युवराज कंडेलः अध्यापन, पत्रकारिता, इतिहास र पर्यटनको अथक यात्री – Nepal Press

युवराज कंडेलः अध्यापन, पत्रकारिता, इतिहास र पर्यटनको अथक यात्री

रुपन्देही । अध्यापनसँगै पत्रकारिता, इतिहास, वातावरण र कानुनका विषयमा गहिरो अध्ययन गरेका युवराज कंडेलको पहिचान थपिँदै गएको छ । २०३२ चैत्र ९ मा रुपन्देहीको तत्कालीन करहिया गाउँ पन्चायतको उत्तरी क्षेत्र शान्तिनगरमा गौरिलाल कंडेल र मनकुमारीको दोस्रो सन्तानको रूपमा जन्मिएका युवराज सानैदेखि अध्ययन र इतिहास संरक्षणमा रुचि राख्दथे ।

अहिले रुपन्देहीको कालिका मानवज्ञान विद्यालयमा अध्यापन गर्ने उनको पहिचान शिक्षकमा सीमित राखेका छैनन् । इतिहासका बारेमा गहिरो अध्ययन गरेका उनले यस्तै रुचिका विषयहरुलाई निरन्तर उठाउँदै र लेख्दै आएका छन् ।

सानैदेखि संघर्ष गरेर विभिन्न अनुभूति संगालेका उनी अहिले स्कुलको सर मात्रै होइनन् इतिहासको अध्येया र संरक्षक, अधिवक्ता अनि पर्यटन क्षेत्रमा निरन्तर बहस चलाउने पात्र हुन् ।

उनको बाल्यकाल उस्तै रोचक छ । घना जङ्गल छेवैको गाउँमा खेतबारी, गाईवस्तु र वनस्पतिसँगको मिठो सम्बन्धका साथ बाल्यकाल बिताएको कंडेलले स्मरण गर्दछन् ।

गाउँमा स्कुल नहुँदा ७ वर्षको उमेरमा ज्योती प्राथमिक विद्यालयमा भर्ना भएका युवराजले परालको चकटी बोकेर स्कुल जाने र त्यसमै बसेर पढ्ने जीवनबाट आफ्नो शैक्षिक यात्रा सुरु गरे । ४ कक्षामा पढ्न ४ किलोमिटर टाढाको शान्ति नमूना स्कुल मणिग्राममा भर्ना भएपछि उनले १० कक्षासम्मको अध्ययन गरे ।

स्कुलका हेडसर जगदिश गुरुले भारतीय पत्रपत्रिका र पुस्तकहरू पढ्ने बानीले युवराजमा पत्रकारिता र लेखनप्रति रुचि जगाएको कंडेलले बताउँछन् । ‘त्यो बेला गाउँमा स्कुल थिएन । घरदेखि १ किमि टाढा स्कुल भएपनि स्कुल पुग्न सहज थिएन । ७ वटा कुलो र ठूलो नहर पार गर्नुपथ्र्यो । हिउँदसम्म उर्लने ती कुलोहरु पार गरेर स्कुल पुग्न गाह्रो हुने भएकोले मलाई ७ वर्षमा ज्योति प्राथमिक बिद्यालयमा भर्ना गरिएको थियो ।’

घरमा महाभारत, रामायण, कृष्ण चरित्र, गीता, गुणरत्नमाला जस्ता पुस्तकहरू पढ्ने बानीले युवराजको बौद्धिक विकासमा ठूलो योगदान पुर्‍यायो । बाआमाले सुनाउने दन्त्यकथा, लोककथा र इतिहासका कुराहरूले उनको जिज्ञासा बढाउँदै गए ।

