारीले बताए ।
अहिलेसम्म घटनामा संलग्न रहेको आरोपमा २ जना किशोर अछाम प्रहरीको हिरासतमा छन् । स्रोतका अनुसार ती दुई जनाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । ती किशोरहरू पनि मृतकहरूसँगै गोठालो गएका थिए ।
सोही क्रममा किशोरीसँग विवाद भएकोमा घटना घट्न गरेको प्रहरीको बुझाई छ । उनीहरूले बयानका आधारमा प्रहरीले थप तथ्य र प्रमाण संकलन गरेपछि भोलि घटनाबारे निष्कर्ष सुनाउने प्रहरीले तयारी गरेको छ ।
यसअघि नै आफन्तले हत्या नै भएको दाबी गरेर ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । नातामा फुपू–भदैनी पर्ने मृतकहरू दुवै कमलबजार नगरपालिका १० स्थित विद्याप्रवोधिनि माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत थिए । यो घटनापछि सिङ्गो ढकारी र विद्यालय परिवार शोकमा डुबेको छ ।