आइएमई ग्रुपको लगानीमा बागलुङमा सञ्चालनमा आयो इला कम्फोर्ट होटल


काठमाडौं । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक कार्यक्रमबीच इला कम्फोर्ट होटलको सेवा सञ्चालन उद्घाटन गरेका छन् ।
उक्त अवसरमा मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए ।
उनले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवर्द्धन गर्न सरकार दृढरहेको उल्लेख गरे ।
गण्डकी प्रदेशका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपले मुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागिआह्वान गरे ।
आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सात वटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको उनको भनाइ छ ।
‘पर्यटन र जलविद्युत क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्याउने भएकाले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौं’, अध्यक्ष ढकालले भने ।
कार्यक्रममा संघीय सांसदहरु दीपक गिरी, जीवन परियार, बागलुङ नगरपालिकाका मेयर वसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बागलुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गरे ।
करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने आइएमई ग्रुपले विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको होटलमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइट र एक विशेष पेन्टहाउससहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठा रहेको कम्पनीले जनाएको छ ।
होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एन्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्डमात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताए ।
‘इला कम्फर्ट बागलुङमा हामी केवल कोठाहरू प्रदान गर्दैनौं’, उनले भने, ‘हामी हाम्रा पाहुनाहरूलाई उनीहरूको प्रस्थानपछि पनि
लामो समयसम्म सम्झनलायक क्षणहरू सिर्जना गर्नेछौं ।’
उनका अनुसार पोखरा विमानस्थलबाट १.५ घण्टाकोदूरीमा अवस्थित, पोखरा र बागलुङबीच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकाले होटल आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुको लागि सुविधाजनक पहुँचमा रहेको छ ।
इला कम्फर्ट बागलुङले इला ब्रान्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको उनको भनाइ छ ।
नवलपरासीको गैंडाकोटमा इला होटल सुरु गर्ने तयारी भइरहेको र नेपालका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना रहेको प्रमुख ढकालले बताए ।