‘कवि’ राजबल्लभ : छोरीलाई कवितोपहार !

काठमाडाैं । ‘कविता लेखन तपाईंको रहर हो कि प्यासन ?’
भर्खरै ‘औरा’ कविता संग्रह बजारमा ल्याएका कवि तथा कलाकार राजवल्लभ कोइरालालाई सोधियो । उनी फिस्स हाँसेर बोले, ‘सायद प्यासन हो । रहर गरेरमात्रै त कविता लेख्न गाह्रो छ ।’
थपे, ‘जीवनलाई, जगतलाई, दिमागलाई, आत्मालाई, खुसीलाई, आँसुलाई, प्रेमलाई, सम्बन्धलाई कसरी सोच्दो रहेछु त ? त्यसैको प्रमाण हो औरा ।’
पर्खी बसेँ
दुई दशकअघि फर्कने हो भने राजबल्लभ रेडियो जक्की थिए ।
पोखरा एफएममा कार्यक्रम चलाउँथे । आरजेको रुपमा भविष्यको बाटो पहिल्याउन खोजिरहेका थिए । यद्यपि उनलाई पोखराको रेडियो स्टेसन अलिकति सानो लागिरहेको थियो । उनलाई अझै ठूलो क्यानभास चाहिएको थियो, जहाँ उनको सप्तरंगी सपनाको इन्द्रेणी बनोस् । उनलाई अझै ठूलो आकाश चाहिएको थियो, जहाँ चम्किला तारा जस्ता उनका सपनाहरु सधैं झिलमिलाइरहोस् । उनलाई अझै ठूलो राजमार्ग चाहिएको थियो, जहाँ उनको सपनाको लरी निर्वाध रुपमा हुइँकियोस् ।
एक दिनको कुरा हो ।
अहिलेको ओस्कर कलेजमा चलचित्रको पढाइ सुरु हुँदै थियो । चलचित्रकर्मी नीर शाह कलेजको प्रचारका लागि पोखरा आइपुगे । चलचित्र किन पढ्ने ? सविस्तारमा बताए । चलचित्र पढेर के हुन्छ ? विस्तृतमा खुलाए । अनि त के चाहियो !
राजबल्लभको सपनाको चङ्गाले पोखराको आकाश छाडेर काठमाडौंको आकाशमा कावा खान थाल्यो ।
ओस्कार कलेजको पहिलो विद्यार्थी बनेर भर्ना भए । उनका साथीहरु थिए, ‘बुलबुल’ निर्देशक विनोद पौडेल । अहिलेका कलेजका प्रिन्सिपल रामराजा प्रसाद दाहाललगायत ।
राजबल्लभले कलेज पढे । सँगै विज्ञापनहरु, म्युजिक भिडियोहरुमा पनि काम गरे । अनि २०६४ सालमा चलचित्रमा डेब्यु गरे, ‘पर्खी बसेँ’मार्फत । प्रेमकथामा आधारित यो चलचित्र ब्लकबस्टर बन्यो । म्युजिक भिडियोहरुमा रुमल्लिएका राजबल्लभ हजारौं दर्शकसम्म पुगे । यसपछि त के चाहियो ! उनको जीवनको कोर्स नै बदलियो ।
केही समयअघिको आरजे स्टार बने । स्टार बनेपछि उनका सोचाइहरु बदलिए । भोगाइहरु बदलिए । बुझाइहरु बदलिए । ‘औरा’ तिनै बदलिएका सोचहरुको काव्यिक दस्तखत हो राजबल्लभको ।
उनी थप बोल्छन्, ‘औरा मेरा भोगाई र संवेदनाहरुको संग्रहित अभिव्यक्ति हो ।’
‘सबै कुरा समय रहेछ’
सन् २०१० को कुरा हो, चलचित्रको सुटिङका क्रममा उनी घाइते भए ।
फाइटरको घुँडाले लागेर उनको देब्रेतिरको गालाको हड्डी भाँचियो । उनले म्याक्सिलो फेसियल सर्जरी गर्नुपर्याे । उनको गालामा अहिले पनि टाइटानियम छ ।
‘धन्न एउटा प्रविधिले गिँजाभित्रबाट सर्जरी गर्दोरहेछ । बाहिरबाट गरेको भए त म के हुन्थेँ होला’, राजबल्लभ नोस्टालजिक हुन्छन्, ‘अनुहार नै ड्यामेज भएपछि त म के हुने होला ! मानसिक रुपमा एकदमै गाह्रो भएको थियो । अलिकति पैसा कमाएको थिएँ, त्यो पनि सकियो । कति धेरै तनावमा गएको थिएँ ।’
उपचारपछि पनि राजबल्लभले चलचित्रमा काम गरे । अलिपछि अमेरिकातिर हान्निए ।
अनि लामो समयपछि कमब्याक गरे ‘एक्टर: टेक वन’ मार्फत । यो कमब्याकले उनलाई नोस्टाल्जिक बनाइरहेको छ । विगत सम्झाइरहेको छ । संघर्ष र सफलता सम्झाइरहेको छ । आरजेबाट हिरो हुनु, त्यो पनि कसैको पछाडि नदौडिकन, लगानी नगरिकन । ‘पर्खी बसेँ’ सफल हुनु सपना जस्तो लाग्छ । यो चलचित्र आफूले पाएको सबैभन्दा ठूलो उपहार लाग्छ उनलाई ।
अहिलेको चल्तीका अभिनेता प्रदीप खड्कासँग कमब्याक गरेका राजबल्लभलाई प्रदीपको पुस्ताले पाएको सफलता, क्रेज देख्दा कस्तो लाग्छ ?
‘सबै कुरा समय रहेछ । युवा अवस्थामा हुँदाको हजुरबाको फोटो, बुवाको फोटो र हाम्रो फोटो हेर्दा के लाग्छ भने उमेर त त्यही हो, तर समय र अवस्थाले कत्ति धेरै फरक बनाउँदो रहेछ । कत्तिधेरै रुपान्तरण गर्दोरहेछ । प्रदीपहरुलाई हेर्दा उनीहरु अहिलेको समय सुहाउँदा छन्, हिजोको समय सुहाउँदो हामी थियौं’, उनी भन्छन्, ‘हिजोको समयको युवाको प्रतिनिधि भएर हामीले काम गरेका थियौं । स्रोतसाधनले जति भ्याउँथ्यो, गरेकै हो । दर्शकले माया गर्नुहुन्थ्यो । सबै कुरा समय रहेछ ।’
कवितासँगको सत्संग
राजबल्लभ सानैदेखि कविता लेख्थे ।
विद्यालयमा हुने प्रतियोगिताहरुमा भाग लिइरहन्थे । जिल्लास्तरीय प्रतियोगितामा पनि भाग लिन्थे । अलि पछि रोबर्ट फ्रस्टदेखि सेक्सपियरसम्म, खलिल जिब्रानदेखि रुमीसम्म पढे । लेखनाथ पौड्यालदेखि भूपि शेरचनसम्म पढे, तर कविताप्रति राजबल्लभको आफ्नै खाले बुझाइ छ । उनको बुझाइले भन्छ, ‘कविता दृष्टिकोण हो । कहिलेकाहीँ दुई लाइनमात्रै पढेर हामी गहिरो सोचमा पुग्छौं । कविताले गहिराइ महसुस गराउनुपर्छ वा गहिराइ महसुस गर्ने वातावरण बनाइदिनुपर्छ ।’
‘कविताले मनलाई छुनुपर्छ’, राजबल्लभ थप बोल्छन्, ‘कविताको गहिराइ र प्रसंगले ल्याउने तरंग नै कविता हुन् जस्तो लाग्छ । जिन्दगी हात्ती हो भने हामी सिर्फ दृष्टिविहीन हौं । हामीले जिन्दगीलाई जति छोएका छौं, जति जिएका छौं, त्यहीअनुसार नै धारणा बनाउने हो । त्यो धारणाको काव्यिक अभिव्यक्ति नै कविता हो ।’
दिमाग र शरीरलाई शीतलता प्रदान गर्ने सम्बन्धहरु
राजबल्लभको कविता लेखनको प्रमुख स्रोतमध्ये एक स्रोत हो, नोस्टाल्जिया ।
उनी अमेरिकाबाट जबजब काठमाडौं सम्झिन्छन्, तबतब यहाँको माहाेल सम्झेर नोस्टाल्जिक हुन्छन् । जबजब काठमाडौं सम्झिन्छन्, तबतब यहाँको माटो र हावाको सुवास सम्झेर नोस्टालजिक हुन्छन् । उनका लागि काठमाडौं घरको त्यो भर्याङ हो, जुन भर्याङमा बत्ती निभ्दा पनि अँध्यारोमा मज्जाले उकालो-ओरालो गर्न सकिन्छ ।
उनी जबजब काठमाडौं सम्झिन्छन्, तबतब एक चिरपरिचित चेहरा उनको स्मृतिमा आइपुग्छ । त्यो चेहरा हो, आइसफल प्रोडक्सनका रामकृष्ण पोखरेलको । उनी राजबल्लभको चलचित्र पढ्दादेखिका साथी हुन् ।
मान्छेले जहाँ गयो, त्यहाँ आफ्नो सर्कल बनाउँछ । जस्तो वातावरणमा पुग्यो, त्यस्तै वातावरणमा रमाउन थाल्छ । जस्तो खानेकुरा खान थाल्यो, त्यसकै स्वादमा अलमलिन थाल्छ, तर पृथ्वीको जुन कुनामा पुगे पनि उनी रामकृष्णलाई बिर्सन सक्दैनन् । यसको एउटा कारण हो, उनीहरुबीचको विश्वास ।
