बँदेल मार्ने र बाँदरलाई खाद्य बगैंचा बनाउनेबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
१८ वर्षमुनिका बालबालिकालाई उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्नबाट रोक लगाउन जरुरी सार्वजनिक महत्वको अर्को प्रस्ताव दर्ता


काठमाडौं । ग्रामीण क्षेत्रमा जंगली बँदेल र बाँदरबाट कृषि बाली नष्ट हुने समस्याको समाधानका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
कांग्रेस सांसद राजेन्द्र बजगाईं प्रस्तावक र उदयशमशेर जबरा, सुरेन्द्र आचार्य समर्थक भएर दर्ता गरिएको प्रस्तावमा बँदेलको आक्रमणलाई प्रतिरोध गर्न किसानलाई शिकार अनुमति दिनुपर्ने उल्लेख छ ।
अर्ध–स्वचालित हतियार चलाउने तालिम प्राप्त किसानलाई त्यसको लाइसेन्स उपलब्ध गराउनेलगायतका उपायहरु प्रस्तावमा राखिएको छ ।
त्यस्तै बाँदर नियन्त्रणका लागि बाँदरलाई मार्न नहुने भएकाले मानवीय वैकल्पिक समाधानको प्रस्ताव राखिएको छ ।
त्यसका लागि बाँदरलाई जंगलमै खाद्य बगैंचा स्थापना गर्नेदेखि जैविक घेराबारलगायत बाँदरलाई मन नपर्ने बोटबिरुवा लगाउने तथा वन विभागसँग सहकार्य गरेर बाँदर नियन्त्रण टोली खडा गर्नेलगायतका समाधानका उपाय सुझाइएको छ ।
सोमबारै संसद सचिवालयमा दर्ता भएको अर्को जरुरी सार्वजनिक महत्वको प्रस्तावमा १८ वर्षमुनिका बालबालिकालाई यार्सागुम्बा संकलनमा रोक लगाउन प्रस्ताव गरिएको छ ।
कांग्रेस सांसद बजगाईं प्रस्तावक र सुरेन्द्र आचार्य तथा कान्तिका सेजुवाल समर्थक भएको सो प्रस्तावमा यार्सागुम्बा संकलकलाई सुरक्षित आवास, उचित खाना र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उल्लेख छ ।