अन्तरजातीय जोडीमाथि अत्याचार भएको भन्दै गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न सांसदको माग (भिडिओ)


काठमाडौं ।
अन्तरजातीय बिवाह गर्ने जोडीलाई अत्याचार गर्ने गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न सांसदको माग (भिडिओ)
काठमाडौं । अन्तरजातीय बिवाह गर्ने जोडीमाथी अत्याचार गर्ने गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी)माथी छानविन गर्न सांसदले माग गरेका छन् । प्रतिनिधिसभा शुक्रबारको बैठकमा शून्य समयमा बोल्ने सांसदले अन्तरजातीय विवाह गरेका सत्यन्द्रकुमार राम र नेहा रौनियारमाथि गृहमन्त्री र आईजीपीकै निर्देशनमा अत्याचार भएको भन्दै उनीहरुमाथी छानविन गर्न माग गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र आईजीपी वसन्तबहादुर कुँवरमाथि छानबिनको माग गरे । सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिए पनि गृहमन्त्री र आईजीपीको निर्देशनमा मुम्बईबाट पक्राउ गरेर अत्याचार गरेको विषयमा छानबिन हुनुपर्ने उनको माग थियो । उनले यो प्रकरणमा दोषीलाई कडा कारवाही गर्न संसदमार्फत ध्यानाकर्षण गराए ।
नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले पनि अन्तरजातीय विवाह गर्ने जोडीलाई अपहेलित गर्ने समाज र सरकारप्रति खेद प्रकट गदै उनीहरुको सम्मानपूर्वक बाच्न पाउने अधिकार र सुरक्षाको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराईन ।
उनले भनिन्, ‘उमेर पुगेका बयस्का नागरिकलाई आफ्नो जिवनको फैसला गर्ने अधिकार व्यक्ति स्वयमलाई हुन्छ । यो विश्वव्यापी सार्वभौम सिद्धान्त हो । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुको सट्टा अपहेलित गर्ने समाज र सरकारप्रति खेद प्रकट गर्न चाहान्छु । उनीहरुको सम्मानपूर्वक बाच्न पाउने अधिकार र सुरक्षाको ग्यारेन्टी सरकारले गरोस् ।’