१० वर्ष जनयुद्ध लडेको जोडीले बदलेको बाटो – Nepal Press

१० वर्ष जनयुद्ध लडेको जोडीले बदलेको बाटो

रुपन्देही । नेकपा माओवादीले भर्खर सशस्त्र युद्ध सुरू गरेको बेला समाजवाद र साम्यवाद ल्याउने सपना देख्दै अध्ययन, परिवार, व्यवसाय सबै त्याग गरेर लाग्नेहरूको संख्या निकै कम थियो । यस्तै सपना देखेर लागेका पात्र हुन् गुल्मीको इस्मा दोहोलीका दामोदर बस्नेत (विशाल) ।

१० वर्षसम्म यीनै सपना बोकेर हिँडेका बस्नेत अहिले भने त्यो बाटोबाट अलग भएर बसेको धेरै समय भयो । तत्कालीन प्रहरीको आक्रमणमा परेर बाँचेका उनी अहिले पनि गम्भीर बिरामी छन् । माओवादी शान्ति प्रकृयामा आएपश्चात जीविकोपार्जनमा आएको समस्या कतैबाट पार नलाग्ने अवस्था देखेपछि विकल्प खोज्दै गाउँ छाडेका उनले चियाखाजा तथा मासु पसल खोले ।

१० वर्ष बन्दूक र त्यसपछि १३ वर्ष आस्था बोकेको पार्टीमा अहिले उनको कुनै आवद्धता छैन । ०५४/५५ सालदेखि नै विद्यार्थी राजनीतिमा जोडिएका उनी विद्यालयको इकाई कमिटीदेखि आवद्ध भएर संगठित भएको र ०५९ सालमा प्लाटुन कमिसारको जिम्मेवारीमा पुगेको स्मरण गर्छन् ।

‘माओवादी शान्ति प्रकृयामा नआउँदासम्म यही आन्दोलनबाट जनवाद आउने चाहना र हुटहुटीले पछि लागेँ,’ बस्नेत भन्छन्, ‘तर त्यसयताका घटनाक्रम र आफ्नो अवस्थाले निराश बनाएपछि सक्रिय राजनीति छाडेर जीविकोपार्जनको उपाय खोज्न बाध्य भएँ ।’

विशाल यो आन्दोलनमा लागेको केही समयमा सहयोद्धा सविता बस्नेत (सम्झना) सँग ०६१ सालमा जनवादी विवाह गरेका थिए । ०६९ सालमा गुल्मीबाट तराई झरेका विशाल-सम्झनाको जोडी अहिले रुपन्देहीको सैनामैना १ समावेशी टोलमा आएर बसेका छन् । सशस्त्र युद्धको समयमा वैवाहिक सम्बन्धमा जोडिएको यो जोडीलाई पार्टी शान्ति प्रकृयामा आएपछि जीविकोपार्जनमा ठूलो समस्या आइलागेपछि विकल्प खोज्दै राजनीतिबाट बाहिर आएका हुन् ।

विशाल ०५९ सालमै ठूलो दुर्घटनाबाट बाँचेका थिए । गुल्मीको पुर्कोट हाडहाडेमा पार्टीका तीन कार्यकर्ता राहुल नामले चिनिने खिमविक्रम नेपाली, वसन्त श्रेष्ठ विजयसँग थिए विशाल । सुरक्षाकर्मीले खिमबिक्रमलाई गोली हानेर ढलायो । भाग्दा भीरबाट लडेर उनी घाइते भए ।

‘ढाडमा ठूलो समस्या छ, अहिले अपरेसन गरेर अपाङ्ग अवस्थामा बसेको छु,’ उनले भने, ‘अस्पतालमा अपरेसनको खर्च जुटाउन पनि निकै समस्या पर्यो, पछि गुल्मीका सांसद गोर्कण विष्टले केही सहयोग जुटाइदिनुभयो ।’

भिरबाट लड्दा उनको ढाडको बीचको हड्डी भाँचिएको थियो । २१ वर्षपछि बल्ल अपरेसन गरेर केही सहज महसुस गरेका छन् ।

उनी थप्छन्, ‘सिद्धान्तले मात्रै जिन्दगी चल्ने रहेनछ, आर्थिक जोहो गर्नैपर्ने भएकाले मैले त सबै छाडेर कुटेखेलोमा लागेको छु हजुर ।’

रुपन्देहीको सैनामैनामा पनि उनको धेरै घर जमिन केही छैन । सुकुम्बासी क्षेत्रमा १० धुर जग्गामा टिनले छाएको घर बनाएका छन् । त्यसैमा बसेर सामान्य व्यवसाय चलाएका छन् ।

‘म प्यारालाइसीसजस्तै भएको छु । हामी रुपन्देही आएपछि माओवादीका कोही नेताहरूले सम्पर्क गरेनन् । मैले पनि कसैलाई खोजिनँ । अलिकति कमाएको भए पक्कै खोज्थे होला । यस्तो राजनीतिले निराश बनाउने रहेछ,’ उनले भने ।

अहिले विशाल ४३ वर्षको पुगे । शारीरिक अवस्था राम्रो नभएकाले ढुक्कले काम गर्न डराउँछन् । उनका हरेक दुःखमा साथ दिइरहेकी छन् पत्नी सम्झनाले । अहिले पनि विशाल र सम्झना मिलेर व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरूका तीन सन्तान छन् । जेठी छोरी १२ कक्षा, कान्छी छोरी ७ कक्षा र छोरा ५ कक्षामा पढ्दैछन् । छोराछोरीलाई पढाउन ठूलो खर्च जुटाउनुपर्ने भएकाले विशाल-सम्झनाको जोडीलाई यही पिरलोले सताउँछ ।

