बालुवाटारमा सत्ता गठबन्धनको बैठक, भूमि अध्यादेश विपक्षमा उभिएका महन्थ ठाकुर पनि सहभागी


काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारले ल्याएको अध्यादेशलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ।
आज सता पक्षीय दलको बैठकबाट अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने बताइएको छ। हिजो अध्यादेशलगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो।
सरकारले ल्याएको भूमि अध्यादेशको विरोधमा सरकारमै रहेका दलहरुले नै अस्वीकार गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आज बैठक राखेका हुन्। राष्ट्रियसभामा निर्णायक जसपा नेपाल र लोसपाले पनि अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ।
यद्यपी, आजको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेर पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन्।
बैठकमा प्रधानमन्त्री एवं एमाले का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी छन्।
यस्तै, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारी पनि सहभागी छन्।
सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरुलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।