‘जिन्दगी र परिवारको बारेमा जुन साथीसँग निर्धक्क भएर आफू साँच्चिकै आफैं जस्तो हुन पाइन्छ, जुन साथीले आफूलाई जज गर्दैन, तिनै साथीसँग जहाँ पुगे पनि सम्बन्ध उस्तै हुने रैछ’, राजबल्लभ खुल्दै जान्छन्, ‘मैले धेरै साथी बनाइनँ । थोरै बनाएँ, तर जीवनभर काम लाग्ने साथी बनाएँ ।’
पोखरामा छँदाका उनका साथीहरु गौतम उदास, सुधीर थापा, विनोद बानियाँहरुलाई अहिले पनि सम्झिरहन्छन् ।
राजबल्लभ भन्छन्, ‘सम्बन्ध भनेको एउटा चिनारी हो । राम्रो सम्बन्धले दिमाग र शरीरलाई शीतलता प्रदान गर्छ । सकारात्मक ऊर्जा दिन्छ ।’
छोरीका नाममा कविता संग्रह
राजबल्लभले छोरीकै नाममा कविता संग्रह ल्याए, ‘औरा’ ।
किन ?
‘हाम्रो जिन्दगी एउटा बिन्दुबाट सुरु हुन्छ । अनि जीवनको गोलाइमा सार्थकता पाउन अभिभावक हुनैपर्ने रहेछ । छोरी जन्मिएपछि मैले महसुस गरेको कुरा हो । संसारमा सबैभन्दा बढी माया त सन्तानलाई गरिने रहेछ’, राजबल्लभ सुनाउँछन्, ‘अनि मैले छोरीलाई उपहार दिनु थियो, ‘औरा’ त्यही उपहार हो । यद्यपि छोरी त बहानामात्रै हो, मलाई माया दिनुहुने पाठकहरुलाई शब्दहरुको गुच्छा बनाएर टक्राएको संग्रह हो यो ।’
उनी थप बोल्छन्, ‘मैले भोगेको जीवनको दस्तावेज पनि हो यो किताब । म कस्तो सोच्दोरहेछु, त्यसको प्रमाण पनि हो ।’
अनि भर्खरै पाँच वर्ष टेकेकी छोरीलाई राजबल्लभको सन्देश छ-
‘परिवार भनेको धेरै महत्वपूर्ण हुन्छ छोरी । राम्रा साथीहरुको पनि महत्व हुन्छ जिन्दगीमा । अनि जो साथीसँग हामी घुलमिल हुन्छौं, त्यो साथीले जिन्दगीमा प्रभाव पारेको हुन्छ । त्यसकारण जहिल्यै पनि असल साथीहरु र असल मान्छे आफ्नो वरिवरि राख्नू ।
संसार प्राकृतिक हिसाबले धेरै सुन्दर छ, तर पनि जनावरहरुले संसारलाई डरलाग्दो बनाएको छैन, मानवले नै बनाएको छ । त्यसकारण ती खराब इनर्जी भएका मानवभन्दा पर रहनू । मुख्य कुरा भनेको असल हुनु, त्यो दयालुपन र करुणापन कहिल्यै पनि नगुमाउनू । त्यसलाई पैसा पर्दैन । दयालु हुनलाई, कसैसँग मीठो बोल्नलाई, कसैलाई राम्रो भन्नलाई आफूले धेरै खर्चिनु नै पर्दैन ।
आफ्नो संघर्ष छँदैछ । अनि इटस् ओके टु बी फेल । कहिलेकाहीँ हामी असफल हुन्छौं । त्यो स्वाभाविक हो । प्राकृतिक हो । अनि जिन्दगीमा सबै चिज जित्नैपर्छ भन्ने पनि छैन । जिन्दगीमा सबै चिज हुनैपर्छ भन्ने पनि छैन । जिन्दगीमा सधैं फस्ट नै हुनुपर्छ भन्ने पनि छैन । अभ्यास हो जिन्दगी । जिन्दगीको ब्ल्यूप्रिन्ट लेखेको हुँदैन । जिन्दगीको स्क्रिप्ट फिल्मको जस्तो बनेको हुँदैन । सिक्दै जाने हो, गर्दै जाने हो । फेल पनि भइन्छ, तर आफ्नो फोकस कहिल्यै पनि नगुमाउनू । अनि म एकदमै माया गर्छु तिमीलाई ।’