‘आफू त विद्यालय उमेरमै पढाई छाडेर भूमिगत बनियो, सबै समाजवाद आएपछि टरिहाल्छ भन्ने थियो । तर, अहिले व्यवहारमा त त्यसो हुने रहेनछ । छोराछोरीलाई त जसरी नि पढाउनुपर्‍यो । घरको अरु खर्च नि जुटाउनुपर्‍यो,’ विशाल भन्छन्, ‘यस्तो अवस्थामा आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण ऊर्जा बिताएको र त्यसको सदुपयोग नभएकोमा बढी चिन्ता लाग्छ । जे सपना देखेर सबै त्यागेर लागिएको थियो, त्यो सबै भ्रममा परिणत भएपछि बढी चिन्तित बनाउनेरहेछ ।’

राजनीतिमा रहर लागेरमात्रै नहुने र बाध्यताले सबैलाई अटाउन मुस्किल पर्ने विशालको अनुभूति छ ।

‘कल्कलाउँदो उमेरमा कमाउन केही सकिएन । त्यो बेला सिकेको केही सीप पनि भएन । समाजवाद र साम्यवादको सपनाले १० वर्ष बिताइयो । पछि सबै छाडेर यस्तो अवस्थामा आउनुपर्यो । अहिले त्यो लगानीको कुनै मूल्यांकन हुने कुरै भएन’, उनी भन्छन्, ‘त्यो बेला गुल्मीमा औंलामा गनेर सकिने २५ जना वरिपरी मात्रै माओवादीको सांगठनिक जिम्मेवारीमा थियौं । पछि सबैतिर बिस्तार हुँदै बलियो बनाइयो । तर यसबाट जीवन चलेन । परिवार पालिने कुरा भएन । उत्पादनमा कतै जोडिन नसकेपछि विकल्प खोज्न बाध्य भइयो । परिस्थितिले यो अवस्थामा पुर्यायो ।’

अब विशालको एउटै सपना छ परिवार र छोराछोरीलाई कसरी पढाउने र उनीहरूको भविष्य कसरी सहज बनाउने ?

‘आफू पूर्ण स्वस्थ्य नभएपछि आँट धेरै नआउने रहेछ । गएको स्थानीय तहसम्म त माओवादीलाई आन्तरिक रूपमा सहयोग गरेको थिएँ । तर, प्रतिनिधिसभाको निर्वाचनमा एमालेलाई सहयोग गरेँ । म बिरामी परेको बेला एमाले नेता गोकर्ण विष्टले सहयोग गर्नुभयो । पछि केपी ओलीलाई भेटेर एमालेमा लागेँ । तर, म पार्टीको कुनै जिम्मेवारीमा छैन । समर्थकमात्रै हो ।’ उनले सुनाए ।

तत्कालीन अवस्थामा राम्रै उद्देश्य लिएर भएको जनयुद्ध गरिएको भए पनि पछिल्लो नेतृत्वले सबैको चित्त बुझाउन नसकेको उनको विश्लेषण छ ।

‘तत्कालीन उद्देश्य राम्रै लागेको थियो । केही कमजोरी भएपनि परिवर्तनका लागि सकारात्मक नै थियो । तर बिस्तारै परिस्थितिले साथ दिएन, बाटो बदल्नुपर्‍यो,’ उनले भने ।


प्रतिक्रिया

2 thoughts on “१० वर्ष जनयुद्ध लडेको जोडीले बदलेको बाटो

  1. प्रचण्ड त फटाहा नेता लाग्यो मलाई ।दुनियाका छोराछोरी अपाङ्ग बनाएर आफू र परिवारले मोज गर्ने ।

  2. ‘जनयुद्द’ सब्द भित्र प्रचण्डको वास्तविक अनुहार !!
    =============================
    १. नेपाली जनता कहिले कसको कहिले कसको थिचाइमा परि रहे, तिनको उज्यालो दिन हेर्ने चाहना र आशा जागै रह्यो : अनेक रुपमा तिनको भलाइ गरेन भनेर उफ्री तर कि त ती गलहत्यायिए कि बिके !!
    २. यसै सिलशिलामा नेपाली युवाको इमान्दारिता र लडाकु भावनाको क्यास गरे छट्टु प्रचण्डले !! के के कस्तो कस्तो क्ष्यति भयो त्यो भन्न परेन तर उपलब्धि चाहि के ? प्रचण्ड नामको नवसामन्तको उदय : अरु केहि छ खासमा जनताको लागि भएको ??
    ३. ‘नेपालमा जनयुद्द गरें’ भनेर जत्ति भने पनि, त्यो वास्तवमा नेपाली कम्युनिस्ट आन्दोलनको बदनामी र लगभग बिसर्जन गर्ने रुपमा निर्देशित भयो र सकियो : के नेपालको जनयुद्दको उदेश्य भारतको लागि कम्फ़र्टेबल सरकार बनाउने’ भन्ने हुन्छ ?? भयो त्येही, अनि कसरी भयो त्यो नेपालको ‘जनयुद्द’ ?
    ४. त्येशैले यो बुझ्न जरुरी छ : प्रचण्ड नक्कली हो, प्रचण्डपथ नक्कली हो : योद्दाले साच्चै सम्झेर लडे मरे … तिनको योगदान अविस्मरणीय छ सम्मान छ तिनलाई तर प्रचण्डको त ‘सम्भावनाको खेल’ थियो : ‘३-पट्टे फलास’ जस्तो, ‘३ पासे जुवा’ जस्तो , ‘गोट्टी लडाउने लुँडो’ जस्तो … उनको कार्यकाल त्येस्तै झेली, जाली र बेइमानी : रियल फेस प्रचण्डको : ‘सकुनी’ स्वरुप सारा देशको लागि !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर