एक्टर टेक वान– हेर्नलायक ‘सस्पेन्स थ्रिलर’ – Nepal Press
चलचित्र समीक्षाः

एक्टर टेक वान– हेर्नलायक ‘सस्पेन्स थ्रिलर’

एक महत्वाकांक्षी युवक छ, कुशल(प्रदीप खड्का) । उसले खोजिरहेको दुईथोक छ, पैसा र प्रसिद्धी । चलचित्रको ‘सुपरस्टार’ भएर नाम र दाम कमाउने अनि विलासी जीवन बाँच्ने युवकको जीवनमा आइपर्ने प्रतिकूलताहरुको सोलोडोलो कथा हो, ‘एक्टर: टेक वन’ ।

‘सुपरस्टार’ हुने भूत सवार भएको कुशलले रंगमन्चलाई महत्वकांक्षाको भर्याङ बनाउँछ । रंगकर्ममा सक्रिय प्रकृति (आना शर्मा)सँग उसको प्रेमसम्बन्ध हुन्छ । प्रकृतिकै जोडबलमा ऊ रंगमन्चमा छिरेको हुन्छ । तर, करछली गरेर एयरपोर्टबाट सुन भित्राउने गिरोहको नजरमा पर्छ, कुशल अनि उसको महत्वकांक्षा ।

कुशललाई त्यही गिरोहले चलचित्रमा डेब्यु गराउने घोषणा गर्छ । ऊ चलचित्र खेल्न पाएर मख्खै पर्छं । भाडामा आमासँग बसिरहेको उसले अपार्टमेन्टको एड्भान्स बुझाउँछ । किस्ताबन्दीमा नयाँ गाडी लिन्छ । कहाँ सडकको कुशल कहाँ अपार्टमेन्टको एड्भान्स बुझाउने लेभलको बन्छ । स्कुटर चढ्ने कुशल गाडी चढ्न सुरु गर्छ ।

सपना पूरा हुँदै गएको उन्मादमा लठ्ठ परेको कुशललाई थाहा हुँदैन, कसरी उसलाई फसाइँदैछ । चलचित्र बनाउने भनेर निर्देशक (दिव्यदेव)ले कसरी सुनको तस्करी गरिरहेको छ, उसलाई थाहै हुँदैन । अचानक प्रहरीले रेड हानेको केही समयपछि मात्रै थाहा पाउँछ, ‘चलचित्रको आवरणभित्र सुन तस्करी भइरहेको रहेछ ।’ कुशलको डेब्यु चलचित्रको निर्देशक(दिव्यदेव) हिरासतमा जाकिन्छ ।

यसपछि हिरासतमा रहेका निर्देशकलाई छुटाउन कुशलले गर्ने प्रयत्नहरु नै चलचित्रको मूलकथा हो । निर्देशकलाई हिरासतबाट छुटाएर ‘हिरो’ बन्ने सपना देखेको ऊ विस्तारै सोच्दै नसोचेको समस्याहरुमा फस्दै जान्छ । प्रेरणा (दिव्य रायमाझी)लाई पट्याएर मुख्य तस्कर (राजबल्लभ कोइराला)सम्म पुगेर निर्देशकलाई छुटाउन कुशलले गर्ने कसरत वरिपरि चलचित्र घुमेको छ ।

चलचित्रमा अभिनय गर्ने सपना देखेका कुशलले निर्देशकलाई हिरासतबाट छुटाउन वास्तविक जीवनमा अभिनय गर्नुपर्ने हुन्छ । त्यो अभिनयमा दुई प्रेमिका प्रकृति र प्रेरणाले ट्वीस्ट ल्याउँदै जान्छन् । ट्वीस्ट थाहा पाउन हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

‘एक्टर: टेक वन’लाई धानेकै ‘सरप्राइज ट्वीस्ट’ हरुले हो । दर्शकलाई ‘सरप्राइज सस्पेन्स’ पस्कँदै चलचित्र अगाडि बढ्छ । दर्शकलाई हलमा बाँधिरहने मुख्य तत्व नै ‘सरप्राइज सस्पेन्स’ हो ।

यदि तपाईं थ्रिलर फिल्मको पारखी हुनुहुन्छ भने ‘एक्टर ः टेक वन’ हेर्दा हुन्छ । तर, चलचित्रको क्लाइमेक्स चाहीँ ‘प्रिडिक्टेबल’ छ । कुशलले ल्याउने क्लाइमेक्स नयाँ र सरप्राइज लाग्दैन । र पनि चलचित्र हेर्नलायक छ ।

