शंकर पोखरेलको निर्देशन- सामाजिक सञ्जालमा सत्य बोल्न र लेख्न थाल्नुस्, अराजकहरु हराउँछन्


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा तथ्य र सत्यका बोल्न र लेख्न निर्देशन दिएका छन्।
असल मानिसहरु सकृय भए अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जाने उनको बुझाइ छ।
‘तथ्य र सत्यका पक्षमा किन कोही वोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक संजालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस्’ उनले भनेका छन्, ‘तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ। त्यसले अरुलाई पनि अघि सर्न प्रेरित गर्दछ । असल मानिसहरु सकृय भए अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जान्छ।’
उनले सामाजिक सञ्जालमा असल मानिसहरु नआउँदासम्म आएका खराब मान्छेहरु देखिने टिप्पणी गरे।
उनले थपेका छन्, ‘इन्टरनेट संजाललाई सुचना महामार्ग मानिन्छ। सामाजिक संजाल आफैमा राजमार्ग जस्तै हो। सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ। घर भित्र वसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक संजालमा असल मानिसहरु नआउदासम्म आएका खराव मान्छेहरु देखिने हो।’