एलिनाले ठग आरोप लगाएका बराइलीले राजबल्लभलाई भिडिओ कल गरेपछि…


काठमाडौं । गायिका एलिना चौहानको नाममा ठगी गरेको आरोप लागेका दीपक बराइली नामका व्यक्तिले अभिनेता राजबल्लभ कोइरालालाई पनि हैरानीमा पारेका छन् । राजवल्लभ आफैँले सार्वजनिक गरेको घटना विवरण रोचक छ ।
केही दिनअगाडि बराइलीले ‘एक्टर’ अभिनेतालाई तारन्तर म्यासेन्जरमा फोन गरे । केही पर्यो कि भनेर अभिनेताले फोन रिसिभ गरे । बराइलीले ‘चलचित्रको शुभकामना दिनलाई हो भन्दै एक छिन भिडिओमा आउन आग्रह गरे । अभिनेताले त्यो पनि मानेर भिडिओ बटन छ्यास्स अन गरे । बराइलीले दारी मुसार्दै हाइ भने । अभिनेता पनि मुस्काइदिए ।
बराइलीको साइडमा एक युवती पनि थिइन् । उनले ती युवतीलाई पनि हेल्लो भन्न लगाए । राजवल्लभले पनि उनको मन राख्नलाई ‘हेल्लो’ भनिदिए । त्यसपछि लामो कुरा नगरीकन आफू व्यस्त रहेको बताएर फोन काटेको राजवल्लभ बताउँछन् ।
त्यसको एक छिनमा बराइलीले आफ्नो टिकटकमा राजवल्लभसँगको कुराकानीको भिडिओ राख्न भ्याइसकेका थिए ।
‘आयो तिम्रो याद आयो…’ बोलको गीत पृष्ठभूमिमा राखेर बनाएको भिडिओमा उनले लेखेका छन्, ‘धेरै समयपछिको कुराकानी मेरो मित्र एक्टर राजबल्लभ कोइरालासँग । न्यू मुभी एक्टरका लागि धेरै धेरै शुभकामना । कमब्याक राम्रो होस ।’
यही भिडिओलाई उनले आफ्नो फेसबुक स्टोरीमा पनि राजवल्लभलाई ट्याग गरेर पोस्ट गरे । सबैलाई लाग्यो, उनीहरू अन्तरंग मित्र रहेछन् । राजबल्लभले खासै वास्ता गरेनन् ।
तर, जब एलिना चौहानले बराइलीको कर्तुत बाहिर ल्याउँदै फोटो समेत सार्वजनिक गरिन्, राजबल्लभ झस्किए । धेरैले उनलाई सो भिडिओमा ट्याग र मेन्सन गर्न थाले । त्यसपछि उनी मुख खोल्न बाध्य भएका छन् ।
राजवल्लभले आज स्टाटस लेख्दै भनेका छन्, ‘मेरो अनुमतिबिना पुरा कल रेकर्ड गरेर त्यसैको स्क्रिन सट लिएर फोटो राखेको रहेछ । के भन्ने । त्यति बेला, सामान्य लाग्यो । यसरी धेरैले माया र सद्भाव देखाउन फोटोहरू वर्षौँदेखि पोस्ट गर्नु भएको छ । तर केही दिन यता, केही पोस्टमा फलानो, (विवादित मान्छे) तपाईँको साथी हो भनेर मलाई ट्याग गरे पछि यो स्टयाट्स लेख्न बाध्य भए । होइन ।। मेरो साथी होइन, अनि भेटेको सम्झना पनि छैन ।
फोटोको भरमा, फेसबुकमा शुभकामना सन्देशको भरमा, कसैले सम्बन्ध मापन गरी हाल्नु हुँदैन । एउटै क्षेत्रका केही व्यक्तिहरू विभिन्न प्रसङ्ग अनुसार फेसबुकमा प्रविधिले जोडिएका छन् भन्दैमा वास्तवमै साथी हुन् भन्न सकिन्न । उसो त अहिलेका राष्ट्रपतिसँग पनि मेरो फोटो छ ।’