पार्टी विघटन भएमात्रै २०८४ को चुनावपछि महाधिवेशन गर्न मिल्छ, नत्र संविधानले दिँदैन: गगन थापा (भिडिओ)


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चैतभित्रमा सदस्यता नवीकरणको काम गरिसक्ने बताएका छन् ।
कांग्रेसको काठमाडौं अर्घाखाँची सम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सदस्यताको विषयमा समयमै टुंग्याइने बताए ।
उनले भने, ‘केही नेताहरु अधिवेशनबारे बोल्नुभएको छ, तर नेपालको संविधान कानून सबै कुराले २०८४ चुनावपछि महाधिवेशन गर्ने भन्ने कुरा दिँदैन । कतिपयले एउटा सानो पार्टी ल्याएर मिसाएर समय थप्न मिल्छ कि भन्दैछन्, त्यो भए त कुनै पार्टीले कहिले पनि अधिवेशन नगरे हुन्छ । म पार्टीको सभापति भए पहिला सानो पार्टी बनाइदिन्छ, अनि पाँच वर्षपछि त्यसलाई मिलाइदिन्छु अनि म्याद थप्यो भइहाल्यो नि ! त्यसैले यस्तो हावादारी कुराको पछि नलागौं, ५ वर्षपछि पनि समय थप्ने भनेको भएको पार्टी विघटन भएको अवस्थामा मात्रै हो ।’
महामन्त्री थापाले संविधान कानूनअनुसार अधिवेशनको प्रक्रिया प्रारम्भ गरेर महाधिवेशनसम्म पुग्दा २०८३ पुग्नसक्ने बताए ।