झापाबाट सुरु हुँदै माओवादीको हुलाकी मार्ग केन्द्रित ६ महिने अभियान


विराटनगर । नेकपा माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित ६ महिने अभियान झापाबाट फागुन ३ गते सुरु गर्ने भएको छ । माओवादीले झापाको कचनकवल गाउँपालिकाबाट हुलाकी राजमार्ग केन्द्रित ६ महिने अभियान सुरु गर्ने भएको हो ।
कचनकवलबाट सुरु भएको अभियान महाकाली हुँदै मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा पुगेर सम्पन्न हुने माओवादी केन्द्र झापाले जनाएको छ ।
माओवादी केन्द्र झापाको शुक्रबार सम्पन्न पाँचौं पूर्ण बैठकले अभियानका लागि कार्य विभाजनसमेत गरेको छ । पार्टीका जिल्ला सचिव मोहन टुडूका अनुसार अभियानका क्रममा कार्यकर्ता परिचालनदेखि गाउँ/नगर अधिवेशनसमेत सम्पन्न हुनेछ ।
बैठकमा बोल्दै पार्टीका उपमहासचिव तथा प्रदेश इन्चार्ज हरिबोल गजुरेलले पार्टीलाई मजबुत बनाउन नेता कार्यकर्ता रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
उनले पार्टी कमजोर हुनुमा नीतिगत त्रुटि मुख्य कारण रहेको बताउँदै सुधारात्मक अन्तरविरोध आवश्यक रहेको बताए ।
पार्टीका केन्द्रीय सदस्य धर्मशीला चापागाईंले पार्टीले पूर्वी क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने माग गरिन् ।
अर्का केन्द्रीय सदस्य इन्द्र आङ्बोले पछिल्लो समय माओवादी पार्टीप्रति जनाधार बढेको दाबी गर्दै उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।