‘हरेक रात सुत्नुअघि बाआमाले अनेकौ दन्त्यकथा, लोककथा, इतिहासका कुरा सुनाउनुहुन्थ्यो । सुन्दासुन्दै हामी केटाकेटी निदाउथ्यौ । बाआमाले भन्ने यस्ता कुराले जिज्ञासा बढाउथ्यो । अचेलका केटाकेटीले त्यस्तो सौभाग्य कहाँ पाउनु र बरै !’ उनले भने–‘सानोमा बासँग साइकलमा धेरै गाउँवस्ती घुमे । दाउरा काट्ने निहुँमा चुरेसम्मको जङ्गल चहारेँ । एसएलसी पास भएपछि बुटवल बहुमुखी क्याम्पसमा आईएस्सीमा भर्ना भएँ । कक्षामा कम र पुस्तकालयमा धेरै समय बित्थ्यो मेरो ।’

नेपाली साहित्यका अधिकांश पुस्तकहरू पढेपछि उनले कथा, नाटक र उपन्यास लेख्न सुरु गरेको बताउँछन् । आईएस्सी पछि बिएस्सीमा भर्ना भएर उनले शिक्षण क्षेत्रमा प्रवेश गरेका हुन् ।

‘त्यसबेला क्याम्पसको पुस्तकालयमा भएका नेपाली साहित्यका अधिकांश पुस्तक पढेको थिएँ । साइन्स पढ्ने मान्छेले साहित्य पढ्नमा बढी ध्यान दिएपछि पढाइ राम्रो भएन, धन्न पास भने भैयो । एसएलसी दिएपछि नै मैले कथा, नाटक र उपन्यास लेख्न शुरु गरेको थिएँ । त्यो कामले भने निरन्तरता पाइरह्यो ।’ उनले भने –‘बिएस्सी पढ्न शुरु गरेलगत्तै मैले कालिका स्कूलमा पढाउन शुरु गरेँ । घरमा एक्लो छोरो भएकोले जागिर खानैपर्ने बाध्यता त थिएन, तैपनि मैले आत्मनिर्भर बन्नको लागि शिक्षक बन्ने निर्णय गरेको थिएँ ।’

२०५३ सालमा बिएस्सी पढ्न सुरु गरेपछि युवराजले वातावरणप्रति गहिरो रुचि देखाए । नेपाल वातावरण विद्यार्थी समूहको स्थापना गरेर उनले वातावरण सम्बन्धी लेखहरू लेख्न सुरु गरेका हुन् । स्थानीय पत्रपत्रिकामा उनका लेखहरू नियमित रूपमा छापिन्थे । उनले लेखेका दुई उपन्यासहरू जनसंघर्ष दैनिकमा धारावाहिक रूपमा प्रकाशित भएका थिए ।

शिक्षण, पत्रकारिता र लेखनका साथै युवराजले इतिहास अनुसन्धानमा पनि गहिरो अध्ययन गरे । बुटवल क्षेत्रको र बुद्धकालीन समाजको बारेमा स्वअध्ययन गर्ने काम २०६० पछि सुरु गरेका उनले इन्टरनेट र विदेशी साइटबाट ऐतिहासिक सामग्री प्राप्त गरेर अनुसन्धान कार्य अगाडि बढाएको बताउँछन् ।

‘बिएस्सी पढ्न थालेपछि वातावरणप्रति रुचि राख्ने विद्यार्थीहरुले नेपाल वातावरण विद्यार्थी समूह नामक सस्था स्थापना गरेका थियौँ, त्यसले मलाई वातावरण क्षेत्रमा अघि बढ्न हौसला दियो । मैले वातावरण सम्बन्धि लेखहरु लेख्ने र स्थानीय पत्रपत्रिकामा पठाउन थाले ।’ उनले भने –‘साहित्यमा रुचि भएकोले कथा, कविता पनि लेखेर छाप्न पठाउथेँ । मैले लेखेका २ उपन्यासहरु पबि धारावाहिक रुपमा जनसंघर्ष दैनिकमा छापिएका थिए । साहित्यमा रुचि भएपनी मुलत मेरो लेखन वातावरण क्षेत्रमै रह्यो । बिएस्सीपछि लगत्तै जनसंख्या र वातावरण विषयमा स्नातकोत्तर गरेँ । मेरो मुख्य पेशा शिक्षण, प्राध्यापन बनिसकेको थियो तर लेख्न छोडिन ।’

