९ बर्षअघिकाे भारतीय फिल्म लगाउन `रंगी´ काे शाे कटौती , निर्माण पक्ष आक्रोशित – Nepal Press

९ बर्षअघिकाे भारतीय फिल्म लगाउन `रंगी´ काे शाे कटौती , निर्माण पक्ष आक्रोशित

काठमाडौं, क्युएफएक्स चेन अन्तर्गत लाबिम मलले दिइरहेको एक शो पनि हटाइदिएपछि नेपाली चलचित्र ‘रंगी’को टिम आक्रोशित बनेको छ । ‘रंगी’ गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । तर, दोस्रो दिनबाट ‘रंगी’लाई हटाएर पुन रिलिज भएको नौ वर्षअघिको बलिउड चलचित्र ‘सनम तेरी कसम’लाई शो दिइएपछि निर्माण टिम आक्रोशित बनेको हो ।

दर्शकको राम्रो उपस्थिति हुँदाहुँदै पनि उत्रिसकेको चलचित्र ल्याएर आफ्नो चलचित्रलाई हटाइँदा चित्त दुखेको निर्देशक सुरेश न्यौपानेले बताए । उनले नेपालप्रेसलाई भने, ‘उहाँहरुले राम्रो शो पनि दिनुभएको थिएन । बल्लतल्ल एउटा शो दिनुभएको थियो, त्यो पनि उत्रिसकेको चलचित्र ल्याएर कटौती गरिदिनुभयो । पाटनको केही संस्था र स्कुलले आइतबार चलचित्र हेर्न जान्छौं भन्नुभएको थियो, तर शो त क्यान्सिल गरिसकिएको रैछ ।’

अकुपेन्सी नै नहुँदा शो कटौती गर्नु अलग कुरा हो तर, दर्शक आउँदा आउँदै पनि शो कटौती गरिनु दुःखलाग्दो भएको न्यौपानेको भनाइ छ । उनले दुखेसो पोखे, ‘रि रिलिज गरिएको चलचित्रलाई शो दिन उहाँहरुसँग समय हुने, तर चलिरहेको चलचित्रलाई शो दिन समय नहुने भन्ने त हुँदैन होला ।’

अहिले हलहरुमा आठवटा चलचित्र प्रदर्शनरत छ । ‘दुखी आत्मा’, ‘रंगी’ गएको शुक्रबारबाट प्रदर्शनमा आयो । अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको ‘सारंग’ पनि केही शोहरु सहित हलमा टिकिरहेको छ । बलिउड फिल्म ‘छावा’, ‘देवा’ र ‘सनम तेरी कसम’सँगै हलिउड चलचित्र ‘क्याप्टेन अमेरिका ः ब्रेभ न्यु वल्र्ड’ प्रदर्शनरत छ ।

चलचित्र विकासबोर्डको आधिकारिक तथ्यंक अनुसार नेपालमा जम्मा १६६ हल छन् । बिहान चार बजेबाट राति पौने १२ बजेसम्मको शो वितरण गर्दा पनि छ सय हाराहारी मात्रै हुन आउँछ । यति सानो घरेलु बजारमा नेपाली चलचित्र ठूला बजेटका विदेशी चलचित्रहरुको चेपुवामा पर्ने गरेका छन् ।

कतिपय हल संचालकमाथि आरोप छ,– हल संचालककै लगानी भएका कम्पनीहरुले महँगो मूल्यमा विदेशी चलचित्र किनेर ल्याउँछन् । लगानी उठाउनलाई नेपाली चलचित्रलाई कम शो दिएर विदेशी चलचित्रलाई बढी शो दिन्छन् ।

नौ वर्षअघि पुन प्रदर्शन भएको ‘सनम तेरी कसम’लाई शो दिएर ‘रंगी’लाई हटाइँदै गर्दा चलचित्रवृत्तमा चल्ने गरेका यस्ता गसिपहरुलाई बल दिएको छ । क्युएफएक्स चेन अन्तर्गत लाबिम मलले एउटा शो पनि कटौती गरेर शून्यमा झारेपछि चलचित्रको टिम आक्रोशित भएको छ ।

शो कटौती गरेर शून्यमा झारिएपछि हिजो मिडियाकर्मीसँग चलचित्रको सिंगो टिमले आक्रोश पोख्यो । चलचित्रका निर्माता समेत रहेका मुख्य कलाकार सलोन बस्नेतले प्रश्न गरे, ‘क्युएफएक्समा मात्रै मेरो चलचित्रले शो किन पाउँदैन रु उहाँहरुलाई चित्त बुझाउन मैले के गर्नुपर्छ, मलाई थाहा छैन ।’

निर्देशक न्यौपाने त भावुक नै बने । उनले शोका लागि आफू हलवालाहरुको मोजा धुन पनि तयार रहेको बताए । उनले भने, ‘हलवालाहरुको मोजा धुन परे पनि म तयार छु । तर, मेरो चलचित्रलाई शो देऊ न यार ।हामीले फागुन २ गते चलचित्र रिलिज हुँदैछ भनेर तीन महिनादेखि प्रचार गरेका थियौं । तर, उहाँहरु९क्युएफएक्स०को साइटमा तीन दिन अगाडि मात्रै हाम्रो पोस्टर राखियो । अब त अत्ति भयो ।’
न्यौपानेले शोका लागि आफूले हलवालाको टाउको मालिस गर्न समेत तयार रहेको बताए । तर, आठ आठवटा चलचित्र हलमा भिडिरहँदा पनि ‘रंगी’ले सय हाराहारी शो पाएको चलचित्रका वितरक करण श्रेष्ठ क्रेजी बताउँछन् । चलचित्रको चाप अनुसार ‘रंगी’ले राम्रै शो पाएको क्रेजीको भनाइ छ ।

हल संचालक संघका अध्यक्ष नरेन्द्र महर्जन भने शोहरुको बाँडफाँड र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हल संचालक र वितरकबीच हुने आपसी समझदारीले निक्र्यौल गर्ने बताउँछन् । अनि चलचित्रले पाएको अकुपेन्सीले शोको निर्धारण गर्र्ने पनि उनले बताए ।

महर्जनले भने, ‘कुनै पनि उत्पादनले सबैभन्दा पहिलो ग्राहककको विश्वास जित्नुपर्छ । हाम्रो काम त चलचित्र चलाइदिने हो । त्यो क्रममा कम शो दिइएको भन्न मिल्दैन ।’

लाबिम मलले चलचित्र नै हटाएको भन्ने छ नि रु भन्ने प्रश्नमा महर्जनले भने, ‘चलचित्रको अन्तिम डेस्टिनेसन भनेको हल नै हो । घरेलु बक्स अफिस भएकाले सबैको गुनासाहरु आउँछन् । यस्ता कुरामा नेगोसियसन गर्दै अगाडि बढ्न सकिन्छ । यसमा वितरकले पनि फलोअप गर्नुपर्छ । ‘रंगी’ले पाएजति सबै शो मागेको पनि होइन । समन्वय गरेर मिलाउन सकिन्छ ।’

वितरक क्रेजीका अनुसार आज मात्रै ‘रंगी’ले काठमाडौंमा ३३ शो पाएको छ । काठमाडौं बाहिर पनि यही संख्यामा पाएको छ । काठमाडौं भित्र र बाहिर गरी ६० भन्दा बढी शो पाइरहेको क्रेजीले नेपालप्रेसलाई बताए । उनले भने, ‘लाबिम मलमा पनि मैले कुरा गरिरहेको छु । उहाँहरु पनि सकरात्मक हुनुहुन्छ । छिट्टै नै शो थपिन्छ होला । छुट्टै खालको सकरात्मक माहौल बनिरहेको छ ।’

क्रेजीका अनुसार अकुपेन्सी राम्रो नभएको खण्डमा चलचित्र फाल्ने अधिकार हलहरुलाई हुन्छ । तर, म त निर्माताको मान्छे हो, मैले निर्मातालाई साथ दिनुपर्छ । निर्माताले आफ्नो माग राख्न पाउँछ । त्यो हरेक निर्माताको अधिकारको कुरा हो । अब अकुपेन्सी बढ्दै गएपछि शो विस्तारै थपिँदै जान्छ ।’

आजबाट हलमा अकुपेन्सी पनि बढ्दै गएको वितरक क्रेजीले बताए । अकुपेन्सी बढ्दै गएपछि स्वतः शोहरु पनि बढ्दै जाने क्रेजीको विश्वास छ । न्यौपाने निर्देशित ‘रंगी’मा बस्नेतको अलवा नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल लगायत कलाकारको अभिनय रहेको छ । न्यौपानेका अनुसार एक करोड १५ देखि २० लाखमा चलचित्र निर्माण भएको हो ।

अनि हलवालाले शो बाँडफाँडमा अन्याय गर्यो भनेर चलचित्र झिक्ने मनसायमा त तपाईंहरु हुनुहुन्न नि रु भन्ने प्रश्नमा न्यौपानेले भने, ‘त्यस्तो निर्णयमा पुगिसकेका छैनौं । हलबाट झिक्नलाई हामीले चलचित्र बनाएका होइनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर