बंगलादेशका प्रधानमन्त्रीसँग भिडिओ कल गरेपछि मोदीसँग भेटे एलन मस्कले


काठमाडौं । विश्वका सबैभन्दा धनाड्य खर्बपति एलन मस्कले बंगलादेशका अन्तरिम सरकारका प्रमुख र भारतीय प्रधानमन्त्रीसँगै एकै दिन छलफल गरेका छन् ।
अमेरिकाको भ्रमणमा पुगेका मोदीसँग भौतिक भेट गर्नु अगाडी मस्कले बंगलादेशका आन्तरिक सरकारका प्रमुख महोमद युनुसँग लामो कुराकानी गरेका थिए ।
भारतीय समाचार पोर्टल दि प्रिन्टका अनुसार मस्क र युनुसको लामो छलफलमा युनुसले मस्कको स्टारलिङ्क इन्टरनेट बंगलादेशमा ल्याउन आग्रह गरेका थिए ।
मोदीसँगको भेटमा अन्तरिक्ष, प्रविधि आदिमा छलफल भएको मोदीले मस्ककै स्वामित्व भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन् । मोदी र मस्कको भेट मोदी र ट्रम्पको भेट भन्दा अगाडि भएको थियो ।
ट्रम्पले मस्कलाई डिपार्टमेन्ट अफ गभरभेन्ट इफिसिएन्सी (डज)को प्रमुख बनाएकोले त्यो भेट डजको कि नीजि कुन हैसियतमा भएको भनेर पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले त्यो बारेमा आफूलाई जानकारी नभएको र मोदीलाई सोध्नुपर्ने बताएको दि प्रिन्टले उल्लेख गरेको छ ।
दि प्रिन्टका अनुसार ज्यादै भन्सारको कारणले भारतमा व्यवसाय गर्न गाह्रो भएकोले मस्कले त्यही बारेमा पनि कुरा गरेको हुनसक्ने ट्रम्पले बताएका थिए ।