कंडेल सानैदेखि घुमफिर गर्न रमाउने र त्यसको विषयमा केही लेखिहाल्ने गर्दथे । ‘रमाइलोको लागि भन्दा पनि नयाँ ठाउँ देख्न र नयाँ कुरा जान्न पाइने भएकोले घुम्ने मौका आउँदा सकेसम्म नछुटाउने र त्यो बानी अहिलेसम्म जारी छ’ उनी भन्छन्–‘मेरो ठाउँको इतिहास के हो ? मेरो समाजको इतिहास के हो भन्ने कुरा जान्न म लालायित हुन्थे । म जहाँ घुम्दा पनि त्यहाँको इतिहास के हो भन्ने कुरा सोधखोज गर्ने गर्दथे ।’

अहिले युवराज कंडेल शिक्षण, अनुसन्धान र लेखनमा निरन्तर संलग्न छन् । उनले २८ वर्षदेखि शिक्षण क्षेत्रमा काम गर्दै आएका छन् । उनका विद्यार्थीहरू राम्रा लेखक र अनुसन्धानकर्ता बनेर उनको शिक्षणको गुणस्तर प्रमाणित गर्छन् ।

उनलाई घरपरिवारमा नपुग्दो केही छैन तर उनको व्यस्त जीवनशैली समय नमिलेको भन्दै आलटाल गर्नेहरुलाई आश्चर्य मान्नेखालको छ ।
‘बिहान ६ देखि साँझ ४ः३० सम्म स्कूलमै पढाउछु । घर आएर घरायसी काम नभए तत्कालै अध्ययनमा बस्छु । अहिले पिएचडी चलिरहेकोले त्यसलाई पनि समय दिनुपर्छ । रातिमा कहिलेकाँही विदेशका युनिभर्सिटीमा पनि अनलाइन गेस्ट लेक्चर दिनुपर्छ ।’ उनले भने –‘अनुसन्धान सम्बन्धि काम, विभिन्न सस्थाले निमन्त्रणा दिएका कार्यक्रममा प्रस्तुत गर्ने सामग्रीको तयारी गर्ने काम पनि रातिकै समयमा गर्नुपर्छ । राती अबेरसम्म नबस्ने हो भने त यस्ता काम कसरी गर्नु ? ’

कामको योजना बनाएर काम गर्नेहो भने समय मिलाउन त्यति गाह्रो नहुने र समय नै हुँदैन भनेर पढ्न नपाएको, लेखन नपाएको विषय उनलाई हास्यास्पद लाग्दछ ।

‘मेरो रुचि थियो र छ । मेरो प्रमुख पेशा पनि हो । यसमा रमाएको छु । मैले पढाएका विद्यार्थीहरुको नतिजा अब्बल छ । मैले विद्यार्थीलाई किताबका कुरा मात्र पढाउन्न, मैले गरेका सबै कामको बारेमा उनिहरुलाई जानकारी दिन्छु संलग्न हुन प्रेरित गर्छु । मेरा धेरै विद्यार्थीहरु राम्रा लेखक पनि बनेका छन् ।’ कंडेल भन्छन्–‘२८ वर्ष भयो मैले पढाउन लागेको । कक्षा छोडेर वा लामो बिदा बसेर अध्ययन, अनुसन्धान र लेखनको काम गरेको छैन । वर्षमा बढिमा ८ दिनभन्दा बढी बिदा बसेको रेकर्ड छैन । समय ब्यवस्थापन गरेर आफ्ना काम गर्न भ्याइएको छ र शिक्षण पनि प्रभावकारी नै छ ।’

कंडेल गुगलको लेभल ९ लोकल गाइड पनि हो । ‘म जहाँ पुग्छु त्यहाको बारेमा लेखेर र तस्वीर खिचेर गुगल म्यापमा अपलोड गर्ने गरेको छु । अहिलेसम्म नेपालका ८०० भन्दा बढी स्थानको बारेमा गुगल म्यापमा जानकारी राखेको छु, जसलाई संसारभरका २ करोड ६० लाख मानिसले हेरेका छन् । यसले नेपालको समाज, स्थान र सभ्यता चिनाउन र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।’ उनले भने ।

