बगर क्षेत्रमा आधुनिक ज्येष्ठ नागरिक केन्द्र: बन्यो बुढेसकालमा दिन काट्ने थलो – Nepal Press

बगर क्षेत्रमा आधुनिक ज्येष्ठ नागरिक केन्द्र: बन्यो बुढेसकालमा दिन काट्ने थलो

दिनदिनै बस्नेहरुको लाम बढ्दो तर राख्ने ठाउँकै समस्या

रुपन्देही । बजार क्षेत्रमा व्यस्त परिवारका सदस्यहरुका बीचमा उमेर पुगेका वृद्धवृद्धालाई दिन समस्या परिरहेको बेला रुपन्देहीमा बनाइएको आधुनिक ज्येष्ठ नागरिक मिलन केन्द्र सबैको आकर्षणमा परेको छ ।

दुई दशकअघि बगर क्षेत्र रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० डिंगरनगरमा सर्वसाधारणको करिब १५ करोड लगानीमा घरमा समय बिताउन समय नमिल्ने वृद्धवृद्धाहरुको आश्रयस्थल बनेको छ ।

घरमा परिवार नहुने वृद्धवृद्धाहरुको दिन बिताउने केन्द्र मात्रै नभएर दिन समूहमा दिन बिताउने सारथीको केन्द्र बन्दै गएको हो । गुल्मेली सम्पर्क समाजले समन्वय धामसँगै यसलाई ज्येष्ठ नागरिक केन्द्रको रूपमा विकास गरेपछि अहिले तिलोत्तमा आसपासका करिब १ सय जना वृद्धवृद्धाहरु यहाँ आएर दिनभर रमाउने र आफ्नो क्षमता अनुसारको प्रस्तुती गरेर साँझ घर फर्कने गरेका छन् ।

यो केन्द्र वृद्धहरूको सेवा, आवास, र सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको हो । व्यस्त जीवनशैली भएका परिवारका सदस्यले आफ्ना बुवाआमालाई यस केन्द्रमा पठाउने गरेका छन् । यहाँ आउन पाएपछि वृद्धवृद्धाहरु पनि उस्तै रमाउने गरेका छन् ।

वृद्धहरूको जीवनस्तरमा सुधार ल्याउने, केही मानसिक समस्या र दीर्घ रोग भएकाहरुलाई प्राकृतिक उपचार गराउने, हरेक व्यक्तिलाई पुराना संस्कारहरुका विषयमा छलफल गराउने र उनीहरुका अनुभवहरुलाई लिपिवद्ध गर्ने यो केन्द्रको मुख्य उद्देश्य रहेको छ ।

यहाँ सेवा लिइरहेका ८० वर्षका रोमनाथ कंडेल निकै खुसी देखिन्छन् । ‘सबै आफ्नो दामली उमेरका जम्मा भइन्छ, जानेका कुरा सिक्ने सिकाउने हुन्छ, पालैपालो कथा, भजन, चुट्किला भन्छम्, सबैभन्दा ठूलो कुरो घरमा दिन बिताउन सकस हुनेथियो, यहाँ निकै खुसी छु’ उनले भने–‘बिहान गाडी लिन घरमा पुगेको हुन्छ, दिनभर चिया,पानी, खाजा, नास्ता, जडिबुटी, केही परे औषधि तथा विभिन्न प्रकारका प्राकृतिक उपचारका विधिहरुका बारेमा छलफल गरिएको हुन्छ ।’

८१ वर्षकी नम्रता अर्यालको पनि उस्तै अनुभूति छ । विभिन्न दीर्घरोगले ग्रसित भएपनि यहाँ आएर विभिन्न जडिबुटीहरुको सेवन, विभिन्न योगका विधि तथा यहाँको दैनिकीले आफूलाई नयाँ जीवन दिएको छ ।

‘मलाई बाँच्छु जस्तो लागेको थिएन, घरमा निरास मात्रै हुने गदथे, यहाँ आएपनि योगा पनि गरियो, जडिबुटी के के हो के के खाइयो, अलिअलि बोल्न सिकियो, दिनदिनै केही न केही नयाँ कुरो सिकिन्छ, धेरै आनन्द आएको छ, मलाई त भगवान भेटिएजस्तो भछ हजुर ।’ उनले भनिन्–‘जसले यस्तो पूण्यकामको सुरुवात गराउनुभयो, जसले यसलाई बनाउन सहयोग गर्नुभयो भगवान्ले उहाँको रक्षा गर्नुहुनेछ ।’

कंडेल र अर्यालजस्तै अहिले ८० जनाले यहाँ दिनहुँ यस्तै खुसी साटिरहेका छन् । १ सय जनाको क्षमता रहेको यो केन्द्रमा राख्नका लागि अहिले २० जनाको निवेदन आइसकेको छ भने अन्य धेरै जनाले आउन इक्ष्या देखाएका छन् तर स्थान अभावमा व्यवस्थापन हुन नसकेको हो । यसैका लागि अहिले जग्गा र स्रोतको खोजी भइरहेको छ ।

यसरी रोचक तरिकाले चलाइन्छ वृद्धवृद्धाको दैनिकी

सेवा केन्द्र र सेवाग्राहीका अनुसार वातानुकुलित हलको व्यवस्था, सुक्ष्म ध्वनीको व्यवस्था, धार्मिक, आध्यात्मिक, शैक्षिक तथा स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, आयुवेर्दिक विशेषज्ञ, तथा नागरिक सम्बन्धि विभिन्न विधाका विशेषज्ञहरुद्वारा ज्ञान प्रवाह गरिएको छ । महिनामा २ पटक विभिन्न विधाका विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य शिविर राखिएको छ ।

दिनभरको बसाईलाई पहिलो सत्र, दोस्रो सत्र र तेस्रो सत्र गरि विभाजन गरिएको छ । पहिलो सत्रमा गाडिकमा घरमा पुगेर ल्याएपछि जलपानको व्यवस्था, उद्घोषण व्यवस्थापन समिति र कार्यालय व्यस्थापकबाट, अध्यक्षता कार्यसमितिबाट पालैपालो, प्रमुख अतिथि ज्येष्ठ नागरिकहरुबाट पालैपालो, राष्ट्रिय गान तथा ज्येष्ठ नागरिक गान गाएर कार्यक्रमको सुरुवात, प्रमुख अतिथिबाट परिचय, आत्मकथा, ज्ञान सीपबारे जानकारी दिएपछि अध्यक्षबाट त्यो पहिलो चरणको कार्यक्रम समापन हुन्छ ।

दोस्रो सत्रमा फलफूलको व्यवस्था, ओमबारबारे जानकारी, ध्यान, योगा अनि विशेषज्ञबाट ज्ञान प्रवाह गरेर पूरा गरिन्छ । त्यसैगरी तेस्रो सत्रमा धाराबाहिक ( रामायण, महाभारत, जयश्रीकृष्ण, जय बजरंगबली प्रस्तुत, खाजा दैनिक अलग अलग सकेसम्म अर्गानिक, केही समय विश्राम, त्यसपछि ज्येष्ठ नागरिकद्वारा भक्ति संगीत( भजन कृतन) अनि ५ बजे समापन गरेर पुनः गाडीमा राखेर घरघरमा पुराउने व्यवस्था केन्द्रले गरेको छ ।

दिनभर उनीहरुले पिउने पानीमा विभिन्न जडिबुटीसहित विशेष ख्याल गरिन्छ । अब नयाँ बनाउन खोजेको ५ तले भवनमा यही अनुसारको अलग अलग तलामा व्यवस्थापन गर्ने योजना बनाइएको छ ।

धाम परिसरमा एक लहर लगाइएका बर, पिपल स्वामीका ठूला विरुवा अनि वरिपरी विभिन्नखाले फूल तथा दुवोका कलात्मक आकृति, विभिन्न प्रकारका मन्दिर र पूजा गर्ने, बत्ति बाल्ने ठाउँ भएपछि सानो घरमा, कोठामा खुम्चिएर, गुम्सिएर बसेकाहरु फुरुङ्ग परेका छन् । तर उनीहरुलाई ल्याउने एउटा मात्रै गाडी भएकाले धेरैपटक लिन जानुपर्ने छोड्नजानुपर्ने समस्या रहेको छ ।

कसरी काम गरेको छ केन्द्रले

जीवनभर परिवार र समाजका लागि घोटिएकाहरुको मन खुसी बनाउने र उनीहरूको प्रतिष्ठा र सम्मान पनि बढाउने मुख्य लक्ष्य राखिएको धामको योजनाकर्ता ऋषि भण्डारी बताउँछन् ।

‘घरमा रकम भएर वृद्धवृद्धालाई दिन कटाउन सम्भव हुँदैन, तराईका घरमा ल्याएर राख्ने र उनीहरुलाई घरबाट बाहिर निस्कन नदिने गर्दा उल्टो समस्यामा पर्न थालेका छन्, हामीले प्राकृतिक रुपमा सबै बस्ने, खाने, नाच्ने, भजन गाउने, पूजा गर्ने, व्यक्तिगत क्षमता प्रदर्शन गर्न पाउने, नजानेकोलाई सिकाउने, एकअर्कामा बोल्न सिकाउने गरी यो केन्द्रमा राखेका छौं’ उनले भने–‘बिहान घरमै गएर ल्याउँछौं, दिनभर सबै सेडुअलअनुसार चिया, खाजा, पानी, जडिबुटी, आवश्यकताअनुसार औषधि सबै खुवाएर साँझ पुनः गाडीमै राखेर घरमा पुराइदिने गरेका छौं । यसमा कुनै शुल्क लाग्दैन ।’

वृद्धवृद्धालाई विभिन्नखाले मनोरञ्जन प्रदान गर्ने, सिर्जनशील कार्यमा सक्रिय गराउने विभिन्न गतिविधिहरू सञ्चालन गर्ने. मानसिक तनाव कम गर्ने लक्ष्य लिएको र त्यसले परिणाम पनि दिएको भण्डारीले बताए ।

यो केन्द्र वृद्धहरुको सेवा तथा आवासको लागि समर्पित भएको यसले वृद्धहरुको जीवनस्तरमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको यो अभियानकर्ता खिमानन्द भट्टराई बताउँछन् ।

‘यस परियोजनाको मुख्य उद्देश्य वृद्धहरुको देखभाल, स्वास्थ्य सेवा, र सामाजिक सुरक्षा प्रदान गर्नु हो । यसले समाजमा वृद्धहरुको प्रतिष्ठा र सम्मान बढाउन पनि मद्दत गर्नेछ’ उनले भने । गुल्मेली सम्पर्क समाजका अध्यक्ष तथा यो केन्द्रका संरक्षक डा. नारायणप्रसाद पन्तले यस परियोजनालाई सफल बनाउन विभिन्न स्थानीय संघ, संस्था, सहयोगदाता र निकै थोरै अंकमा सरकारी निकायको सहयोग रहेको बताउँछन् ।

समाजको गुरुयोजनाअनुसार यस धार्मिक क्षेत्रमा आममानिसको आस्था र अपनत्व जगाउने गरी श्रृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलन केन्द्र र शिक्षाबाट बन्चित छोरीहरुलाई आवासीय सुविधासहित निःशुल्क शिक्षा दिने गरी छोरी शिक्षा कार्यक्रम सञ्चालनमा रहेको पन्थले जानकारी दिए ।

आधुनिक उपचार पद्धति र मानव बनौटका कारण प्रत्येक वर्ष ज्येष्ठ नागरिकको संख्या वृद्धि हुँदै गएको छ । यसको साथै बढ्दो सहरीकरण, आधुनिकीकरण, र भौतिकवादी चिन्तनले पारिवारिक विखण्डनलाई बढावा दिँदै गएको छ । युवापुस्ताको विदेश पलायनले गर्दा वृद्धहरूको देखभाल गर्ने चुनौती बढेको छ ।

यस्तो अवस्थामा श्रृंगेश्वर धाममा रहेको यो ज्येष्ठ नागरिक केन्द्रले वृद्धहरूको लागि आश्रयस्थलको रूपमा काम गर्दै उनीहरूलाई मानसिक, शारीरिक, र भावनात्मक सुविधा प्रदान गर्ने महत्वपूर्ण भूमिका खेनेको बताउँछन् केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे ।

‘यसले वृद्धहरूको लागि दिवाकालीन सबै सुविधा प्रदान गरेको छ, उहाँहरूको ज्ञान, अनुभव, र सिपलाई नयाँ पुस्तासम्म पुगाउने माध्यम बनेको छ, घरमा एक्लै बसेका बुवाआमा यहाँ आएर रमाएर बस्दा आफूलाई निकै आनन्द लागेको छ’ उनले भने ।

ज्येष्ठ नागरिक मिलन केन्द्रमा हाल एक सय ज्येष्ठ नागरिक बुबाआमाहरुलाई सदस्यता वितरण गरिसकिएको केन्द्रका अध्यक्ष पाण्डेले जानकारी दिए ।

५ सय ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिएको उनले बताए । यहाँ ज्येष्ठ आमाबुवाको सेवा, सत्संग, भजनकृतन, मन्दिरमा दैनिक पूजा अर्चना, धार्मिक अनुष्ठानलगायतका सेवामुखी कामहरु हुँदै आएका छन् ।

वृद्धहरूको जीवनलाई गुणस्तरीय बनाउने, समाजमा उनीहरूको प्रतिष्ठा बढाउने, र धार्मिक तथा सांस्कृतिक विरासतलाई संरक्षण गर्ने केन्द्रको कामले यस क्षेत्रको गौरव बढाएको स्थानीय दलबहादुर गुरुङ बताउँछन् । उनले समाजको लागि प्रेरणाको स्रोत यस्ता अभियानलाई अब विभिन्न क्षेत्रमा विद्यागतरुपमा चलाउनुपर्ने सुझाव दिएका छन् ।

यसअघिका मेयर तथा अहिले संघीय सांसद बासुदेव घिमिरेले धामको विकासले यो क्षेत्रमा धार्मिक पर्यटन निकै आकर्षण गरेको बताए । ‘यहाँ धामले धार्मिक पर्यटनको केन्द्र त बनेको छ नै, नेपालकै नमुना मोडलमा ज्येष्ठ नागरिक केन्द्र बनेको छ, यसलाई हेर्नका लागि विभिन्न स्थानबाट यहाँ आएको बुझेको छु, धेरै स्थानीयको सहयोगमा बनेको छ, अब यसको क्षेत्रफल बढाएर लैजानुपर्दछ’ उनले भने ।

तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडले यो परियोजनाले यस क्षेत्रको भविश्यलाई राम्रो बनाएको बताउँदै अहिले धामसँग पश्चिम क्षेत्रमा रहेको भूपू सैनिकको ८ कठ्ठा जग्गा सट्टा भर्ना गरेर बढाउन सकिने विषयमा आफू सकारात्मक रहेको प्रतिवद्धता जनाएका छन् ।

कसरी सुरुवात भयो केन्द्र

वि.सं २०६० सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजनाअनुसार धामको विकास, प्रचार प्रसारसँगै आवश्यक संरचनाहरु निर्माण भइरहेका छन् ।

करिब एक विगाह जग्गामा बनेको श्रृंगेश्वर धामले धार्मिक पर्यटनको लागि नयाँ गन्तव्यको रूपमा पनि विकास गरिरहेको छ । यहाँ ऐतिहासिक संगीतमय श्रीमद्भागवत, श्रृङ्गारिक महाआरती, र अन्य धार्मिक महोत्सवहरू आयोजना गरिन्छ ।

यसले धार्मिक आस्था र संस्कृतिको संरक्षण गर्न मद्दत गरेको पाकापुस्ता बताउँछन् । ज्येष्ठ नागरिक मिलन केन्द्रले वृद्धहरूको लागि मनोरञ्जन, सिर्जनशील कार्य, र मानसिक तनाव कम गर्ने गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसले वृद्धहरूलाई सक्रिय र स्वस्थ राख्ने वातावरण तयार गर्नेछ । यसका साथै, उनीहरूले आफ्नो जीवनको अनुभव र ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउन सक्नेछन् ।

ज्येष्ठ नागरिक मिलन केन्द्र गुल्मेली सम्पर्क समाज स्पन्देहीको गुरुयोजनाअनुसार वि.सं. २०७७ पौष ५ गते स्थापित भएको हो । आधुनिक उपचार पद्धति र मानव जीवनशैलीका कारण प्रत्येक वर्ष ज्येष्ठ नागरिकको सख्या वृद्धि भइरहेको र तराईमा बढ्दो बसाईसराईले यस्तो ठाउँमा सबैतिरबाट माग भएपछि यसको सुरुवात गरिएको संघका अध्यक्ष यदुनाथ पाण्डे बताउँछन् ।

‘बढ्दो सहरीकरण, आधुनिकीकरण र भौतिकवादी चिन्तनले वर्तमान समाज यान्त्रिक बन्दै गइरहेको छ । युवापुस्ता विदेश पलायन, पारिवारिक विखण्डन, पाका पुस्ताप्रति अनुत्तरदायी सन्तान र परिवारभित्र भावनात्मक सम्बन्धमा दरार देखिँदा हाल ज्येष्ठ नागरिकको जीवन पट्यारलाग्दो, बोझिलो, व्यथापूर्ण र भन्झटिलो बनिरहेको छ ।’ उनले भने–‘वृद्ध अवस्थामा मानसम्मान, इन्जत स्याहारसुसार र सुरक्षाको प्रत्याभूति गर्न पाउनु ज्येष्ठ नागरिकको नैसर्गिक अधिकार हो तर धेरैजसो जेष्ठ नागरिकहरू त्यो अधिकारबाट वञ्चित भइरहेको पाइएपछि यसलाई सुरुवात गरेका हौं ।’

‘ज्येष्ठ नागरिकप्रति सम्मान गर्दै उहाँहरूले जीवनमा प्राप्त गरेका ज्ञान, अनुभव, सिप र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र धर्म, संस्कृति, मूल्यमान्यता तथा कलालाई संरक्षण संवर्धन गर्दै नयाँ पुस्ता एवम् पुराना पुस्ताबीच समन्वय, सहकार्य, अनुभव आदानप्रदान गर्ने मुख्य उद्देश्य हो’ पाण्डेले भने ।

अहिले १ विगाह क्षेत्रमा रहेको धाममा करिब १५ करोड बराबरको लगानीमा विभिन्न संरचना बनेको छ । यो लगानीको करिब ५ प्रतिशत मात्रै सरकारी रकम परेको छ अरु सबै विभिन्न दाताहरुको सहयोगबाट बनेको हो । यही धामभित्रको एक मुख्य अंगका रुपमा रहेको छ ज्येष्ठ नागरिक केन्द्र ।

धार्मिक पर्यटनको लागि नयाँ गन्तव्यका रुपमा विकास भइरहेको श्रृगेश्वर धाममा ऐतिहासिक संगीतमय श्रीमद्भागवत तथा श्रृङ्गारिक महा–आरतीसहितका धार्मिक महोत्सव भइरहेका हुन्छन् । श्रृगेश्वर धाम तथा ज्येष्ठ नागरिक मिलन केन्द्रको नयाँ भवन निर्माण सहयोगार्थ माघ २४ गतेदेखि फागुन २ गतेसम्म महायज्ञ आयोजना संचालनमा छ ।

धामका अध्यक्ष ऋषि भण्डारीले जेष्ठ नागरिक मिलन केन्द्रको सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माणमा आर्थिक सहयोग जुटाउन महायज्ञ गरिएको बताए । महायज्ञमा कथावाचक आचार्य ओमप्रकाश सुवेदीले कथा वाचन, हरेक दिन योग तथा ध्यान शिविर, नित्य पूजा एवं पाठपारायण, कथावाचन, श्रृङ्गारिक महाआरती, तथा भजन भइरहेको उनले बताए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गत सोमबार ज्येष्ठ नागरिक मिलन केन्द्र दिवासेवाको अत्याधुनिक भवनको शिलान्यास गरिसकेका छन् ।संस्थापक सचिव हरिप्रसाद पौडेलले स्व. खेम पुन र अहिले पनि यो अभियानमा संलग्न उपाध्यक्ष ओमी पुन विदेश घुम्न जाँदा देखेर यहाँको अभियानमा संलग्न भएको स्मरण गर्दछन् ।

पहिले बगर क्षेत्रमा रहेको यो जग्गा स्थानीय जनज्योति क्लबले संरक्षण गरेर राखेको थियो । पछि सम्पर्क समाजको परियोजनाअनुसार तत्कालीन गाविससमेतको सिफारिसमा त्यहाँको जग्गा दिइएको क्लबका संयोजक तथा तिलोत्तमा ४ का वडा सदस्य मित्रलाल न्यौपानेले बताए । उनले क्लबले धेरैपटक सुकुम्बासीको नाममा यो क्षेत्र हडप्न खोजेपनि जोगाएर राख्नसकेकोले अहिलेको यस्तो अवस्थामा आएको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *