‘सिरियल किसर’ उदितनारायण ! प्रख्यात गायिकाहरुलाई पनि चुम्न बाँकी राखेनन्


काठमाडौं । बलिउडमा एक भलादमी र सरल स्वभावका गायकको रुपमा परिचित थिए उदितनारायण झा, तर भर्खरैको एउटा स्क्यान्डलले उनको यो छविमा गम्भीर क्षति पुगेको छ ।
उदितले कन्सर्टमा गीत गाउने क्रममा फ्यानहरुलाई चुम्बन गरेको भिडिओ भाइरल भएसँगै उनी विवादित बनेका हुन् । यो स्क्यान्डलमा उनले दिएको प्रष्टीकरण झनै चित्तबुझ्दो छैन । उदितले गल्ती महसुस गर्नुको साटो आफ्नो बचाउ गर्न खोजेका छन् । यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।
एक अन्तर्वार्तामा उदित भन्छन्, ‘फ्यानहरु दिवाना हुन्छन् । हामीले उनीहरुलाई खुशी पार्नुपर्छ । अन्यथा हामी त्यस्तो खालका मान्छे होइनौं ।’
उदितको यो प्रष्टीकरणमा थप आलोचना खेप्नु परिरहेको छ । यद्यपि कतिपय फ्यानहरु उनको बचाउमा पनि उभिएका छन् । सुरुमा युवतीले किस गरेको र उदितले जवाफमात्रै फर्काएको उनीहरुको भनाइ छ ।
बलिउडमा लामो करिअर भए पनि उदित अहिलेसम्म यस्तो खाले विवादमा मुछिएका थिएनन्, तर उनले अरु युवतीलाई सार्वजनिक रुपमा चुम्बन गरेको भने यो पहिलो पटक होइन । उनले नाम चलेका गायिकाहरुलाई स्टेजमै चुम्बन गरेका छन् । ती पुराना भिडिओका फोटोहरुलाई जोडेर सामाजिक सञ्जालमा उनलाई ‘सिरियल किसर’ वा ‘उदित हासमी’ को उपमा दिन थालिएको छ ।
एक पटक उदितले इन्डियन आइडलको मञ्चमा नै समकालीन गायिका अल्का याग्निकलाई किस गरेका थिए । स्टेजमा गीत गाइरहेकी अल्का अचानक उदितले आएर गाला चुमेपछि स्तब्ध बनेकी थिइन् । त्यसो त उदितले अल्कालाई विभिन्न स्टेज शोका क्रममा पनि कहिले हातमा त कहिले गालामा म्वाइ खाने गरेका छन् । अल्कासित उनी निकै फ्लर्ट पनि गर्छन् । आफ्नो गायन करिअरमा उदितले सबैभन्दा बढी गीत अल्कासँगै गाएका थिए । उनीहरुका सयौं गीत हिट छन् ।
अर्को एक घटनामा उदितले नयाँ पुस्ताकी गायिका श्रेया घोषाललाई त्यस्तै हर्कत गरे । त्यो पनि एउटा अवार्ड समारोहमा, जहाँ बलिउडका दिग्गज हस्तीहरु थिए । श्रेयाले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी थिइन् । मञ्चमा अवार्ड दिन उभिएका थिए उदितनारायण र अभिनेत्री मलाइका अरोरा । श्रेया अवार्ड लिन आइन् । स्टेजमा उक्लेपछि उदितले उनलाई ‘हग’ गरे । त्यसपछि अचानक गालामा म्वाइ खाइदिए । भरिभरिभराउ हलमा सिनियर गायकले यसरी गाला चुमेपछि श्रेयाले अप्ठेरो मानेकी थिइन् ।
उमेरले ६९ वर्षमा हिँडिरहेका छन् उदित । उनले दुई विवाह गरेका थिए । पहिलो विवाह रञ्जना झासित र दोस्रो दीपा गहतराजसित गरेका हुन् । उदितको गायन करिअरमा दीपाको ठूलो हात छ ।
उदित नेपाली हुन्, तर भारतमा उनी आफूलाई नेपाली भनेर चिनाउन चाहँदैनन् । उनले आफू भारतको बिहारमा जन्मेको बताउने गरेका छन् । नेपालमा आउँदा भने उनी नेपाली नै हुँ भन्छन् ।