चितवन राष्ट्रिय निकुञ्जभित्रै पश्चिमकाे गैंडा किन पूर्व सारिँदैछ ? – Nepal Press

चितवन राष्ट्रिय निकुञ्जभित्रै पश्चिमकाे गैंडा किन पूर्व सारिँदैछ ?

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सेक्टरमा गैंडाको जनसङ्ख्या धेरै भएपछि त्यसलाई व्यवस्थित गर्न आजदेखि गैंडा पूर्वी सेक्टर सार्न थालिएको छ । तीन वर्षअघि विभागले गैंडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा गैडाको बासस्थान र जनसंख्याको चाप अध्ययन गर्न अध्ययन टोली गठन गरेको थियो ।

उक्त टोलीले गरेको अध्ययनले पूर्वी सेक्टरमा गैंडाको संख्या घटेको र निकुञ्जमा भएमध्ये ६० प्रतिशत सङ्ख्या पश्चिम सेक्टरमा रहेको निष्कर्ष निकालेको थियो । सोही कारणले गैंडाको बासस्थानमा जनसंख्या असन्तुलित रहेको र मानव-गैंडा द्वन्द्वसमेत बढेको अध्ययन टोलीको निष्कर्ष थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको उक्त अध्ययन टोलीले जनसंख्या सन्तुलन गर्न १० वटा गैंडा पूर्वी सेक्टर सार्न सुझाव दिएको थियो । सोही सुझावअनुसार १० मध्ये ६ वटा गैंडा गत वर्ष नै पूर्वी सेक्टरमा सारिएको थियो ।

आज सुरु भएको आन्तरिक स्थानान्तरण प्रक्रियाअनुसार ४ वटा गैंडा पूर्वी क्षेत्रमा लगेर छोडिनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार भाले र पोथी गरेर दुई-दुई वटा गैंडा स्थानान्तरण गरिनेछ ।

निकुञ्जको पूर्वी क्षेत्रमा गैंडाको उपयुक्त बासस्थानमा ह्रास हुँदै गएको कारण गैंडा पश्चिम सेक्टर सरेको अनुमान गरिए पनि पश्चिम क्षेत्रका स्थानीयले भने गैंडा स्थानान्तरणको विरोध गर्दै आएका छन् ।

तर पूर्वी क्षेत्रमा लगिएको गैंडा पुनः पश्चिममा फर्किए नफर्किएको अध्ययन भने यसअघिको स्थानान्तरणमा गरिएको छैन । प्रमुख संरक्षण अधिकृत डा. पन्तका अनुसार अहिले ठाउँ सारिने चार वटै गैंडाको हिँडडुल अनुगमन गर्न रेडियो कलर जडान गरिन्छ ।

‘यसअघि स्थानान्तरण गरिएको गैंडा पूर्वी सेक्टरमा छ वा छैन, हामीले लोकेट मनिटरिङ गर्न सकेका छैनौं । त्यसैले अहिले स्थानान्तरण गरिने गैंडाको मुभमेन्ट मनिटरिङ गर्न रेडियो कलर जडानको तयारी गरेका छौं’, उनले भने ।

आज गैंडा पूर्वी सेक्टर लैजान पूर्वी नवलपरासीको अमलटारी क्षेत्रका गैंडालाई डार्ट गर्न निकुञ्ज तथा विभागका तालिम प्राप्त प्राविधिक खटिएका छन् । प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट गैंडा स्थानान्तरणको तयारी सुरू गरेको उनले बताए ।

निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरेर गैंडालाई पूर्वी क्षेत्रमा लगिनेछ । पूर्वतर्फ लगिएका गैंडाले पूर्वी क्षेत्रमा नै प्रजनन् गरी सङ्ख्या बढाऊन् भन्ने उद्देश्यले वयस्क गैंडा लगिने निकुञ्जले जनाएको छ ।

आज थालिएको स्थानान्तरण प्रक्रियामा पहिले गैंडाको बासस्थान आसपास निगरानी गरिन्छ । त्यसपछि उपयुक्त उमेर समूहका गैंडालाई डार्ट गरेर पूर्वी क्षेत्रमा लगिने उनले जानकारी दिए ।

तर यति नै दिनमा गैंडा स्थानान्तरण सकिन्छ भन्ने यकिन नभएको प्रमुख संरक्षण अधिकृत डा. पन्तले बताए ।

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैंडा रहेका छन् । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६९४ गैंडा छन् । बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *