‘एक्टर’का निर्माता भन्छन्- चलचित्र सोचे जस्तो चलेन, तर कुनै हालतमा लगानी उठाउँछु
तीन दिन रिलिज रोकिँदा २ करोड घाटा लागेको दाबी

काठमाडौं । अहिले हलहरूमा चलचित्र ‘एक्टरः टेक वन’ दोस्रो हप्तामा चलिरहेको छ । प्रदर्शन अगाडि चलचित्रले कानूनी अड्चन झेल्नुपर्यो । हलमा फ्लप भइसकेको चलचित्र ‘एक्टर’ का निर्माता सम्राट थापाले नाम कपी गरिएको भन्दै काठमाडौं जिल्ला अदालतमा उजुरी दिए ।
थापाको उजुरीउपर अदालतले फैसला गर्दै माघ २२ गतेसम्मलाई चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दियो । यसपछि माघ १६ गते शहीद दिवसबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रदर्शन अनिश्चित बन्यो ।
प्रदीप खड्का स्टारर यस चलचित्रले टिजर, ट्रेलरबाट राम्रो हाइप बटुले पनि निर्धारित मितिमा प्रदर्शन हुन नपाएपछि बुकिङहरू पनि क्यान्सिल भए । तीन करोड लगानी जोखिममा पर्ने देखियो ।
दुई दिनपछि थापा र ‘एक्टरः टेक वन’को टीमबीच सहमति भयो । थापाले मुद्दा फिर्ता लिने भए । मुद्दा फिर्ता लिने सम्झौता भए पनि हलहरूले बिहानैदेखि चलचित्र चलाउन सकेनन् । प्रक्रियागत रुपले मुद्दा फिर्ता लिएपछि मात्रै चलचित्र चलाउन सकिन्थ्यो । त्यसैले दिउँसो १ बजेबाट मात्रै हलहरूले शो खुलाए ।
यी तमाम झमेलाका कारण आफूले करोडौं क्षति व्यहोर्नुपरेको निर्माता थमनकुमार भण्डारीको दाबी छ । आफूले तीन दिनमा दुई करोड ग्रस कलेक्सन बराबरको आर्थिक क्षति व्यहोरेको आँकलन उनले सुनाए ।
अहिले पनि चलचित्र हलमा लागिरहे पनि अपेक्षित व्यापार गरिरहेको छैन । अहिलेसम्म ६० हजारमाथि टिकट बिक्री भएको चलचित्रको अनुमानित ग्रस कलेक्सन दुई करोड हाराहारीमात्रै हो । लाइफटाइम कलेक्सन तीन करोड हाराहारी हुनसक्ने भण्डारीको विश्वास छ ।
उनले सात वर्षअघि नै ‘पण्डित बाजेको लौरी’ चलचित्र निर्माण गरिसकेका थिए । यो चलचित्रबाट पनि भण्डारीले आर्थिक क्षति व्यहोरेका थिए । अहिले तीनकुनेबाट शंखमूल जाने बाटोमा ‘मकै घर’ नामक रेस्टुरेन्ट चलाइरहेका उनी रोजगारीको सिलसिलामा एक दशक विदेश बसेर फर्किएका हुन् । उनै थमनकुमार भण्डारीसँग ‘एक्टरः टेक वन’को विषयमा विस्तृतमा कुराकानी गरेका छौं ।
इमानदार भएर भन्दा ‘एक्टरः टेक वन’को बक्स अफिस रिपोर्टबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छैन । जसरी कलेक्सन हुन्छ भनेर सोचेको थिएँ, त्यसरी भएन, तर आशा नै मार्ने गरी निराश हुने खालको कलेक्सन पनि छैन ।
चलचित्रले कति व्यापार गर्ला भन्ने अपेक्षा थियो ?
नेपालकै बक्स अफिसबाट लगानी रिकभर हुन्छ भन्ने सोचेको थिएँ । अनि थप पैसा पनि आउला भन्ने सोचेको थिएँ । डिजिटल र ओभरसिजबाट आएको पैसा पूरा मुनाफा हुन्छ भन्ने सोच थियो । त्यो सोच चाहिँ पूरा भएन ।
कति लगानीमा बनाइएको चलचित्र हो ‘एक्टरः टेक वन’ ?
तीन करोडभन्दा माथि गएको छैन । घरेलु बक्स अफिसबाटै लगानी उठाउन त सात करोड चानचुन ग्रस गर्नुपर्छ ।
प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी जस्ता कलाकार भएकाले चलचित्रले त राम्रै हाइप लिएको थियो नि हैन ?