चलचित्रको सुन्दर पक्ष चाहीँ यसको सम्पादन हो । दर्शकलाई बोर नहुने गरी निमेष श्रेष्ठले चलचित्रको सम्पादन गरेका छन् । ब्याकग्राउण्ड म्युजिकले निराश बनाउँदैन । अनि प्रदीप खड्काको अभिनयले पनि दर्शकलाई थप उत्साहित बनाउँछ । खड्काले क्रमिक रुपमा अभिनयमा निखारता ल्याउँदै गएको प्रमाण पनि हो, ‘एक्टर ः टेक वन’ । चलचित्रमा खड्काले सामान्य युवकको अभिनयदेखि सांकेतिक भाषासमेत बोल्छन् । अप्ठ्यारोमा परेको पात्रदेखि कथाको क्लाइमेक्स आफ्नो हातमा लिने पात्रसम्मको अभिनय छ ।

भनिन्छ, सपना देख्नलाई पनि आधार चाहिन्छ, जुम्लाको दुर्गम गाउँमा हुर्किएको बच्चाले रोबोटसँग खेल्ने सपना देख्न सक्दैन । किनभने उसले रोबोट नै देखेको हुँदैन । त्यस्तै चलचित्रमा कुशल त्यति धेरै महत्वकांक्षी हुनुमा केही न केही आधार निर्देशक राजन भुसालले देखाइदिएको भए कथा अझैं विश्वसनीय हुन्थ्यो । आमासित कोठा भाडामा बसिरहेका कुशल के कारणले त्यतिधेरै महत्वकांक्षी भयो ? केही न केही कारण देखाइदिएको भए गज्जब हुन्थ्यो ।

आना शर्माको अभिनय ठिकठाक छ । चलचित्रमा रंगकर्मीकै भूमिकामा रहेकी उनको अभिनय निकै नै शशक्त हुनुपथ्र्यो, त्यो छैन । डेब्यु अभिनेत्री दिव्या रायमाझीको अभिनय राम्रो भए पनि भूमिका सिमित छ । स्कुल गएर बच्चाहरु खेलेको हेर्नु, गिटारिस्ट बनेका कुशललाई मन पराउनु, कुशलको प्रेममा पर्नु, च्याट गर्नु, गीतमा नाच्नु ! दिव्याले निर्वाह गरेको प्रेरणा नामक पात्रको आधारक्षेत्र यति मात्रै हो । एक शिक्षित युवतीसँग सपना पनि हुन्छ । भविष्य कस्तो बनाउने भनेर तयारी पनि गरिरहेको हुन्छ । ऊ यतिकै अलमलिएर बस्दैन । प्रेरणाको सपना वा महत्वकांक्षाको कुरै गरिएको छैन चलचित्रमा । खेलौना जस्तो क्युट मात्रै देखाइएको छ ।

लामो समयपछि कमब्याक गरेका राजबल्लभ कोइरालाले मुख्य भिलेनको भूमिका निर्वाह गरेका छन् । तर, कोइरालाको भूमिका ठिकै छ । दुई युवा छोरीको पिता उनलाई यति धेरै युवा देखाइएको छ कि दर्शकलाई राजबल्लभको बुवाको अवतार अविश्वासनीय लाग्न सक्छ ।

सुशीलले पवनको भूमिकालाई न्याय गरेका छन् । अनि निर्देशक भुसालले पवनमार्फत् काम गर्ने जुनुन भएका कलाकारलाई कसरी चलचित्र क्षेत्रबाट पन्छाइन्छ भनेर देखाएका छन् । राम्रा कलाकारहरुले काम नपाएको प्रसंगहरु बेलाबेला सुनिँदै आएको छ । वा राम्रा कलाकारलाई पन्छाएर आफ्नो मान्छेलाई चलचित्रमा खेलाइएका सन्दर्भहरु नयाँ होइनन् । निर्देशक भुसालले यही विषयलाई पवनमार्फत् उठाएका छन् ।

चलचित्रको ओपनिङ पनि गज्जब छ । निर्देशककै भूमिकामा देखिएका निश्चल बस्नेतलाई पटकथाकारले कथा भन्न सुरु गरेपछि चलचित्रको सुरुवात हुन्छ । यसपछि कथाले दर्शकलाई सरप्राइज दिँदै जान्छ । ससपेन्सहरु बन्दै जान्छन्, ससपेन्सहरु खुल्दै जान्छन् । दर्शकलाई कुशल र ‘सरप्राइज ससपेन्स’हरुले बाँध्दै लैजान्छ । ‘एक्टर ः टेक वन’को बलियो पक्ष नै कथामा निहीत ट्वीस्टहरु हो ।

 


प्रतिक्रिया

One thought on “एक्टर टेक वान– हेर्नलायक ‘सस्पेन्स थ्रिलर’

  1. भाैतिक सम्पन्नता भन्दा बाैद्दिक सम्पन्नता ठुलाे भनेर फिलिममा देखाइनु पर्दथ्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर