फुटबलपछि खेलाडी पलायनको मारमा भलिबल

पोखरा । राष्ट्रिय टोलीकी भरपर्दाे स्पाइकर सरस्वती चौधरी विदेश भासिइन् । सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर सरस्वती केही दिनअघि मात्रै अष्ट्रेलिया पलायन भएकी हुन् । सरस्वती यसअघि केही समय अष्ट्रेलिया बसेकी आएकी थिइन् ।
पोखरामा माघ १२ देखि २० गतेसम्म भएको पाँचौं टाइगर कप भलिबल खेल्न आएकी उनी पुनः अष्ट्रेलिया फर्केकी छन् । यसअघि जाँदा एपिएफको जागिर छोडेकी थिइनन् । तर, यसपाली उनले एपीएफबाट विदा भएर त्यसतर्फ लागेकी हुन् । उनी अब नेपाली भलिबलमा सम्भवत् उपलब्ध हुने छैनिन् । नेपालको जितमा खम्बा बनेर उभिने सरस्वतीलाई नेपाली भलिबलले कति मिस गर्नेछ त्यो भोलिको दिनमा थाहा होला ।
000
राष्ट्रिय भलिबल टोलीको कप्तानबाट सन्न्यास लिएयता मानबहादुर श्रेष्ठ अष्ट्रेलियामा छन् । घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका मानबहादुर सन्न्यास लगत्तै अष्ट्रेलिया पलायन भएका थिए । सन् २०१५ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेका मानबहादुर गत वर्षको साउनमा नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका थिए । त्यसको १५ महिनामै उनले कप्तानबाट राजीनामा दिँदै अष्ट्रेलिया भासिए ।
000
केही दिनअघि पोखरामा भएको पाँचौ टाइगर कप भलिबलमा पुरुषतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) क्लब जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरियो । कारण एपीएफबाट नियमित खेल्ने खेलाडी पलायन भए । चौथो टाइगर कप खेलेका टेकराज अवस्ती, विजय थापा, लोकेन्द्र गिरी र हेमन्त मल्ल जस्ता एपिएफमा मुख्य र भरपर्दा खेलाडी पलायन हुँदा पाँचौं टाइगर कपमा उपलब्ध भएनन् ।
नयाँ खेलाडीसहित सहभागी भएको एपीएफले राम्रो नतिजा ल्याउन सकेन । एकपटक ४–५ वटा खेलाडी पलायन हुँदा टोलीलाई ठूलो घाटा लागेको एपीएफका प्रशिक्षक महेश चौधरी बताउँछन् ।
‘आर्थिक अवस्थाले गाह्रो हुन्छ । सरकारले खेलकुद क्षेत्रलाई छुट्टाउनुपर्ने बजेट छुट्याएको छैन । विभागको खेलाडी त विदेश पलायन हुनुपरेको छ । सिभिलका खेलाडीको त के होला । नेपालमै बस्न गाह्रो हुन्छ,’ उनले भने । खेलाडी पलायन भएको विषय सरकारले हेर्नुपर्ने प्रशिक्षक चौधरी बताउँछन् । केही महिनापछि एपीएफको टोली राम्रो हुने उनको विश्वास छ ।
यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । अहिले भलिबल छाडेर विदेश पलायन हुनेको संख्या अचाक्ली बढेको छ । केही समयअघि फुटबलको त्यो रोग अहिले भलिबलमा देखिन थालेको छ । केही समय खेल्ने र छोटो समयमा विदेशीने प्रचलन अहिले भलिबलमा हाबी बनेको छ । यसबाट गण्डकी प्रदेश अझ बढी प्रभावित बनेको छ ।
भलिबलको उर्वर भूमि मानिने गण्डकी खेलाडी पलायनको मारमा परेको छ । उत्पादन गरेका राम्रा खेलाडी विभागीय लगिदिने र बचेका केही पलायन हुँदा गण्डकीले विदेशी खेलाडी भित्राउन बाध्य छ । पछिल्लो समय गण्डकीका मुख्य खेलाडी रवि केसी र सुजन चुखाल विदेश पलायन हुँदा सरोज बर्देवा एपीएफ क्लबबाट खोसिए । जसका कारण गण्डकीले तीन विदेशी खेलाडी भित्राउनुपर्यो । खेलाडी पलायन हुँदा विदेशबाट खेलाडी भित्राउन परेको गण्डकीका खेलाडी हिमाल सुनारी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो खेलाडी पलायन हुँदा विदेशबाट खेलाडी मगाउनुपर्ने अवस्था आयो ।’
नेपालमा भलिबल खेलाडी भएर जीवन चलाउन सकिन्छ त ? भन्ने प्रश्नमा हिमालले भने, ‘पहिलाका पुराना खेलाडीभन्दा अलिकति सहज छ । त्यै पनि नेपालमै गुजारा चलाउन एकदमै गाह्रो छ । अहिलेको समयमा म चाहिँ सम्भव देख्दिन ।’
विभागीय टोलीबाट खेल्ने खेलाडीलाई मासिक पारिश्रमिक व्यवस्था भए पनि प्रदेशबाट खेल्ने खेलाडीले पारिश्रमिकसमेत पाउँदैनन् । राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीले मासिक ५ हजार पारिश्रमिक पाउँछन् । त्यो उनीहरुलाई चना अण्डा खान पनि पुग्दैन । उक्त तलब पनि नेपाल भलिबल संघले अमेरिकामा रहेका पूर्व भलिबल खेलाडीको सहयोगमार्फत उपलब्ध गराएको छ ।
यही अवस्था रहने हो भने नेपालको भलिबल पुरानै अवस्था फर्किने एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे बताउँछन् । खेलाडीको रिटायर्ड लाइफको बारेमा सरकारले सोच्न नसक्दा खेलाडी विदेशीने गरेकोे घिमिरे सुनाउँछन् । ‘जोश, उमेर हुँदासम्म खेल्ने । त्यसपछि रिटायर्ड लाइफ के गर्ने । यसको जिम्मा सरकारले लिनु पर्देन ?’ उनले भने, ‘खेलाडीले यहाँ भविष्य नदेखेर सुनिश्चित भविष्यका लागि विदेशीयको हुनुपर्छ ।’
उनी थप्छन्, ‘भलिबल खेलका लागी अग्लो कदका खेलाडी चाहिन्छ । खोज्दा पाहिदैन । पाएका पनि खेल्न मान्दैनन् । मानेर खेलाडी बनाएपछि जोगाउन गाह्रो भएको छ । यस्तै अवस्था भयो भने पुरानो भलिबलमा नफर्किएला भन्न सकिँदैन ।’
खेलाडी पलायन हुँदा संघ एकदमै दुखिद रहेको नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ बताउँछन् । राज्यले राष्ट्रिय खेल भलिबलका खेलाडीलाई सेवा सुविधा प्रदान गर्न नसक्दा खेलाडी पलायन नरोकिएको उनी बताउँछन् ।
‘भलिबल संघसँग खेलाडी रोक्न सक्ने स्रोत र साधन छैन । राज्यले रोक्न खोजेको छैन,’ उनी भन्छन्, ‘छिट्टै नै राज्यसँग छलफल गरेर उहाँहरुलाई निवेदन दिन्छौं । खेलाडीलाई रोक्न राज्यबाट सेवा सुविधा दियो भने खेलाडी पलायन रोकिन सक्छ ।’ भलिबल खेलेर आफु र आफ्नो परिवार पाल्न सक्ने अवस्था नहुँदा खेलाडी पलायन भएको संघका उपाध्यक्ष गुरुङले बताए ।
पछिल्लो समय विदेशीयका खेलाडी
सुजन चोखाल, गण्डकी प्रदेश, जापान
रवि केसी, गण्डकी प्रदेश, जापान
घनश्याम चौधरी, गण्डकी प्रदेश, जापान
विशाल बिक, नेपाल पुलिस क्लव, अष्ट्रेलिया
हरि थापा गुल्मेली, नेपाल पुलिस, अष्ट्रेलिया
मानबहादुर श्रेष्ठ, आर्मी, अष्ट्रेलिया
हेमन्त मल्ल, एपिएफ क्लब, अष्ट्रेलिया
विजय थापा, एपीएफ क्लब, जापान
टेकराज अवस्ती, एपीएफ क्लब, अष्ट्रेलिया
लोकेन्द्र गिरी, एपीएफ क्लब, जापान
राजु बिक, गण्डकी प्रदेश, पोर्चुगल
तोरण चन ठकुरी, नेपाल पुलिस क्लब, जापान
मिलन चन ठकुरी, गण्डकी प्रदेश, दुबई
दिल सुनार, आर्मी क्लब, अष्ट्रेलिया
द्वारिका थापा, नेपाल पुलिस क्लब, माल्टा
सञ्जय अर्याल, पूर्व राष्ट्रिय खेलाडी, हङकङ
सरस्वती चौधरी, एपीएफ, अष्ट्रेलिया
प्रतिभा माली, न्यु डायमण्ड, अष्ट्रेलिया