चार हजार मतान्तरले हारेका केजरिवालको क्षेत्रमा ३७ हजार मतदाताको नाम काटिएको पुष्टि


काठमाडौं । भारतनको संघीय राजधानी दिल्लीको चुनावमा आम आदमी पार्टी (आप)को हारसँगै आपका राष्ट्रिय अध्यक्ष अरबिन्द केजरिवालको हारको पनि चर्चा भएको छ ।
केजरिवाल हारको बारेमा रोचक तथ्य सार्वजनिक भएको छ । केजरिवालको चुनावी क्षेत्रमा ३७ हजार मतदाताको नाम हटाइएको पाइएको छ । आपले आरोप लाउँदै आएको कुरा तथ्यांकबाट पनि पुष्टि भएको हो ।
भारतीय डिजिटल मिडिया दि क्विन्टका अनुसार सन् २०२० को चुनावमा १ लाख ४६ हजार १२२ मतदाता रहेका थिए भने २०२५ मा यो आँकडा घटेर १ लाख ६ हजार ३६५ जनामा पुगेको देखिएको छ ।
भारतका समग्र निर्वाचन क्षेत्रहरुमा मतदाताहरु बढेका आँकडा आइरहँदा केजरिवालको चुनाव क्षेत्रमा भने २५ प्रतिसत मतदाता पाँच वर्षमा घट्नुले त्यसलाई राजनीतिक कोणमा आप र केजरिवाललाई हराउने अर्थमा व्याख्या गरिएको छ ।
आपका केजरिवाल दिल्लीको आफ्नो चुनाव क्षेत्रमा चार हजार बढी मतले हारेका थिए । भारतीय मिडिया न्यूज १८ का अनुसार भारतीय जनता पार्टी (बीजेपी)का नेता प्रवेश वर्माको मत ३० हजार ८८ आउँदा केजरिवालको मत २५ हजार ९९९ आएको थियो ।