उद्घाटन गर्ने क्रममा कसरी घाइते भएका थिए अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य ? – Nepal Press

उद्घाटन गर्ने क्रममा कसरी घाइते भएका थिए अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य ?

पोखरा । अर्थमन्त्री विष्णु पौडेलले पोखरा प्रदर्शनी केन्द्रमा आयोजित पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन स्विच थिचेर गरे । उद्घाटनमा अर्थमन्त्री पौडेलसहित पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरका मेयर धनराज आचार्य सहभागी थिए ।

उद्घाटन गरेलगत्तै अर्थमन्त्री पाैडेल मञ्चतर्फ फर्किन लागेका थिए, तर उनलाई मेयर आचार्यले तानेर ल्याएर पोखरा भ्रमण वर्ष २०२५ लेखिएको ब्यानरसहितको बेलुन उडाउन लगाए ।

अर्थमन्त्रीलाई एउटा दिएर मेयर आचार्यले अर्को आफ्नो हातमा ल्याए । त्यतिबेलासम्म उद्घाटनका क्रममा बालेको ‘फायर वर्क्स’ बलिरहेको थियो । मेयरले ल्याएको बेलुन त्यही फायर वर्क्समाथि पर्न पुग्यो र बेलुन पड्कियो । आगोले फुटेको बेलुनका टुक्रा मेयर आचार्य र अर्थमन्त्री पौडेलको अनुहारमा परे । मेयर आचार्यले अत्तालिँदै तलतिर झरे ।

अर्थमन्त्री पौडेल भने दौड्दै स्टेजमा पुगे । त्यसपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगियो । मेयर आचार्यलाई फिस्टेल हस्पिटल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो । स्थानीय अस्पतालबाट दुवैलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

अर्थमन्त्रीको अनुहारमा सामान्य घाउ र मेयर आचार्यको गालामा चोट लागेको छ । प्रमुख अतिथि अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उपप्रधान एवं अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *