पञ्चायतको धम्कीपछि सिरहामा सामूहिक बलात्कृत किशोरीद्वारा आत्महत्या !

जनकपुरधाम । सामूहिक बलात्कारको घटनामा स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा उल्टै धम्की दिएपछि सिरहाको नवराजपुर गाउँपालिका- १ भगवतीपुर तामासुइयाकी एक किशोरीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।
किशोरीकी आमाका अनुसार पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए । पञ्चहरुले आफ्नी छोरीलाई न्याय नदिएको र आरोपीहरुबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय दिएको भोलिपल्ट छोरीले आत्महत्या गरेको उनले बताइन् ।
उनका अनुसार गत माघ २६ गते १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको थियो । शौचालय गएकी उनलाई तीन युवाले अपहरण शैलीमा उठाएर लगेर सामुहिक बलात्कार गरेका थिए । बलात्कारपछि ती युवाहरुले अचेत रिंकुलाई राति करिब ३ बजे घर लगेर छाडेका थिए । होसमा आएपछि सोधपुछ गर्दा उनले तीन जनाले आफूलाई बाँसघारीमा लगेर जबरजस्ती गरेको बताएको रिंकुकी आमाले जानकारी दिइन् ।
उनले भोलिपल्टै छरछिमेकलाई घटनाबारे जानकारी दिए टोलमै पञ्चायत बसेको थियो । पञ्चायतमा आरोपीहरु टिंकु मण्डल, चन्दन साह र रमेश मण्डल तथा तीनै जनाका अभिभावकहरुलाई पनि बोलाइएको थियो ।
‘पञ्चायतमा पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै उल्टै पीडितलाई धम्काए’, किशोरीकी आमाले भनिन्, ‘पञ्चायतले तीनै आरोपीले १ लाख ४० हजार जरिवाना तिर्ने निर्णय दियो । पञ्चको निर्णय हामीलाई स्वीकार्य भएन ।’
छोरीले पनि पञ्चायतको निर्णयको प्रतिवाद गरेको उनले बताइन् । पञ्चायत भएको केही घण्टामै किशोरीले घरमै झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
घटनालाई अगाडि नबढाउन गाउँका सबैले दबाब दिएको किशोरीकै भाउजूले बताइन् । उनले भनिन्, ‘बलात्कारमा संलग्नहरुलाई १ लाख ४० हजार जरिवाना गर्ने निर्णय पञ्चायतबाट भयो । हामीले त्यो रुपैयाँ पनि लिएको छैन । बिहान पञ्चायत भयो । साँझ मेरो नन्दीले आत्महत्या गरिन् ।’
त्यस्तै मृतक किशोरीको शव धरानमा अलपत्र परेको छ । घटनास्थलबाट सोही दिन प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याएको थियो, तर त्यहाँ पोष्टमार्टम गरिएन ।
पीडित परिवारले सामूहिक बलात्कार भएकाले विस्तृत अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेको छ । त्यसपछि प्रहरीले शव पोष्टर्माटमका लागि धरान पठाएको छ । तीन दिन भइसक्दा पनि शव परिवारले बुझेको छैन ।
घटनाका आरोपीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । उनीहरुले बलात्कार मुद्दा लगाउनुपर्नेमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको भन्दै आपत्ति जनाएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु सोतीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
परिवारले सामूहिक बलात्कार भएको बताए पनि अनुसन्धान नभई त्यसबारे केही भन्न नसकिने उनले बताए ।
सामूहिक बलात्कार भएको भन्ने कुरा अनुसन्धानको विषय भन्दै डीएसपी सोतीले पोष्टमार्टम नभइसकेकाले सामूहिक बलात्कार भन्न नमिल्ने बताए ।