नेपाली विद्यार्थीलाई धम्क्याउने किट कलेजकी कर्मचारीले माफी मागिन् (भिडिओ)


काठमाडौं । भारतको ओडिसा राज्यस्थित किट युनिभर्सिटीकी होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी मागेकी छन् । नेपालकी छात्रा प्रकृति लम्सालको मृत्युपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई उनले हप्कीदप्की गरेकी थिइन् ।
एक भिडिओ सन्देश जारी गर्दै उनले क्षमायाचना गरेकी हुन् ।
उनले भनेकी छन्, ‘यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु । त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए । यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु ।’
यी कर्मचारीले नेपाली विद्यार्थीहरुलाई थर्काउँदै तुरुन्तै आफ्नो सामान प्याक गरेर घर फर्किन चेतावनी दिएकी थिइन् । उनीसहित दुई महिलाहरुले थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालीहरूले मात्र नभएर भारतीयले पनि उनको यस्तो हर्कतको आलोचना गरेका छन् ।
कलेजले आज एक सूचना जारी गर्दै उनीसहित ५ जना कर्मचारीलाई कारवाही गरिएको जनाएको छ ।