महिला क्रिकेट टीममा कता-कता भ्वाङ ?

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई सिरिजमा नेपालले लगातार पाँचौँ हार व्यहोरिसकेको छ । त्रिवि क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्स र थाइल्यान्डसँगको सिरिजमा नेपालले हालसम्म कुनै पनि खेलमा जित निकाल्न सकेको छैन ।
घरेलु मैदानमा लगातार हार बेहोर्दा नेपाली टोली आलोचित पनि बन्न पुगेको छ । नेदरल्याण्ड्स र थाइल्यान्ड तुलनात्मक रूपमा नेपालभन्दा बलिया राष्ट्र हुन् । घरेलु मैदानमा नेपालले दुवै राष्ट्रलाई कडा टक्कर दिने आशा थियो । तर फिनिसिङ र फिल्डिङमा चुक्दा नेपाल जित नजिक पुगेर पनि हारको शिकार बनिरहनु परेको छ ।
नेपाली टोलीभित्र अन्तरविरोधका संकेतहरु पनि देखिएका छन् । केही दिनअघि टोलीकी कप्तान इन्दु बर्माले नेपाली टिमको सुधारका लागि विदेशी प्रशिक्षक ल्याउनुपर्ने बताएकी थिइन् ।
त्यसको केही दिनपछि प्रशिक्षक मनोज कटुवालले काउन्टर जवाफ दिए । उनले अहिले नै विदेशी प्रशिक्षक खोज्नुभन्दा खेलाडीले मिहेनत गर्नुपर्ने बताए । ‘आफू घरमा सुतेर खाएर बस्ने, यहाँ आएपछि विदेशी कोच खोज्ने ?’ मिडियासँग उनी जंगिएपछि तरंग उब्जिएको छ ।
यसबाट अड्कल लगाउन सकिन्छ कि खेलाडी र प्रशिक्षकबीच समुधर सम्बन्ध छैन भनेर । यसअघि पनि यस्ता घटना टोलीभित्र घटेका थिए । गत साउनमा भएको एसीसी महिला एसिया कप क्रिकेटमा एक सिनियर खेलाडीसँग प्रशिक्षक कटुवालको चर्काचर्कीसमेत परेको थियो । बेलाबखत केही खेलाडीसँग उनको बोलचालसमेत बन्द हुने गरेको छ ।
पाँचौँ खेलमा अर्धशतक प्रहार गरेकी पूजा महतोले म्याचपछि असन्तुष्टि पोख्दै भनिन्, ‘कतिपय क्याच लिन फिल्डरहरुले प्रयास नै गरेनन् ।’
उनको यो अभिव्यक्तिले खेलाडीहरुबीच पनि केही न केही समस्या देखिन्छ ।
अलराउन्डरको थुप्रो
बुधवार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित हुन पुग्यो । १ सय ४५ रन बनाएको नेपालले नेदरल्यान्ड्सको एक विकेट पनि झार्न सकेन । उक्त खेलको प्लेइङ–११ को टोलीमा दुई जना मात्रै ‘खाँट्टी बलर’ थिए । यही सिरिजमा डेब्यु गरेका रचना चौधरी र मनीषा उपाध्याय मुख्य बलरको रूपमा टोलीमा थिए ।
टोलीमा ५ जना अलराउन्डर छन् । कप्तान इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर, कविता जोशी र पूजा महतो अलराउन्डर सबै हुन् । ब्याटिङ र बलिङ दुवै यिनीहरूकै वरपर घुमिरहेको छ । एक दशकदेखि रुविना, सीता र इन्दु एक दशकदेखि नेपाली क्रिकेटमा छन् । पूजा र कविता नयाँ हुन् ।
नेदरल्यान्ड्ससँग १० विकेटले हार्दा स्पेसलिस्ट बलरले ६ ओभर मात्र बलिङ गर्न पाए । बाँकी सबै ओभर कप्तान इन्दुले अलराउन्डरलाई सुम्पिइन् । यो मात्रै होइन अधिकांश खेलमा बलरले आफ्नो स्पेल पूरा गर्न पाएका छैनन् ।
टोलीमा अलराउन्डर धेरै हुँदा कप्तान नै अल्मलिएको प्रतित हुन्छ । खेलाडीले आफ्नो जिम्मेवारी के हो भन्ने सम्झिनसमेत सकेका छैनन् ।
२००७ सालदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका रुविना, सीता अहिले पनि टोलीको मुख्य भूमिकामा छन् । बलिङ र ब्याटिङ दुवैमा उनीहरू नै हाबी हुने गरेका छन् ।
पहिलो खेलमा ओपनिङ खेलेकी सीतालाई त्यसपछिका खेलमा तल्लो क्रममा झारिएको छ । उनले दोस्रो खेलमा नवौं र तेस्रो खेलमा आठौं स्थानमा ब्याटिङ गरिन् । पाँचौँ खेलमा उनको ४ विकेट झर्दासम्म पालो आएको थिएन । उनले लामो समयदेखि नेपाल ओपनिङ अथवा टप अर्डरमा खेल्दै आएकी थिइन् ।
ब्याटिङका लागि खेलिरहेका विन्दु रावल र रोमा थापाले पनि तल्लो क्रममा मात्र ब्याटिङको अवसर पाएका छन् । कप्तानले ७ बलरहरु प्रयोग गर्दा पनि आवश्यक परेको बेला विकेट आइरहेको छैन ।
नेपाली महिला टोलीको सबैभन्दा ठूलो चिन्ता हो, फिटनेस । महिला टोलीको खेलमा सदैव फिटनेसको अभाव खड्किराखेको हुन्छ । यु–१९ महिला टी–२० विश्वकपको पहिलो खेलमा नेपालका ५ ब्याटर रन आउट भएका थिए । फिटनेस नहुँदा क्याच छुट्नेदेखि एक–दुई रनमा रोक्न सकिने बलसमेत बाउन्ड्री भएका छन् ।
यो सिरिजमा पनि नेपाल फिल्डिङमा चुकिरहेको छ । हारपछि कप्तान इन्दुले बलिङ र फिटनेस राम्रो नरहेको स्वीकार गरेकी थिइन् । प्रशिक्षक कटुवालको पनि राय यही नै छ । तर, नेपाल क्रिकेट संघ (क्यान) ले फिटनेस प्रशिक्षकको व्यवस्था गर्न सकेको छैन ।
नेदरल्यान्ड्स र थाइल्यान्ड दुवै राष्ट्र वरियतामा नेपालभन्दा माथि छन् । आइसीसी महिला टी–२०आई वरियतामा नेपाल २०औँ, थाइल्यान्ड १३औँ र नेदरल्यान्ड्स १६औँ स्थानमा छन् । नेपालले यी राष्ट्रविरुद्ध कहिले पनि जित निकाल्न सकेको थिएन ।
थाइल्यान्डसँगको पछिल्ला ३ भेटमा नेपाल पराजित भएको थियो । सन् २०१९ मा भएको दुई भेटमा ७० र ५७ रनले हारेको नेपालले यसपाली भने अन्तराल अलि साँघुरो बनाएको छ । नेदरल्याण्ड्ससँग भने नेपालले पहिलो पटक यही सिरिजमा खेलेको थियो ।