आजबाट क्यानडा, मेक्सिको र चीनमाथि कर थोपर्दै ट्रम्प


काठमाडौं । आजबाट अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना तीन मुख्य व्यापारिक साझेदार देशमा भन्सार कर थोपर्ने भएका छन ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार उत्तरी छिमेकी क्यानडा, दक्षिणी छिमेकी मेक्सिको र मुख्य व्यापारिक साझेदार देश चीनलाई क्रमशः २५, २५ र १० प्रतिशत अतिरिक्त भन्सार कर शनिबारबाट लागू हुनेछ ।
ह्वाइट हाउसले कर लाग्नेबारेमा औपचारिक जानकारी सार्वजनिक गरिसकेको छ । क्यानडाबाट आउने तेललाई भने १० प्रतिशतमात्र कर फेब्रुअरी १८ बाट लाग्ने ट्रम्पले बताएका थिए ।
ट्रम्पले युरोपेली सङ्घलाई पनि कर लगाउने धम्की दिँदै आएका छन् । अमेरिकालाई समान व्यवहार नगरेको भन्दै ट्रम्पले यस्तो धम्की दिएका हुन् ।
गत जनवरी २० बाट कार्यकाल सुरु गरेका ट्रम्पले ‘पहिले अमेरिका’ नीति लिएर अगाडि जाने बताएका छन् ।
अवैध आप्रवासी र फेन्टानेल नामक लागुऔषध भित्रन नरोकेको भन्दै क्यानडा र मेक्सिकोलाई कर लादिएको ट्रम्पको दाबी छ । चीनलाई भने व्यापारमा अस्वाभाविक फाइदा लिएको र फेन्टानेललाई ल्याउन दिएको आरोप लगाइएको छ ।