सिक्का संकलन र हुलाक टिकट संकलन उनको उस्तै रोचक रुचि हो । १९८० यताका सिक्का र २०२० यताका टिकट उनले संकलन गरेका छन् । घरमा उनले ऐतिहासिक लाइब्रेरीजस्तै सबै सामग्री सुरक्षित राखेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्पदा पर्यटन प्रवद्र्धनमा पिएचडी गरिरका कंडेलका १६०० भन्दा बढी लेख पत्रपत्रिका र जर्नलमा प्रकाशित छन् र ती सबै लिपिवद्ध गरेर घरमा राखेका छन् ।

नेपालको इतिहास भन्दै गोर्खा त काठमाडौको मात्र, राजाहरुको मात्र इतिहास पढाएको सानैदेखि मन नपराउने उनको तर्क छ । उनी थप्छन्,’ ‘इतिहास ठाडो रेखामा मात्र हुँदैन, तेर्सो इतिहास नबुझ्दासम्म वास्तविक इतिहास बुझ्न सकिँदैन भन्ने मलाई लागिरहन्थ्यो । मैले खासगरी बुटवल क्षेत्रको र बुद्धकालीन समाजको बारेमा स्वअध्ययन गर्ने काम २०६० पछि शुरु गरेँ । उपत्यका बाहिर बसेर ऐतिहासिक सामग्री अध्ययन गर्न गाह्रो थियो ।’

उनले भने –‘विस्तारै इन्टरनेटमा ऐतिहासिक सामग्री भेटिन थाले । कोरोनाको समयमा मैले थुप्रैपटक रकम तिरेर बिदेशी साइटबाट ऐतिहासिक सामग्री प्राप्त गरेँ । केही सामग्री विदेशी मित्र र अनुसन्धानकर्मीले पठाइदिए । अहिले इतिहास अध्ययन र लेखन गर्ने थुप्रैपटक विद्वानसँग सम्पर्क छ । थाहा पाएको कुरा आदानप्रदान हुन्छ । पत्रपत्रिकामा लेख लेखेपछि पनि धेरैले आफू्सँग भएका जानकारी उपलब्ध गराउने गरेका छन् । स्थलगत अध्ययन र ऐतिहासिक सामग्री अध्ययन गरिरहँदा मलाई लाग्छ वास्तविक इतिहास त लेखिएकै रहेनछ ।’

कंडेलले पुरस्कारको लोभले लेख्नुभन्दा आफ्नो ज्ञान र अनुभवलाई अरूसँग बाँड्ने उद्देश्यले लेख्ने बताउँछन् । उनले २०५८ सालमा वातावरण बचाउ आन्दोलनले दिएको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार र हालसालै पिपि प्रसाईं फाउन्डेसनले दिएको लुम्बिनी प्रदेशको उत्कृष्ट शिक्षकको सम्मान प्राप्त गरेका छन् ।

शिक्षण, पत्रकारिता, इतिहास र पर्यटनको अथक यात्रा हो युवराज कंडेलको जीवन । उनले आफ्नो लेखन र अनुसन्धानबाट नेपाली समाजलाई नयाँ ज्ञान र दृष्टिकोण दिने काम गरिरहेको उनलाई जान्नेहरुको बुझाई छ । उनको श्रीमति विष्णुकुमारी पौडेल पनि अध्यापक नै हुन् । कानूनमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनले अर्थशास्त्र पढाउँछिन् ।

आफ्नो नियमित कामसँगै युवराजको हरेक काममा उनले सघाउँदै आएकी छन् । बुवाआमा श्रीमति र दुई छोराहरु जेठो १८ वर्ष र कान्छो ११ सहित सबै रुपन्देहीको तिलोत्तमा मै स्थायी बसोबास गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *