कर्मचारीको नामै लिएर मधेशका पूर्वमुख्यमन्त्री यादवले भने– निधि निवास र गढीमाईको बजेटमा भ्रष्टाचार भयो – Nepal Press

कर्मचारीको नामै लिएर मधेशका पूर्वमुख्यमन्त्री यादवले भने– निधि निवास र गढीमाईको बजेटमा भ्रष्टाचार भयो

जनकपुरधाम । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले निधि निवास र गढीमाई मेलाका लागि गएको बजेटमा भ्रष्टाचार भएको बताएका छन् ।

प्रदेशसभा बैठकमै उनले आफ्नै कार्यकालमा बारामा निधि निवास र गढीमाई मेलाका लागि गएको बजेटमा भ्रष्टाचार भएको दाबी गरेका हुन् । बारा उनको गृहजिल्ला पनि हो ।

‘म मुख्यमन्त्री रहेकै बेला निधि निवासका लागि १९ करोड र गढीमाई मेलाअगावै सडक निर्माण तथा मर्मतका लागि २१ करोड ४० लाख रुपैयाँ गएको थियो’, उनले भने, ‘यी दुवै योजनामा भ्रष्टाचार भएको भनेर छानबिन गर्न यसअघि पनि माग गरेको थिएँ । आज फेरि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

पूर्वमुख्यमन्त्री यादवले बजेटमा कर्मचारीहरुले भ्रष्टाचार गरेको जिकिर गरे । ‘सरकारले भ्रष्टाचार गरेको भनेको छैन, मैले नै भ्रष्टाचार गरेको छु भने छानबिन गरौं’, उनले भने ।

गढीमाई मेलाका लागि सडक निर्माण तथा मर्मत १०-१० लाख टुक्रे योजना बनाएर खर्च गरेको र त्यसमा भ्रष्टाचार भएको उनको जिकिर छ ।

मुख्यमन्त्री रहेका बेला आफूले अर्थ मन्त्रालयमा निधि निवासका लागि थप रकम नपठाउन पत्र लेखेको भए पनि थप १० करोड गएको उनले बताए ।

उनले निधि निवासका लागि मात्र ४५० घरको सम्झौता गर्न भनेको, तर पैसा खाएर कर्मचारीले १ हजार ६०० घरको सम्झौता गरेको पनि उनले आरोप लगाए ।

बाराका भौतिक पूर्वाधार कार्यालयका प्रमुख राजेन्द्र साहले भ्रष्टाचार गरेको भन्दै उनलाई मन्त्रालय तान्न भौतिक पूर्वाधार मन्त्रीसँग अनुरोध गरे ।

पूर्वमुख्यमन्त्री यादवले भने, ‘कुनै किसिमको सम्बन्ध छैन भने अर्को हाकिम पठाउनुस् ।’

उनले ५ करोड प्रत्यक्ष र डेढ करोड समानुपातिक सांसदको बजेट उपभोक्ताबाट गर्ने सुनेको, तर बाँकी बजेट कसले चलाउने भन्ने प्रश्न उठाए । उनले एउटा पनि योजना बिक्री भयो भने ठीक नहुने चेतावनीसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर