क्यान महासंघले सरकारलाई बुझायो एआई नीति सुधार गर्न ९ बुँदे सुझाव – Nepal Press

क्यान महासंघले सरकारलाई बुझायो एआई नीति सुधार गर्न ९ बुँदे सुझाव

काठमाडौं । नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले सरकारलाई आफ्नो सुझावसहितको अवधारणापत्र बुझाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई महासंघको प्रतिनिधिमण्डलले आइतबार उक्त अवधारणापत्र बुझाएको हो ।

‘नेपालमा एआईको प्रयोग र अभ्यास’ शीर्षकको अवधारणा पत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी, प्रा.डा. सुदन झा, अधिवक्ता दीक्षा राउत र गङ्गा भण्डारीको समीक्षात्मक अध्ययन तथा सिफारिसमा तयार गरिएको हो । उक्त दस्तावेजमा प्रविधि नवप्रवर्तन, एआई अनुसन्धान, नैतिक एआई विकास, डेटा सुरक्षा तथा नियमन जस्ता विषयलाई केन्द्रमा राख्दै विभिन्न सुझाव दिएको हो ।

नेपालले नयाँ प्रविधिहरूको विकास तथा अनुसन्धानलाई प्रवर्द्धन गरेमा एआई क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएको छ । साथै एआई प्रविधिको विकास गर्दा नैतिक मूल्यहरूलाई उच्च प्राथमिकता दिनुपर्ने, डिजिटल समावेशीकरण तथा मानव अधिकारको रक्षा गरिनुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी एआई प्रविधिको विकास गर्दा नैतिकतालाई पनि उत्तिकै ध्यान दिनुपर्ने कुरामा क्यान महासंघले जोड दिएको छ ।
एआईको प्रयोगले कसैलाई पनि हानि नपु¥याओस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

साथै एआईको प्रयोगको लागि आवश्यक डेटाको सुरक्षाको लागि बलियो प्रणाली बनाउनुपर्नेमा सुझाव महासंघले दिएको छ । डेटाको दुरुपयोग हुनबाट रोक्न कडा नियमहरु बनाउनुपर्नेमा जोड दिइएको छ ।

एआई प्रविधिको प्रयोगलाई नियमन गर्न स्पष्ट नीति र कानून बनाउनुपर्ने सुझाव पनि क्यान महासंघले दिएको छ । एआईको विकास र प्रयोगलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रहरुबीच सहकार्य आवश्यक रहेकोमा पनि महासंघले जोड दिएको छ ।

अवधारणापत्रमा सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्य सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले वर्तमान डिजिटल युगमा नेपालले एआई प्रविधिको दिगो विकास गर्न उचित नीति तथा संरचनागत पहल आवश्यक रहेको बताइन् ।

एआईले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा प्रशासनिक क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याउने सम्भावना बोकेको भन्दै उनले क्यान महासंघले सरकारलाई नीति निर्माणका लागि ठोस दिशा निर्देश प्रदान गर्ने उद्देश्यले यो अवधारणापत्र तयार पारेको जानकारी दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटीविज्ञ डा. शालिग्राम पराजुलीले एआई नीतिलाई अत्यन्त उत्कृष्ट बनाउन क्यान महासंघलगायतका सरोकारवालाको भूमिका र सहयोग महत्त्वपूर्ण हुने बताए ।

क्यान महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालको एआई क्षेत्रलाई बलियो बनाउन एआई उद्यमी र नयाँ सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

महासंघको ९ बुँदे अवधारणापत्र

  • एआईको स्पष्ट परिभाषा नभएकाले नेपालको सन्दर्भमा लागू हुने एक स्पष्ट एआई परिभाषा राख्नुपर्ने ।
  • एआई, मेशिन लर्निङ, डेटा प्राइभेसी जस्ता प्राविधिक शब्दहरूको परिभाषा समेटिएको शब्दकोश समावेश गर्नुपर्ने ।
  • स्वास्थ्य, कृषि, विपद् जोखिम व्यवस्थापन जस्ता विविध क्षेत्रीय आवश्यकताहरूमा एआईको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ।
  • बहु क्षेत्रीय सहकार्य शैक्षिक संस्था, सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था तथा स्थानीय सरकारहरूको भूमिकालाई स्पष्ट पार्दै बहु क्षेत्रीय सहकार्यलाई जोड दिनुपर्ने ।
  • एआईका लागि एक सशक्त कानूनी ढाँचा र डेटा सुरक्षा नीति बनाउनुपर्ने ।
  • एआईसम्बन्धी डेटा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्टता प्रदान गर्नुपर्ने । डेटा क्लिन्जिङ, डेटा सेप्टी, डेटा प्राइभेसी जस्ता विषयमा प्रशासनिक स्पष्टताको खाँचो छ ।
  • अन्तर्देशीय डेटा साझेदारीसम्बन्धी व्यवस्था गर्नुपर्ने । डेटा सेन्टर नेपालको आफ्नै स्वतन्त्र र सक्षम डेटा केन्द्र स्थापना गर्नुपर्ने ।
  • राष्ट्रिय एआई इकोसिस्टममा लगानी गर्नुपर्ने । मानव संसाधनमा लगानी गर्नुपर्ने, छात्रवृत्तिलाई प्रोत्साहन गर्नुपर्ने र विश्वविद्यालयहरूमा एआई केन्द्रहरूको स्थापना गर्नुपर्ने ।
  • नेपाली भाषा र नेपालका विशेष आवश्यकताहरूको लागि एआई उपकरणहरूको विकास गर्नुपर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *