रास्वपाका हुम्ला उपसभापति छुटे, कसले तिरिदियो १ लाख धरौटी ?
अदालतबाहिर दिनेश त्रिपाठीमाथि हुलहुज्जतको घटनामा तीनजनामाथि ज्यान मार्ने उद्योगको अभियोग


काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महानन्द जोशी धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले मागेको एक लाख रूपैयाँ धरौटी तिरेपश्चात उनी रिहा भएका हुन् ।
गत माघ २ गते सहकारी ठगीको मुद्दामा रास्वपा सभापति रवि लामिछाने विरुद्ध बहस गरेर फर्किने क्रममा अदालतबाहिर त्रिपाठीमाथि हुलहुज्जत र हातपात भएको थियो । सो घटनालाई लिएर हुम्लाको अदानचुली गाउँपालीका-४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डे माघ ८ गते पक्राउ परेका थिए । जैसी सहित सो प्रकरणमा पक्राउ परेका तीनजनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा दायर गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनैजनालाई एक-एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका थिए । तर, महानन्द भने एक लाख धरौटी तिर्न नसक्दा सुन्धारास्थिति जगन्नाथ देवल कारागारमै थुनिएका थिए ।
महानन्दका लागि धरौटी रकम जुटाउन रास्वपा केन्द्रीय सदस्य समेत रहेकी सञ्चारकर्मी ज्वाला संग्रौलाले पहल गरेकी थिइन् । उनले देश-विदेशमा रहेका शुभेच्छुकहरुबाट एक लाख रकम जुटेको बताइन् । पार्टीगतरुपमा नभएर आफूले व्यक्तिगत पहलमा सहयोग संकलन गरेको उनको भनाइ छ ।
‘सुरुमा मैले १० हजार रूपैयाँ आफ्नोतर्फबाट हालेर सहयोग आह्वान गरेकी थिएँ । एक-डेढ घन्टामै एक लाख जुट्यो । एकजना स्कुल पढ्ने भाइले आफ्नो खाजाबाट कटाएर ६० रुपैयाँ पनि पठाउनुभएको छ,’ उनले भनिन् ।
संग्रौला आफैंले जिल्ला अदालत पुगेर धरौटी रकम जम्मा गरेकी हुन् । त्यसपछि महानन्द कारागारमुक्त भएका छन् । उनी अदालतबाट बाहिरिएपछि भावविव्हल बनेका थिए । आफ्नो रिहाइका लागि सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरे ।
उनले भने, ‘तपाईंहरूले मलाई ऋण लगाउनुभएको छ, यो गुन कहिले पनि बिर्सिन्नँ ।’
आफू घटनास्थलमा भए पनि हातपातमा संलग्न नरहेको जैसीले बताए ।
उनले भने, ‘बौद्धिक वर्गलाई सम्मान गर्ने मान्छे हुँ । कुटपिट गर्ने कुरै आउँदैन । एक महिना अगाडि मैले माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध अभियान चलाएको थिएँ । सायद त्यसैको प्रतिसोध लिइएको होला ।’
न्यायालयले आफूलाई न्याय दिने आशा उनले व्यक्त गरेका छन् ।