हामीलाई समस्या भएको १६, १७ र १८ गते हो । कानूनी अड्चन झेल्नुपरेपछि कतिपय ठाउँका दर्शकले त ‘तिम्रो चलचित्र लाग्यो र’ भनेर पनि सोधे । हाम्रो व्यापारमा असर गरेको मेकिङले होइन, चलचित्रको कथाले पनि होइन । हाम्रो चलचित्रले राम्रो व्यापार नगर्नुको पछाडि त्यो तीन दिन नै हो । चलचित्रको प्रदर्शन रोकियो भनेर समाचार यसरी भाइरल भए कि कुरै नगरौं, तर चलचित्र प्रदर्शन भए भन्ने कुरा धेरै दर्शकसम्मै पुग्न सकेन ।
तपाईंको आँकलनमा तीन दिनको क्षति कति जति होला ?
दुई करोड क्षति भयो । दुई दिनपछि पनि दिउँसो १ बजेबाट मात्रै एकदमै अलमलका बीच चलचित्र हलमा लाग्यो ।
केको आधारमा दुई करोड ?
बुकिङको आधारमा हो । १६ गते बिहानको बुकिङ एकदमै राम्रो थियो । करिब करिब सबै शो हाउसफुल थिए । त्यसैका आधारमा दुई करोड क्षतिको आँँकलन हो ।
यदि मेरो नाममा कपीराइटमा समस्या थियो भने विकास बोर्डले मलाई रोक्नुपर्ने हो, तर रोकेन । हलमा लाग्नेवेला विवाद सृजना गरियो । सेन्सर पासको सर्टिफिकेट दिनुअघि सेन्सरमा बस्ने विज्ञहरूले केही भन्नुभएन । उहाँहरूले अघिल्लो ‘एक्टर’लाई पनि सेन्सर पास गर्नुभएको हो ।
स्टार भनिएका कलाकारलाई चलचित्रमा लिँदाका फाइदा र बेफाइदा चाहिँ के रहेछ ?
स्टार त हामीले मानिदिने हो । मेरो चलचित्रमा सानो पात्र पनि स्टार हो । चलचित्रलाई नेतृत्व गरेर लाने पात्र पनि स्टार हो ।
प्रदीप खड्काको स्टारडमले बक्स अफिसमा काम गर्यो कि गरेन ?
उसको स्टारडमलाई सुरुको तीन दिन रोकियो । खुट्टा तानियो । यहाँ राजनीति भयो । मैले निर्वाध रुपमा चलचित्र चलाउन पाइनँ भने मेरो स्टारले कसरी स्टारडमको औरा देखाउन पाउँछ ! उसले आफ्नो औरा देखाउने मौकै पाएन ।
एक जनाले मुद्दा हाल्नुभयो । त्यसबाहेक थप के राजनीति भयो ?
चलचित्र बनाउँदा एउटा प्रक्रिया हुन्छ । हामी प्रक्रियाबाटै गएका हुन्छौं । पहिले योजना बनाइन्छ । अनि दर्ता गरिन्छ । त्यसपछि सुटमा गइन्छ । सम्पादन गरिन्छ । पोस्टको काम गरिन्छ । सेन्सर गरिन्छ । अनि हलमा लगिन्छ ।
यदि मेरो नाममा कपीराइटमा समस्या थियो भने विकास बोर्डले मलाई रोक्नुपर्ने हो, तर रोकेन । हलमा लाग्नेवेला विवाद सृजना गरियो । सेन्सर पासको सर्टिफिकेट दिनुअघि सेन्सरमा बस्ने विज्ञहरूले केही भन्नुभएन । उहाँहरूले अघिल्लो ‘एक्टर’लाई पनि सेन्सर पास गर्नुभएको हो । अनि हाम्रो चलचित्र हेरेपछि सेन्सर पास गर्न मिल्दैन, करेक्सन गरेर आउनुस् भनिदिएको भए पनि त हुन्थ्यो ।
अब चलचित्र १६ गतेबाट लाग्दैछ । १४ गते प्रिमियर हुँदैछ । विकास बोर्डको वकिलले भन्नुभयो, ‘तपार्ईं चलचित्र रिलिज गर्नतिर लाग्नुस् । यो समस्या हाम्रो हो ।’ अनि हामीले विश्वास गर्ने त विकास बोर्डलाई हो । नत्र त म पनि वकिल राख्थेँ होला । प्रतिवाद गर्थें होला । मलाई त्यो मौका नै दिइएन । ल ठीकै छ, चलचित्रको एउटा शब्द उहाँको नामसँग मिल्यो होला, तर प्रदर्शन नै रोक्ने काम पनि अदालतले गर्नुहुन्नथ्यो ।
पछि चलचित्र चलाउने सहमति हुँदा पैसामा पुगेर सम्झौता भएको भन्ने गसिप पनि आए । तपाईंहरूले सहमति गर्दा पैसाको लेनदेन भएको हो ?
त्यो भएको हो । त्यो लेभलको बार्गेनिङ प्वाइन्ट भएको हो । उहाँले मेरो चलचित्र डुब्यो भनेर छाडिदिनु भएको चाहिँ होइन । अन्तिम समयमा आएर ब्ल्याकमेलिङ भएको हो । हामीलाई त जसरी पनि चलचित्र हलमा लगाउनै थियो । हामी त्यसवेला विक्षिप्तै थियौं । तनाव थियो । करोडौं रुपैयाँ लगाएर चलचित्र बनाएको हो नि ! चलचित्रलाई हलमा लगाउन जुन हदसम्म पुगेर भए पनि सम्झौता गर्न तयार थियौं ।
यो चलचित्रमा तीन करोड लगानी गर्न के कारणले तयार हुनुभयो ?
मेरो चलचित्र राम्रो थियो, राम्रो छ । चलचित्र राम्रो भएरै मैले लगानी गरेको हुँ । मेरो चलचित्र सबै दर्शकको मनमा बस्नुपर्छ भन्ने छैन, तर धेरै दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । अहिलेसम्म ६० हजारमाथि दर्शकले हेरिसक्नुभएको छ । अधिकांश दर्शक युवा हुनुहुन्छ । सबैले फरक लाग्यो, राम्रो लाग्यो भन्नुभएको छ । सृजना भनेको व्यापारमात्रै होइन, सन्तुष्टि पनि हो ।
अन्तिम समयमा आएर ब्ल्याकमेलिङ भएको हो । हामीलाई त जसरी पनि चलचित्र हलमा लगाउनै थियो । हामी त्यसवेला विक्षिप्तै थियौं । तनाव थियो । करोडौं रुपैयाँ लगाएर चलचित्र बनाएको हो नि !
लगानीकै कोणबाट त मुनाफा पनि खोजिन्छ नि !
चलचित्र कला पनि हो, व्यापार पनि हो । मेरो फिल्मलाई डिजिटल राइटस्, ओभरसिज राइटस्बाट राम्रो रकम आएको छ । १० जना दर्शकमध्ये ८ जनाले राम्रो भनी दिनुभएको छ । निर्माताको रुपमा सन्तुष्ट छु । ‘पण्डित बाजेको लौरी’ले मलाई यहाँसम्म ल्याएको हो । नत्र त म नेपालमै हुने थिएन ।
बक्स अफिसमा असफल भएको ‘पण्डित बाजेको लौरी’ले तपाईंलाई के दियो ?
मलाई समाज दियो । काठमाडौंमा स्थापित गरिदियो । त्यो चलचित्र थिएन भने म विदेशमा हुन्थेँ होला । तर, त्यो चलचित्रमा पनि म घाटामा गएको थिएँ ।
अघिल्लै चलचित्रमा घाटा खाइसकेपछि पनि फेरि किन बनाउनुभयो ?
धेरै पैसा भएर मैले चलचित्र बनाएको होइन । प्यासनले गर्दा बनाएको हो ।
अनि चलचित्रमा डुबिरहेको पैसा कहिले रिकभर गर्ने त ?
रिकभर भइरहेकै छ । म त चिया बेच्ने मान्छे हो । मकैको रोटा बेच्ने मान्छे हो । यसले मेरो दैनिकी चलाएको छ । यो ठाउँलाई साथीभाइसित गफ गर्ने जंक्सन बनाएको छ । जंक्सनसँगै टीम बनाएको छ । टीम भनेको ऊर्जा हो । सृजनशीलता पनि हो ।
‘एक्टर: टेक वन’को तीन करोडको आर्थिक समीकरण चाहिँ कसरी मिल्छ त अब ?
अहिले हामी दोस्रो हप्तामा छौं । जापानको पाँचवटा शो सकाएर प्रदीप नेपाल फर्किएको छ । अब अमेरिका र अस्ट्रेलिया जाँदैछ । प्रदीप स्टारमात्रै होइन, स्टारभन्दा माथि हो । उसले चलचित्रलाई कसरी लिन्छ, कसरी ह्यान्डिल गर्छ, मलाई थाहा छ । उसले लगानीलाई रिकभर गर्न कसरी सहयोग गर्छ, मैले देखेको छु । ऊ अहिले पनि दर्शकलाई चलचित्र हेर्न आह्वान गरिरहेको छ । चलचित्र हलमा लगाएर, दुई दिनको बिजनेसपछि अन्त कतै जाने कलाकार स्टार हुन सक्दैन । मेरो स्टार अन्तिम समयसम्म मसँगै हुनुपर्छ ।
लगानीको रिकभरी चाहिँ कसरी गर्ने त ?
यसका धेरै वटा पाटा छन् । मैले कुनै पनि हालतमा लगानी रिकभर गर्छु । त्यो रिकभरी मलाई हिजो समस्यामा पार्ने मान्छेबाट पो गर्छु कि ! मलाई फसाउने मान्छेबाट पो गर्छु कि !